ताजा अपडेट »

सैनामैनामा भोलिदेखि धानबाली क्षतिको विवरण संकलन, कृषकले पाउने भए राहत

मंगलबार, ०२ कार्तिक २०७८, १९ : ०२
10 Shares

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले भोलि बुधबारदेखि धान बालीमा भएको क्षतिको विवरण संकलन गर्ने भएको छ । गएको आइतबार र सोमबार परेको वर्षाले डुबानमा परी भएको क्षतिको एकिन विवरण संकलन गरी आवश्यक राहतको व्यवस्था गरिने नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।

‘वर्षाका कारण धानबालीमा क्षति पुगेका गरिब तथा विपन्न परिवारका किसानहरुलाई राहत उपलब्ध गराईने बताउनुभएको छ । त्यसका लागि भोलि (बुधबार)देखी हामी किसानको खेतबारीमा जान्छौ ।’–नगर प्रमुख कार्कीले भने ‘विवरण संकलनपछि सैनामैनाको बिपद् ब्यवस्थापन समिति मार्फत सक्दो सहयोग उपलब्ध गराउने छौं ।’ मँगलबारदेखि नगरमा सुरुभएको पाँच दिने मौरीपालन तालिमको उद्घाटनका क्रममा बोल्दै उनले सो जानकारी दिएका हुन् । क्षतिका बारेमा विवरण संकलनसँगै अनुगमनमा तिव्रता दिइने उनले बताएका छन् ।

यसै बीच ५ दिने मौरीपालन तालिमको शुभारम्भ गर्दै कार्कीले नगरमा मौरी पालन व्यावसायबाट प्रशस्त लाभ लिन सक्ने धारणा व्यक्त गरे । सैनामैनाको चुरे क्षेत्रमा मौरी लक्षित बोट बिरुवा लगाएमा यहाँका २५ प्रतिशत नगरबासीले आय आर्जन गर्न सकिने उल्लेख गरे । यसअघि नै नगरपालिकाले चिउरीकोे बोट रोपेर हेरालु ब्यवस्थापन गरी केही विरुवा हुर्काउन सफल भएको र यसबाट भविष्यमा मौरी पालक किसानलाई टेवा पुग्ने विश्वास व्यक्त गरे । सैनामैना नगरपालिकामा अगामी वर्षबाट एक घर एक चिउरीको बोट अभियान सुरु गरिने नगरपालिकाले जनाएको छ ।

कोभिड– १९ उद्धार, सामाजिक तथा आर्थिक प्रतिकार्य पहल परियोजना युएनडिपि, सैनामैनाको आर्थिक सहयोग र सेतो गुराँस बालविकास संस्थाको ब्यवस्थापनमा मौरी पालन तालिम संचालन गरिएको हो । नगरमा मौरी पालन स्रोत केन्द्र बनाउने र परम्परागत मौरीपालनबाट आधुनिक मौरी पालन तर्फ मौरी पालक किसानलाई लैजाने उद्देश्यले तालिम संचालन गरिएको सेतोगुराँस बालबिकास संस्थाका कार्यकारी निर्देशक शुमित्रा शर्माले जानकारी दिइन् ।

नगर कृषि शाखा अधिकृत सृजना खनाल सुवेदीका अनुसार नगरपालिकाले दिर्घकालिन सोच राखेर मौरी व्यवसायलाई टेवा पुग्ने गरि सामुदायिक बनमा चिउरीको बोट लगाउने काम गरेको बताए । यस प्रकारको तालिमले सैनामैनाका मौरी पालक किसानलाई फाईदा पुग्ने सैनामैना मौरीपालन संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताए । तालिममा नगरका २८ जना मौरी पालक किसान सहभागी भएका छन् ।
सैनामैनाकी उपप्रमुख बिना राना, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, पशु विकास शाखा अधिकृत इन्द्र खड्का लगायतको सहभागीहरुलाई सिकेका सीप व्यवहारमा समेत प्रयोग गर्न आग्रह गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।