यताउता हेरे । सबै आफ्नै काममा ब्यस्त थिए । बिरालो चालमा म सिँढी चढेर हावाजहाज नजिक पुगे । भित्र पन्जाबी पाइलट थियो र उसको छेउको एक सिट र पछाडिका दुई सिटहरु खालि थिए । कसैले मलाई देखेको छैनन् भन्ने यकिन भएपछि म खुसुक्क जहाज भित्र पसे । म पहिलोपटक जहाज चढेँ । मैले मणिग्राममा जाँदा पहिलोपटक जुन जहाज देखेको थिएँ, त्यहि जहाज चढेँ ।
जहाजबाट पश्चिम तर्फ हेरे– बिशाल शान्ति स्कूल देखियो । मणिहरुको घर , भान्जा बाबुको घर, शिवालय मन्दिर, सुर्यमणि सरको घर, रोमणिको घर, पंचायत भवन, साझाको गोदाम पनि देखिए । शान्ति स्कूल पल्तिर कोइराला, र दक्षिणा दिदीको घर पनि अनुमान लगाएँ । पहेँलपुर खेत अनि त्यो भन्दा परको १२ नम्बर र १० नम्बर पनि देखियो । रमाइलो लाग्यो । मणिग्राम चोक तर्फ हेरे– लामो बस रोकिएको थियो । कुन्जलापुर कुलोको नजिक रहेको बुढो चौपारी, हलुवाईको दोकान, पानवालाको दोकान, सुवेदीको कपडा पसल, सन्तोषी फोटो स्टुडियो, उमा दिदीको घर अनि तुलसीपुर कुलोको नजिक रहेको काठैकाठले बनेको पुरानो वन अफिस पनि देखिए । घर देखिन्छ कि भनेर जहाजको पछाडिको झ्यालबाट पूर्व हेरें ।
प्रेमनगर भन्दा पूर्व-उत्तर ठम्याउन सकिन. दक्षिण पूर्वमा बसाने सिरको घर, गोपी दिदीको घर, गिर्वाण स्कूल, टिका भवन र धौदिखोलेको घर पनि देखियो । घनश्याम भुसालको घर अगाडिको कदमको बुटो अनि चार नम्बरदेखि धुलो उडाउदै मणिग्रामतर्फ आइरहेको ट्रयाक्टर पनि देखियो । जहाजका प्रत्येक झ्यालबाट मैले आखाले भ्याउन्जेलका ठाउँहरु हेरेर चिनेका घर र अन्य संरचना ठम्याउने प्रयत्न गरेँ ।.
“ला च्यूरा कुटाउने पालो आयो होला !” झल्यास्स सम्झे ।
जहाजबाट ओर्लेर सिँढीको मुखमा आएर तल हेरे । मलाई रिंगटा लाग्लाजस्तो भयो. बार नभएको सीँढीबाट तल ओर्लने हिम्मत भएन । बसेर क्वाँ क्वाँ रुन पो थालेछु ।“ के मर्न चढेको होला? ” म रोएको सुनेर शिलाँगेकी कान्छी बुढी भुत्भुताउँदै माथि आएर मलाई समातेर ओरालिन् । तल आएर पिटुला झैँ गरिन , तर पिटिनन । चिउरा कुटाउने पालो आएको रहेछ, चिउरा कुटाएँ । नयाँ चिउराको मिठो गन्ध नाकभित्र पस्यो । भुस ननिख्रेको च्युरा हातमा राखेर फुकफाक गरेर फाँको हालेँ। मिना दिदि, लक्ष्मी, पार्वती दिदि, सेती दिदि नारन दाईसँग चिउराको बोरा बोकेर मणिग्राम चोक हुदै खुर्मा दोकान नजिक आएर उत्तरतर्फ फर्केर हेरें, २ तलामाथिको शिलांगेको हवाई जहाज सानो देखिएको थियो ।
“ मैले आज हावाजाज चढेँ ” मैले चिउरे टोलीलाई सुनाएँ ।
उनीहरुले पत्याएनन । मैले बेलीबिस्तार लगाएपछि उनीहरुले पत्याए । आफू मात्र चढेकोले कोहि रिसाए भने त्यति माथि चढ्दा लोटेको भए के हुन्थ्यो भनेर दिदीले गालि गरि । तर, मलाई त्यसले फरक पारेन, किनकि मणिग्राम पहिलो पटक पुग्दा देखेको शिलांगेको हावाजहाज चढेर किर्तिमान बनाएको थिएँ ।
