ताजा अपडेट »

डुबेको धान जोगाउन खाली ठाउँ या खेतमै खाडल बनाएर पानी तर्काउन विज्ञको सुझाव

मंगलबार, ०२ कार्तिक २०७८, ११ : २२
8 Shares

काठमाण्डौ । लगातारको वर्षाले धानबालीमा क्षति पुर्याएको छ । तराई र पहाड सबैतिर पाकेको र काटेको धान खेतमै डुबेको छ । कतै बगाएको छ भने केही ठाउँमा हावाहुरीसँगैको पानीले धान ढालेको छ ।

भित्र्याउने अवस्थामा रहेको हजारौँ हेक्टर खेतको धानबाली नोक्सान भएको छ । पसाउने बेलामा ढलेको धानमा बाला नलाग्ने समस्या हुन्छ । मनसुन सकिएपछि परेको पानीले धानबालीमा नोक्सान गरेपछि किसान चिन्तित बनेका छन् । काटेर खेतमा उठाउन छुटेको धान बिग्रने चिन्ता छ । बाला पानीमा चुपुक्कै डुबेको छ । पानीमा रुझेको धानको चामल सग्लो नहुने र आधा हुने भएकाले उत्पादन घट्ने र लगानी डुब्ने किसानको चिन्ता छ ।

पानीमा भिजेको धान कुट्दा टुक्राटुक्रा पर्ने र खान नमिल्ने हुन्छ । काटेको धान भिज्दा धानमा दाग लाग्ने, कुट्दा चामल टुक्रिने र लामो समय भण्डारण गर्न नसकिने हुन्छ । काटेर खेतमा रहेको धानलाई अन्त खाली ठाउँ या ओत लाग्ने जग्गा भए निकालेर राख्न र जग्गा नभए खेतमै छेउमा ठुलो खाडल बनाएर पानी तर्काउन सकिने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ वैज्ञानिक सुशील सुवेदीले बताए। धान ढलेको खेतमा पानी जम्न नदिन निकासको व्यवस्था गर्न सकिन्छ । धानको बालालाई जोगाउन सके पनि धेरै नोक्सानी बेहोर्न नपर्ने उनको भनाइ छ । साथै एक/दुई दिनपछि घाम लागेमा एक/दुई घाम सुकाएर चुट्न पनि वरिष्ठ वैज्ञानिक सुवेदीको सुझाव छ ।

खेतको छेउ वा भित्तामा बाला राख्ने, पानी भरिएको खेतमा पानीको निकास बनाउने र चिस्यान कम गर्न सके धेरै क्षति हुन नपाउने वरिष्ठ वैज्ञानिक सुवेदीले बताए। ओस वा ढुसीले धानको गुणस्तरलाई असर गर्छ । अहिले नै कुन्यु बनाएर राख्दा गन्ध आउने भएकाले ओभानो ठाउँमा फिँजाएर राख्नुपर्नेमा उहाँको जोड छ । धान पाकेको अवस्था भए पनि केही दिन नकाट्न पनि वरिष्ठ वैज्ञानिक सुवेदीको सुझाव छ । उनका अनुसार पानी रोकिएपछि राम्रोसँग सुकाएर भित्र्याउन सकेमा धानमा हुने क्षति कम गर्न गर्न सकिन्छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।