ताजा अपडेट »

पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु, कोशी राजमार्ग अवरुद्ध

बुधबार, ०३ कार्तिक २०७८, १२ : ३१
14 Shares

धनकुटा । धनकुटाको चौविसै गाउँपालिका–१ गढिरेमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । लगातार वर्षासँगै आएको पहिरोले घर पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। पहिरोमा परेर  तीनजना गम्भीर र तीनजना सामान्य घाइते भएका छन् ।

मंगलबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका ९ वर्षीय नाति विनोद श्रेष्ठ, ५ वर्षीया नातिनी निर्जला श्रेष्ठ, पाहुना आएका दमक नगरपालिका–११ का  ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दीपककुमार रायाले जानकारी दिए। 

घाइतेमध्ये भेषबहादुर श्रेष्ठ, लिला श्रेष्ठ र गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डीएसपी रायाले बताए। गम्भीर घाइतेसहित उषा श्रेष्ठ, सञ्जाल श्रेष्ठ र चन्द्रकुमार श्रेष्ठको हेलिकोप्टरबाट उद्दार गरी उपचारका लागि लैजान सेनासँग समन्वय भइरहेको डीएसपी रायाले बताए । घटनास्थल ६ नं. बुधवारे बजारमा रहेको प्रहरी चौकीदेखि ४ किलोमिटर दक्षिणमा रहेको छ। 

यसैबीच, वर्षासँगै आएको बाढीले सडक बगाउँदा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । साँगुरीगढी गाउँपालिका–६, फेदीमा २ सय मिटर सडक लेउती खोलाले बगाउँदा मंगलबारदेखि नै सडक अवरुद्ध रहेको छ। अहिलेसम्म पानीको सतह नघटेकाले तत्काल बाटो खुल्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताए। सडक बगाएको आसपासको क्षेत्रमा दर्जनौ स्थानमा सडक भत्किएकाले पानीको सतह घटेपछि मात्र सडक डाइर्भसनको कार्य शुरु हुने प्रजिअ पन्थले बताए। 

जिल्लाका सहायक राजमार्गहरु भेडेटार राजारानी नम्बर बुधवारे राँकै रवि सडक, तमोर करिडोर, हिले लेगुवा भोजपुर सडक पनि पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले बताएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।