भदौको दोश्रो सातादेखि हामी केटाकेटीको दशैँ शुरु हुन्थ्यो । स्कूलमा समयमा पुग्नु त पथ्र्यो तर फर्कन समय चाहिदैनथ्यो । स्कूल टाढा त थिएन तर स्कूल पुग्न युद्ध जिते झैँ गर्नुपथ्र्याे । शान्तिनगरदेखि ४ नम्बरसम्म बाटोमा ठूलाठूला गडाहा थिए, त्यसलाई छल्नको लागि कुलोको डिल र आलीबाट हिड्नु पथ्र्याे । मानिसहरु हिड्दा हिड्दै आली र डिल पनि भत्किएर गडाहा बनिसक्थे । सातकुलेमा भएका कुलोहरुमा पुल थिएनन्, त्यसैले पानी तार्ने ढाँडलाई नै पुल बनाएर ज्योति स्कूल आउजाउ गरिन्थ्यो । भदौको दोश्रो सातामा भने कुलोमा पानी घट्ने, बाटोका गडाहा सानो हुने भएकोले स्कूल जान सजिलो हुन्थ्यो । खोल्सा, कुलो, नाला र आहाल अनि खालाखेतमा पानी घटेपछि माछा मार्न हिड्न पाउदा दशैँ आएजस्तो हुन्थ्यो । माछा नखाने भएपनि पानी फालेर माछा छोप्ने, आफैंले बल्छी बनाएर वा गच्का बनाएर माछा मार्नु केटाकेटीको लागि रमाइलो क्षण बन्थ्यो ।
सोह्र सराद्धे लागेपछि अरुले देखिनेगरी माछा मार्दा गालि खाने भएकोले अरुले नदेख्ने ठाउमा माछा मार्न/छोप्न जान्थ्यौ । एकसाल लुकेर भोटिमाछा छोप्न भनेर काठको डुँड भित्र पसेको बेलामा भित्र अड्किएर धन्न मरिन । त्यसपछि माछा मार्न छोडेँ । दशैँ आएको संकेत आगन र बाटोमा सुक्दै गरेको हिलो अनि पहेँलिँदै गरेका खेतले दिन्थे । स्कूल नजान घटस्थापना नै कुर्नु पर्थेन । २/४ दिन अघिदेखि नै स्कूल जाने काम बन्द भैसक्थ्यो । त्यसपछि हामी फुकेको साँढेजस्ता हुन्थ्यौ । मद्रहानी कुलोको छेउछाउ पहेलो माटो लिन जानेहरुको लस्कर हुन्थ्यो । माटो निकाल्न खनिएका खाल्टाहरु सुरुंगजस्ता बनेका हुन्थे । अचेल माटो लिन जादा पुरिएर मान्छे मरेका खबरहरु धेरै सुनिन्छन । तर, मेरो गाउँ र वल्लोपल्लो गाउँमा कहिल्यै त्यस्ता दुखद घटना सुन्न देख्न परेन ।
घर लिप्नु अघि खेतको माटो ल्याएर त्यसमा गहुँको भुस मिसाएर मुछ्थ्यौं र भत्किएका भित्ताहरु मर्मत गथ्यौ । भिता सुकेपछि बल्ल पहेलो माटोले लिपपोत हुन्थ्यो । भित्तामा आधा पहेलो माटो र आधा रातो माटो लगाइन्थ्यो । रातो माटो ४ नम्बर धनपतिको दोकानबाट किनेर ल्याइन्थ्यो । एकसाल बाबियो काट्न जाँदा चरंगे गाउँ माथि कमरे खोलामा कसैले कमेरो भएको पत्ता लगायो । त्यसपछि खोला तर्न सक्ने बलियो केटाको नेतृत्वमा चरंगे गाउँ माथि पुगेर कमेरो ल्याएर लिप्न थालियो । कमेरो ल्याउन नसक्दा धनपतिको दोकानमा गएर चुना ल्याएर लगाउन थालियो । त्यसपछि हो गाउँका भित्ताहरुले सेतो र रातो रंगले रंगिने अवसर पाएको ।
