ताजा अपडेट »

दशैंमा हराएको दक्षिणा

आइतबार, ३१ असोज २०७८, ०९ : ५४
66 Shares

सधैं दशैंमा बा खलकमा टिका लगाएपछि मावली खलकमा टिका लगाउन जान्थ्यौं । त्यो वर्ष टाढाको आफन्त मरेर जुठो परेकोले बा आमाले टिका लगाउनु भएन । केटाकेटीले टिका लगाउन छुट भएकोले दिदि–बहिनीहरुसँग मामाघर गएँ । हजुरबा हजुरआमा कतै टिका लगाउन जानुभएकोले घरमा हुनुहुन्थेन । एकजना मामा मात्र हुनुहुन्थ्यो । मामाले राडीमा लहरै राखेर हामी ५ जना केटाकेटीलाई टिका लगाइदिनुभयो ।

भर्खर एसएलसी पास गरेर क्याम्पस पढ्न थाल्नुभएको मामाले सकेसम्म मिलाएर आशिर्वाद दिनुभयो । तर, हामीलाई आशिर्वाद भन्दा पनि दक्षिणाको चिन्ता थियो । मामाले सबैको टाउकामा जमरा घुरारेपछी दक्षिणा पाइने पक्का थियो । मामाले टिका लगाएको हात पुछपाछ गर्नुभयो । अब कति दक्षिणा पाइन्छ भनेर मामाको हातमा हेर्यौं । तर, मामाले दक्षिणा दिनुको साटो हातमा एक-एक वटा पहेँला केरा राखिदिएर भन्नु भयो,‘पोहोर पराल बोक्न गएको साढे सात रुपियाँ मैले भिनाजुसँग लिन बाँकी छ, त्यहि पैसा मागेर ५ जना भान्जाभान्जीले बाँडेर लिनु ।’हजुरबा घरमा नभएकोले दक्षिणा कम पाइन्छ भनेर मन खिन्न भैरहेको थियो, त्यसमाथि मामाको उधारो दक्षिणाले मन अमिलो भयो। रुन मात्र सकिएन । दशैंमा २/४ रुपियाँ कमाउने सपना तुहिएकोले पिल–पिल गर्दै घर आयौं।

बाल्यकालमा दशैंले केटा–केटीलाई उत्साहित बनाउनुमा मिठो खाना, राम्रो नाना र दक्षिणाको मुख्य भूमिका रहन्थ्यो । मालभोग केरा,च्यूरा, मासु, सेलरोटी र अचार दशैंका मुख्य परिकार हुन्थे । हरेक वर्ष दोहोरिने यस्ता परिकारले केटाकेटीलाई खासै फरक पार्थेंन । नयाँ नानाको रुपमा आकाशे रंगको सर्ट र निलो पाइन्ट पाइन्थ्यो । जसले दशैको नयाँ कपडा र स्कूलको ड्रेस दुबैको काम गथ्र्याे । खास महत्व त दक्षिणाको हुन्थ्यो । घरमा दुई रुपियाँसम्म पाइन्थ्यो । आफ्नै मामा नभएकोले मामाघरको आम्दानी प्राप्त हुन्थेंन । आमाको साँइलो बाको घर नै हाम्रो मावल थियो । त्यहाँ टिका लगाउँदा १/२ रुपियाँ आउने सम्भावना रहन्थ्यो । टिका लगाउन त गाउँका प्रायःजसोको घर गइन्थ्यो तर, त्यहाँ केटीहरुलाई एक सुका मोहरसम्म दिएपनि केटाहरुलाई दक्षिणा दिन हुँदैन भन्थे । टिका लगाइदिने कुनै दयालु परेछन भने केटाहरुले पनि १० पैसासम्म पाउने सौभाग्य पाउँथे । त्यसैले मावल नभएका केटाहरुले जति घर चाहरेपनि ५ रुपिया पुर्याउन मुस्किल हुन्थ्यो ।

