ताजा अपडेट »

यमनमा द्वन्द्व : मृत्यु र घाइते बालबालिकाको संख्या १० हजारभन्दा बढी

बुधबार, ०३ कार्तिक २०७८, ०१ : १८
6 Shares

जेनेभा । यमनमा भएको द्वन्द्वका क्रममा अहिलेसम्म कम्तीमा १० हजार बालकालिकाको मृत्यु भएको र घाइते भएको पाइएको छ । गत सातवर्षदेखि जारी द्वन्द्वका क्रममा बालबालिका नै धेरै पीडित भएको विवरण संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफले सार्वजनिक गरेको हो ।

यमनमा खटिएको राष्ट्रसङ्घीय मिसनले जेनेभा फर्किएर सार्वजनिक गरेको विवरणमा बालबालिकाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । “सन् २०१५ देखि सुरु भएको द्वन्द्वका कारण यमनमा घाइते भएका र मृत्यु भएका बालबालिकाको सङ्ख्या १० हजारभन्दा बढीरहेको छ,” प्रतिवेदनमा उल्लेख गरिएको छ । 

राष्ट्रसङ्घीय निकायका एक जना प्रवक्ताले प्रतिवेदनको सारंश प्रस्तुत गर्दै अवस्था चिन्ताजनक हुँदै गएकाले द्वन्द्व अन्त्य गर्न पनि सरोकारवालाहरुलाई आह्वान गरेका छन् ।द्वन्द्वबाट पीडित भएकाहरुका लागि सयौँ लाख रुपैयाँ सहयोगको खाँचो रहेकोमा पनि राष्ट्रसङ्घीय अधिकारीहरुले जोड दिएका छन् । 

“प्रत्येक पाँचमध्ये चार बालबालिकालाई मानवीय सहायताको आवश्यकता देखिएको छ, त्यस्ता बालबालिका एक करोड १० लाखभन्दा बढीरहेका छन्,” प्रतिवेदनमा लेखिएको छ । द्वन्द्वकै कारण चार लाखभन्दा बढी बालबालिकालाई कुपोषणको समस्या देखिएको छ भने २० लाखभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।