ताजा अपडेट »

सुदूरपश्चिममा बाढी पहिरोको वितण्डा :१३ जनाको मृत्यु, २८ वेपत्ता

बुधबार, ०३ कार्तिक २०७८, १० : १४
6 Shares

धनगढी । आइतबारदेखि आएको वेमौसमी बर्षापछिको बाढी र पहिरोमा परेर सुदूरपश्चिममा १३ जनाको मृत्यु भएको  छ भने २८ वेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दका अनुसार डोटीका १०, डडेल्धुराका दुई र बैतडीका एक जना मृतकको सनाखत भएको छ । सनाखत भएकाहरुमा डोटीको जोरायल गाउँपालिका वडा नम्बर ३ नवलपुर बस्ने जोगी सार्की, ४२ वर्षीय शेरबहादुर विक, मोहन विक, पबित्रा विक, रबिन बिक रहेका छन् ।

घरमाथिबाट आएको पहिरोमा च्यापिएर उनिहरुको मृत्यु भएको प्रवक्ता चन्दले बताए । उनका अनुसार डोटीकै शिखर नगरपालिका–११ का ३६ वर्षीया मन्धरा बलायरको मृत्यु भएको छ । गोपघाट बजारबाट घर जाने क्रममा पहिरोसंगै आएको ढुंगाले लागेर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।यसै गरी डोटीकै सायल गाउँ पालिका–५ गुरेनाडमरीका ५५ बर्षिय हिरूवा बिकको पनि पहिरोमा च्यापिएर मृत्यु भएको छ । सोही पहिरोमा परेर मृतक बिकका छोरा रमेश बिक र भतिजा भिम बिक घाईते भएका छन् । 

यसैगरी सायल गाउँपालिकाकै वडा नम्बर–६ स्थित मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर दुई जना मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बिरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर कुञ्जेडा र ११ वर्षीय आशिष कुन्जेडा छन् । 

अबिरल बर्षा पछि खसेको पहिरो घरमाथि पस्दा च्यापिएर डडेल्धुरामा  एक जनाको मृत्यु भएको छ । प्रवक्ता चन्दका अनुसार मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी रहेका छन् । डडेल्धुरामै खोलाले बगाउँदा गन्यापधुरा गाउँपालिका–३ की ६५ वर्षीय नर्मदादेवी शाहीको मृत्यु भएको प्रवक्ता चन्दले बताए । घरनजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको जनाइएको छ । 

अबिरल बर्षापछि खसेको पहिरो घरमाथि खस्दा बैतडीमा पनि १ जनाकाृ मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका–५ बिष्टपाली बस्ने ७१ वर्षीया परुदेवी महरा रहेकी छन् ।  बझाङको थलारा गाउँपालिका–४ डिख्लामा पहिरो जाँदा २४ जना वेपत्ता भएका छन् । मंगलबार बिहान गएको पहिरोमा परेर ७ घर बगेका र २४ जना वेपत्ता भएका उनले बताए । बेपत्ता हुनेमा हाशुदेवी पार्की, आयुश पार्की, सिमाकुमारी पार्की, हिमाकुमारी पार्की, हर्कु सार्की, धनगिरी सार्की, सिता सार्की, परभास सार्की, भुमिका सार्की, सिरन्जिबि सार्की, ईश्वरा देवी सार्की, संदिप सार्की र सबिना सार्की रहेका छन् । सोही ठाउँका सरोज सार्की, सर्मिला कुमारी सार्की, पम्मा सार्की, सुवास सार्की, बिकाश सार्की, मदन सार्की, कलु सार्की, र एलिशा सार्की पनि बेपत्ता छन् । 

यसै गरी लगातारको बर्षा पछि आएको बाढीमा परी कैलालीमा चार जना बेपत्ता छन् । वेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका–३ का ६१ वर्षीय खडक बहादुर घर्तिमगर, सोही ठाउँका ३५ वर्षीय बिक्रम घर्तिमगर र २६ वर्षीय खडक रानामगर रहेका छन् । कर्णालीमा माछा मार्न जाँदा बगेर उनिहरु वेपत्ता भएका हुन् । यस्तै गोदावरी नगरपालिका–८ का गणेश आउजी खुटिया खोलाले बगाउदा बेपत्ता छन् । प्रहरी प्रबक्ता चन्दका अनुसार डोटीको सायल गाउँपालिका १ रोकाया गाउँ बस्ने ७४ वर्षीय बिरे रोका स्थानीय खोलाले बगाउँदा वेपत्ता भएका छन् । लगातारको बर्षाका कारण बाढी पहिरोमा परी डोटीमा तीन, डडेल्धुरामा दुई र बैतडीमा दुई जना घाइते भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।