२१ मंसिर २०७८, मंगलवार

Dec 7, 2021

तनहुँ । हिमाल छर्लङ्ग खुल्न थालेको छ । टारी खेत र बेसी फाँटभरी पहेँलपुर भएर धान झुल्न थालिसके । बेला बखत कुहिरोको घुम्टोले डाँडाकाडा ढाकेर रोमाञ्चक दृश्य बनाइदिन्छ । प्रकृति पनि निकै रमणिय देखिन्छ । यो समयमा प्रकृतिसँग रम्ने उद्देश्यले पदयात्रामा आन्तरिक पर्यटकको पदचाप लम्किरहेका छन् । 

Advertisement

पर्यटनको राजधानी मानिने गण्डकी प्रदेशमा लामो तथा छोटा दूरीको पदमार्ग प्रशस्तै छन् । धेरैजसो पदमार्ग हिमाली सेरोफेरोमा छन् । विश्वकै चर्चित अन्नपुर्ण पदमार्ग, अन्नपुर्ण सेरोफेरो, मनास्लु क्षेत्रको पदमार्ग हिमाली भेगमा छन् । यी लगायतका हिमाललाई फेरो मार्ने अधिकांश पदमार्गमा यतिबेला पदयात्री उक्लिरहेका छन् ।

कोरोना प्रभावले दुई वर्षपछि पदयात्री धमाधम उक्लँदा पदमार्ग क्षेत्रमा चहलपहल  निकै बढेको छ । तर, पोखराबाट नजिकको दूरीमा पर्ने हिमाल हेर्दै पहाडी भूगोलमा पदयात्रा गर्न सकिने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) भने सुनसान छ । पोखराबाट सबैभन्दा नजिक तनहुँ र स्याङजा दुई जिल्लालाई जोडेको ७२ किलोमिटर दूरी रहेको मध्यपहाडी क्षेत्रमा पर्ने यो पदमार्ग विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरस संक्रमणका कारण दुई वर्षदेखि सुनसान बनेको हो । हिमाल हेर्दै पहाडको उकालो चढ्दै फेरि ओराली झर्दै ग्रामिण परिवेशमा रमाउन चहानेका लागि उपयुक्त सहस्राब्दी पदमार्ग पर्यटकको प्रतिक्षामा छ । 

पदमार्ग अन्तर्गत तनहुँ र स्याङजाका विभिन्न १७ गाउँमा सञ्चालन गरिएका होमस्टे पनि शून्यप्राय छन् । होमस्टे सञ्चालक पाहुनाको प्रतिक्षमा बसिरहेका छन् । फूलका गुच्छा र गाउँलेको न्यानो मायाले अतिथि सत्कार गर्न आतुर छन् उनीहरु ।  दुई वर्षदेखि पदयात्रामा पर्यटक नआउँदा होमस्टे सुनसान रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ मा सञ्चालित घरेडी सामुदायिक होमस्टेकी अध्यक्ष लक्ष्मी गुरुङले बताइन् । ‘पहिला पदयात्रामा पाहुना आइरहन्थे । दुई बर्षयता ठप्पै छ । होमस्टे पनि शुनसानछ’, उनले भनिन् । आर्थिकस्तर उकास्न होमस्टे सञ्चालन गरेपनि पाहुना नहुँदा आम्दानीको स्रोत बन्द भएको गुरुङले बताइन् ।

सहस्राब्दी पदमार्गले नै पर्यटक पर्खिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङ बताउँछन् । ‘कोरोनाले सबैतिर प्रभाव पा¥यो । पछिल्लो समय अन्य गन्तव्यमा चहलपहल बढे पनि मध्यपहाडी क्षेत्रमा भएकाले सहस्राब्दी पदमार्गमा अझै चहलपहल बढ्न सकेको छैन् । लामो समय सुनसान रहेको पदमार्गमा पर्यटक भित्र्याउन हामी प्रचासप्रसारको तयारीमा छौँ’, उनले भने ।

गुरुङका अनुसार पदयात्रीविहीन पदमार्ग केही ठाउँमा भत्किएको छ । अधिकांश जंगल क्षेत्रमा पर्ने पदमार्ग घाँसपातको झाडीले ढाकिएको छ ।  व्यवस्थापन समितिले १०औँ वर्ष पुरानो पदमार्गको नक्सालाई पुसभित्र सक्नेगरी अध्यावधिकको काम थालेको उनले बताए ।  सन् २००० देखि पदमार्ग सञ्चालनमा आएको हो । 

६ रात ७ दिनको रुट रहेको पदमार्ग तनहुँको गाछेपानीबाट सुरु हुन्छ । तनहुँमा पृथ्वी राजमार्ग (गाछेपानी)बाट सुरु भएको पदमार्ग स्याङजाको सिद्धार्थ राजमार्ग (रामबाच्छा) पुगेर टुंगिन्छ । पदमार्गको सुरुवात विन्दुमा मिनी मुक्तिनाथको परिचय बनाएको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम छ । सेती नदीको पानीको वहावले कुँदेर बनाएको ढुंगे बगैँचा हुँदै पदयात्री प्रसिद्ध धार्मिकस्थल ढोरवाराही मन्दिरको मन्दिरको दर्शनमा पुग्छन् । 

