ताजा अपडेट »

छठपछि एमसीसी विरुद्ध आन्दोलनको आँधिबेहरी आउँछ : पौडेल

मंगलबार, ०२ कार्तिक २०७८, १८ : ४०
4 Shares

बुटवल । नेपाली कांग्रेस (बिपी) का महामन्त्री देवेन्द्र प्रकाश पौडेलले तिहार र छठपछि देशभर एमसीसी विरुद्ध आन्दोलन चर्किने बताएका छन् । एमसीसी परियोजनाको विरोध र मुलुकमा व्याप्त भ्रष्टाचार र महंगी विरुद्ध जनमत निर्माण अभियानका क्रममा रुपदेही आएका महामन्त्री पौडेलले मंगलबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् ।

नेपालको संविधानभन्दा माथि रहने गरी आएको एमसीसी परियोजना नेपालको हितमा नरहेको भन्दै उनले एमसीसी परियोजनाको विरोधमा तिहार र छठ लगत्तै आन्दोलनको आधिबेहरी ल्याउनुपर्नेमा जोड दिए । नेपाली कांग्रेस (बिपी) को हालै सम्पन्न विशेष महाधिवेशन र केन्द्रीय समितिको बैठकले एमसिसि परियोजना, महंगी र भ्रष्टाचारको विरोधमा देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी गराउदै महामन्त्री पौडेलले मंगलबारदेखि गौतमबुद्धको जन्मस्थल रुपन्देहीबाट सो अभियान सुरु गरिएको बताए ।

एमसीसी परियोजना विरुद्धको आन्दोलनमा सत्तारुढ दलबाहेकका नेपाली कांग्रेस (बिपी), नेकपा (माले), नेकपा (क्रान्तिकारी माओवादी), विवेकशील साझा पार्टी लगायतका राजनीतिक दलहरु र नागरिक समाज तथा विभिन्न राष्ट्रवादी समूहको सहभागिता रहने उनले जानकारी गराए । नेपालका राष्ट्रपतिहरु राष्ट्रनायक बन्न नसकेको भन्दै उनले मुलुकको स्थायित्व र विकासका लागि राजसंस्था सहितको प्रजातन्त्र आवस्यक रहेको बिचार व्यक्त गरे । उनले विजयादशमी अवसरमा पूर्व राजा ज्ञानेन्द्रद्धारा जारी शुभकामना सन्देशमा पनि सोही आशय प्रकट भएको बताए ।

नेपाली कांग्रेस पार्टीका संस्थापक नेता बिपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद र राष्ट्रिय मेलमिलापको नीति र सिद्धान्तबाट बिचलित भएका कारण कांग्रेसका ६० हजार पुराना नेता कार्यकर्ताहरुले बिद्रोह गरेर नेपाली कांग्रेस ९बिपी० पार्टीमा लागेको आरोप लगाउँदै महामन्त्री पौडेलले कांग्रेसको आगामि महाधिवेशन पछि थप ६० हजार पुराना र इमान्दार नेता कार्यकर्ताहरुले सो पार्टीबाट विद्रोह गर्ने दाबी गरे ।

कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्यद्धय गोपाल पोखरेल र डा. माधव पन्थीले नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादको सिद्धान्तबाट बिचलित भई प्रचण्डपथको बाटो अंगालेको आरोप लगाउदै गणतन्त्र र धर्मनिरपेक्षता नेपाली कांग्रेसको एजेण्डा नभएको दाबी गरे । मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रमा चरम निजिकरण भएको भन्दै उनिहरुले शिक्षा र स्वास्थ्य क्षेत्रमा चरम निजिकरण गरेर कसरी समाजवादी अर्थतन्त्र निर्माण हुन्छ भनि प्रश्न गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।