दशैंमा जम्मा गरेको दक्षिणाले स्कूल खुलेपछि फुर्मास गर्न पाइने भएकोले दशैमा सकेसम्म धेरै दक्षिणा जम्मा गर्ने ध्याउन्नमा हामी केटाकेटीहरु हुन्थ्यौं । धेरै घरमा टिका लगाउदा धेरै दक्षिणा पाइने सम्भावना हुने भएकोले बा आमासँग बोलचाल हुने सबैको घरमा, गाउँका गण्यमान्यको घरमा, आफन्तको पनि आफन्तको घरमा टिका लगाउन पुगिन्थ्यो । कान्छोबाको ससुराली नाता पर्नेको घर नजिकै थियो । उनीहरुमध्ये एकजनासँग ठूलोबाको मितेरी नाता समेत थियो । कान्छी आमालाई बहिनि भन्ने भएकोले उनका छोराछोरीलाई भान्जा भान्जी भन्थे । त्यो नाताले हामिहरुपनि भान्जा भान्जी नै भैयो ।

एकसाल कान्छो बाका छोराछोरी पार्वती दिदी, नारन दाई, मैया र किष्णसँग मेरा बहिनीहरु र म पनि उनीहरुको मामा पर्नेको घरमा टिका थाप्न गयौं । टिका लगाईदिएर बहिनीहरुलाई १०/१० पैसा दिएपछि घरमुलिले भने ‘यिनीहरु त कन्या भएकोले दक्षिणा दिएँ, तिमीहरु त छोरा हौ क्यारे, छोरालाई पैसा दिन भएन ।’ फेरी मन अमिलो भयो । ५/१० पैसा दक्षिणा पाउने सपना तुहियो । कन्सिरी तात्यो । मैले त दक्षिणा पाइन नै , उनले भान्जा भन्ने नारन दाइले समेत छोरा भएकोले दक्षिणा पाएनन् । त्यसपछिका वर्षहरुमा दशैंमा उनका घरतिर फर्केर पनि हेरिएन ।

केहि आफन्त पर्ने र केहि गाउले पण्डित र पाका मान्छेहरु भएको घरमा बा आमा टिका थाप्न जानुहुन्थ्यो– आशिर्वाद लिन भनेर । हामी केटाकेटीहरुपनि पछी लागेर जान्थ्यौ । बा आमासँग जादा बहिनीहरुसंगै मैलेपनि एक सुकासम्म हात पार्थें । दिपनगरदेखि शान्तिनगरसम्म कसले केटाहरुलाई दक्षिणा दिन्छन, कसले ५/१० पैसा वा सुका मोहर दिन्छन, कसले दक्षिणा दिन्नन भन्ने हामीलाई पत्तो हुन्थ्यो । मनमा बनाएको त्यहि सूचीअनुसार अर्को वर्षको दशैंमा टिका लगाउन जान्थ्यौं । दिपनगरमा खनाल र घिमिरे खलक, ज्योतिनगरमा लोकनाथ पण्डित, छिमेकी कुरुन्चेली साइलोबा/आमा, नेपानेबाहरु, बलामेबा नाता नपरेपनि केटाहरुलाई टिका लगाएर दक्षिणा दिनेमा पर्थे । ठूली आमाको नाता पर्ने ढकालमामा, पुड्के भण्डारी, कटहरे पण्डितले पनि केटाहरुलाई दक्षिणा दिन्थे । त्यसैले उनीहरु हामी केटाकेटीलाई निकै मन पर्थे ।

कहिलेकाँही हातमा आउने लागेको दक्षिणा पनि फुस्कंथ्यो र पूरै दशैँ खल्लो बन्थ्यो । एकपटक दशैंमा एकजना टाढाको आफन्त पर्नेको घरमा टिका लगाउन गएँ । उनको छोराले बम्बैमा राम्रै काम पाएकोले उनले अघिल्लो वर्षदेखि दक्षिणामा उदारता देखाउन थालेका थिए । उनले केटाकेटीलाई पनि एक दुई रुपियाँको कट्कटिया नयाँ नोठ दिन्थे । टिका लगाउन पुग्दा टिका थाप्नेको लाइन थियो । उनले टिका लगाईदिदै नयाँ नोठ दिइरहेका थिए । नाति पर्ने भएकोले मैले पनि नयाँ नोठ पाउने निश्चित थियो ।

मेरो पालो आउनै लाग्दा एकजना मान्छे हस्यांगफस्यांग गर्दै आएर हजुरबाको कानमा फुस्फुसायो । उनले आत्तिदै धारामा गएर निधारको टिका पखाले । हामी केटाकेटीले केहि बुझ्न सकेका थिएनौं । परिवारमा आपसमा खासखुस चल्यो अनि सुक्क सुक्क रुन पनि थाले । पछि थाहा भयो- हिजै उनका आफन्त मरेका रहेछन, मान्छेले खबर लिएर आउदा दशैंको दिनमा बल्ल आइपुगे । त्यहाँ टिका लगाउने कार्यक्रम अन्त्य भयो । मुखैमा आएको आहारा फुस्किए झैँ भयो ।