त्यसपछि उकालो चढेर रजस्थल होमस्टे हुदैँ ऐतिहासिक ढोर मुलकोट दरबार घुम्छन् । ढोर लामागाउँ, घरेडीको मिलेनियम गुफा, राईपुरको जन्तेढुंगा तनहुँ खण्डका गन्तव्य हुन् । स्याङजातर्फ कोल्मा वराहचौर, बहाकोट, राङभाङ, पेल्काचौर, बानेथोक देउराली, माझकोट, शिवालय र मनकामना आसपासका पर्यटकीय स्थललाई पदमार्गले जोडेको छ । 

हिमालका चुचुरा, हरियाली डाँडाकाडा, सूर्योदय र सूर्यास्तको मस्त दृश्य, नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर, चराचुरुङ्गी, जंगली जनावार र ग्रामिण परिवेश सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पर्यटक लोभ्याउने आधार हुन् । 

पदमार्गमा अधिकांश मगर र गुरुङ समुदायको वस्ती छ । कहीँकतै ब्राह्मण, क्षेत्री र भुजेल वस्ती भेटिन्छ । यहाँका वस्तीमा पदयात्री (पाहुना)लाई स्वागत गर्न कौराहा, सालैजो, झ्याउरे, झोर्रा, पेल्काचौरे ठाडो भाका, सोरठी, यानीमाया, घाटु, बालन लगायतका मौलिक लोक संस्कृति गुञ्जन्छ । पाहुनालाई होमस्टेले अर्गानिक खान्की खुवाएर फेरि आउन निम्तो बाँड्छ । 

गाछेपानीबाट सुरु भएको पदमार्गको पहिलो दिन रजस्थल पुगेर बास बस्न सकिन्छ । दोस्रो दिन साँधी खोला, तेस्रो दिन पोखरीछाप, चौथो दिन चन्द्रकोट, पाँचाँै दिन डाँडागाउँ, छैटौँ दिन सुन्तलाबारी होमस्टमा बास हुन्छ । पदमार्गले तनहुँ र स्याङजाका साविकका १३ गाविसको ऐतिहासिक, धार्मिक, सामाजिक र सांस्कृतिक पक्षलाई समेटेको छ ।

संघीयता कार्यान्वयनसँगै हाल तनहुँको शुक्लागण्डकी नगरपालिकासँगै स्याङजाको पुतलीबजार नगरपालिका, विरुवा गाउँपालिका, भीरकोट नगरपालिका र वालिङ नगरपालिकामा परेको छ पदमार्ग  । तर, कुनै पनि स्थानीय सरकारले पदमार्गलाई अपनत्व महशुस नगरेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङ बताउँछन् ।

उनी भन्छन्, ‘स्थानीय सरकारले पर्यटनलाई बुझे जस्तो लाग्दैन । पर्यटनलाई पहिलो प्राथमिकता भन्छन् । कार्यक्रम गर्दैनन् । हामीले गुरुयोजना बनाएर दिएपनि कार्यन्वयनमा चासो भएन ।’ पदमार्गमा लगानी गरे त्यहाँबाट आउने रोयल्टी स्थानीय सरकारको आम्दानीको स्रोत बन्ने उनले जनाए ।

पदमार्गमा पर्ने बस्तीहरू रित्तिन थालेपछि होमस्टे चलाउन मुस्किल देखेर मिलेनियम ट्रेक व्यवस्थापन समितिले तीन वर्ष अगाडि चार स्थानमा रिसोर्ट खोल्ने तयारी थालेको थियो । तनहुँको मगरनास सहित स्याङजाको कोल्मा, पेल्काचौर र सिगारकोटमा रिसोर्ट सञ्चालन गर्ने भनिएपनि काम अगाडी बढेको छैन् । गुरुयोजना तयार गरेपनि काम अगाडि बढाउन कोरोनाले प्रभाव पारेको समितिले जनाएको छ ।-विनोद ढुंगाना/न्युज कारखाना
 

प्रतिकृया दिनुहोस्

Flash News

‘नो लालपुर्जा, नो भोट’ भन्दै रत्ननगरमा सुकुम्बासीको प्रदर्शन प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन केपी ओलीलाई बारको ज्ञापनपत्र यसवर्ष ढोरपाटनमा चुके सिकारी बुटवलको दीप बोर्डिङ्ग स्कूलमा ‘दीप स्वाट’ सैनामैनामा कर्मचारी संगठनको नयाँ नेतृत्व रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सतर्कता काँग्रेस केन्द्रिय सदस्यमा लुम्बिनीका ऊर्जा, जलस्रोत मन्त्री रानाको उमेद्वारी झापामा वर्षमा आठ सय बढी हराउँछन्, मान्छे हराउँदा आधा मात्र भेटिन्छन् राष्ट्रियसभा निर्वाचन कार्यतालिका : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान सभापतिको साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल-कोइराला समूहको बैठक सुरु इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा ओमिक्राेन बिरामीले भरिए अस्पताल मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा तीन जोनका लागि रु पाँच करोड विनियोजन न्यानो घर निर्माणमा आर्थिक अभाव कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक ! कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित एक सय ३४ जना निर्वाचनबाट चुनिँदै नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब जुटाइँदै, भरतपुर महानगरको सक्रियता