माइली आमाका सोल्टी थिए एकजना । हामी सानो बा भन्थ्यौं । उनि वर्षमा आधा भन्दा बढी समय कतै हराउँथे र आधा समय मात्र घरमा झुल्किन्थे । दशैंको दिन कताबाट हाम्रो घरमा टुप्लुक्क आए । बा आमाको हातबाट टिको थापे । मेरा बहिनीलाई पनि टिका लगाएर एकएक रुपियाको डबल दिए. मलाई पनि टिका लगाईदिएर् गोजी छामछुम गरे । पैसा रहेनछ । त्यसपछि उनले भने ‘मसँग पैसा सकिएछ, मसँग घर हिँड, उतै दिउला ।’

एक रुपियाँको सवाल थियो । म पछी लागें । घर पुग्दा सानिमा पनि रहिछन । उनले पनि टिका लगाइदिइन्। सानोबाले एक रुपियाँको ढ्याक हातमा राखिदिए । सानिमाले ‘छोरालाई पनि कसैले दक्षिणा दिन्छ ?’ भन्दै त्यो ढ्याक मेरो हातबाट च्यात्त खोसेर लगिन् । सानोबाले जति भनेपनि उनले फिर्ता दिइनन्, बरु केटाकेटीको बानी बिगार्ने भन्दै सानोबालाई गाली गरिन् । म रुन्चे अनुहार बनाएर अँध्यारोमा घर फर्कें। जति कोशिस गरेपनि दशैंमा १० रुपियाँ दक्षिणा पुर्याउनै सकिएन ।

एकसाल भने सोँचेजस्तो भयो । त्यो साल दशैंमा टिका लगाउन भारतबाट सानिमा र सानोबा पनि मामाघर आएका रहेछन् । हजुरबाले टिका लगाइदिएपछि उनीहरुले पनि टिका लगाइदिए । सानोबाले आइसी ५ रुपियाँ र सानिमाले आइसी २ रुपियाँ दिए । त्यतिबेला भारतीय एक रुपियाँको १६५ वा १६८ पैसा यस्तै कति हुन्थ्यो । घरमा पाएको दुई रुपियाँ, मावलमा पाएको २ रुपियाँ सहित थप करिब १२ रुपिया पाएको थिएँ । पहिलोपटक दशैँमा टिका लगाएर १५ रुपिया भन्दा बढी रकम जम्मा गर्न पाउँदा गजक्क फुलेको थिएँ म । फुरुंग हुदै घर आएँ ।

सदाको दशैँ जस्तै आगनमा लिंगेपिंग बनाएका थियौं । घर आउने बित्तिकै मच्ची–मच्ची पिङ खेलें । दिदीबहिनीहरु जम्मा भएपछि दक्षिणाको कुरो उठ्यो । म पनि गजक्क पर्दै पैसा देखाउन खल्तीमा हात हालें । ला…. पैसा त छैन ! म असिन–पसिन भएँ । यताउति खस्यो कि भनेर खोजें, मावलबाट आउँदा खस्यो कि भनेर दगुर्दैदगुर्दै मावलसम्म पुगेर फर्कें। पिङको वरिपरी, आँगन, भान्साकोठा, सुत्नेठाउँ जताततै खोजें । अहँ, कति भेटिएन ।

बसेर रुनु सिवाय मैले गर्न सक्ने अर्को उपाय थिएन। म रोएपनि पैसा आउने कुरै थिएन् । जिन्दगीमा पाएको सबैभन्दा धेरै दक्षिणा र मैले मेरो भन्न पाउने सबैभन्दा ठूलो रकम हराएको थियो । त्यसपछि बाल्यकालमा दशंैमा टिका पछि कहिल्यै दक्षिणाको आश लागेन । हजुरबाको निधन पछि मावलमा टिका लगाउन जाने क्रम टुट्यो । बा खलक र छिमेकी बाहेक अन्यत्र दशंैमा टिका लगाइन् । यसको सिधा अर्थ हो। बाल्यकालभरी मैले दशैमा दक्षिणा पाइन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।