सालको पात टिप्न मेरो घर अगाडिको बाटो हुँदै नजिकैको वनमा पुग्ने हुलले दशैँ नजिकै आएको संकेत गथ्र्यो । दशैको लागि दुना टपरी खुटने काम सबै घरमा हुन्थ्यो । टपरीमा सेलरोटी, नयाँ चिउरा र पाकेको केरा अनि दुनामा काँक्राको अचार, तरकारी खाने चलन भएकोले नयाँ दुना र टपरी सबैका घरमा खुटिन्थ्यो । २०५० को छेउछाउसम्म दशैंमा सालका दुना टपरी नै प्रयोगमा आउथे । त्यसपछि बल्ल स्टिलका प्लेट चलेका हुन् हाम्रो गाँउतिर ।
दशैंमा टिका लगाउन आउनेलाई नयाँ च्यूरा अनिवार्य दिइन्थ्यो । चिउरा बनाउनको लागि धान छुट्टै रोपिन्थ्यो । च्युरा कुटाउन जाने उत्साह छुट्टै हुन्थ्यो । ठूला ताउला, हौदी र गाईलाई दाना खुवाउने ठूला काठका डुँडी सफा गरेर त्यसमा धान भिजाइन्थ्यो । टोलभरिका सबैले एकै दिन धान भिजाउँथ्यौ । एक दिन धान भिजाएर पानी तारेर बोरामा राखेर बोकेर च्युरा मिलमा गईन्थ्यो । पानी तपतप चुहाउदै मिलमा पुग्दासम्म कपडा पुरै भिजेको हुन्थ्यो । तैपनि च्युरा कुटाउन जान हामि केटाकेटी निकै उत्साहित हुन्थ्यौ । उत्साहको पछाडी तिन कारण थिए (नयाँ च्यूरा शुरुमै खान पाइने, मोटर गाडी हेर्न पाइने र चिउरा कुटाउदा फर्केको पैसाले मिठाई किन्न पाइने ।
तिनताका नयाँमिलमा गुरुङको चिउरा मिल (हालको भगवती च्युरा), फर्सुरामको पछाडिको चिउरा मिल, अनि मणिग्रामको शिलांगेको चिउरा मिल धेरैका रोजाइमा पर्थे । हामीहरु प्रायजसो नयामिलमै जाने भएपनि मेरै जिद्दीले त्यो साल मणिग्राममा रहेको शिलाँगेको चिउरा मिलमा गएका थिया हामि गाउँले केटाकेटीहरु । सकेसम्म जहाज चढ्ने र त्यो अवसर नपाए जहाजलाई नजिकबाट हेर्ने, मिल परिसरमा रहेका सुन्दर मूर्तिहरु हेर्ने रहरले मलाई मणिग्राम डोर्याएको थियो ।
आखिर मैले मणिग्राममा पुगेर हावाजहाज चढेरै छोडेँ । धेरैलाई अचम्म लाग्ला कस्तो जहाज थियो त्यो ?
माथि यतिका कुरा लेखिसकेपछि मैले शिलांँगेको बारेमा लेखिन भने अन्याय नै हुन्छ ।
बुटवलदेखि ६ किमी दक्षिण ड्राइभरटोल भन्ने ठाउँ छ । त्यहि ठाउँमा शिलाङबाट आएर बसेका थिए शिलांगे । निकै गफाडी र मेहनती थिए । कलाका पारखी उनले आफ्नो घर परिसरमा अनेकौ मुर्ति र शालिकहरु बनाएका थिए । शिवालय बनाएर त्यसको अगाडी शिवको आराधना गरिरहेका राजाको शालिक बनाएका थिए । सडक क्षेत्रमा उनको मन्दिर परेकोले मन्दिरलाई सडक विभागल भत्काउन नसकोस भनेर अगाडी राजाको शालिक बनाएका थिए रे !
हाल ड्राईभरटोलको खानेपानी टंकी भएको स्थानदेखि पूर्व ठूलो पोखरी बनाएर त्यसमा विष्णु भगवान र अन्य देवी देउताको मुर्ति बनाएका थिए । यो क्षेत्रमै पहिलो आधुनिक र व्यवसायिक ढंगले पशुपालनको शुरुवात उनैले गरेका थिए । शिलाँगेले ड्राइभरटोलमा सिँढिबाट तल ओर्लन मिल्ने इनार बनाएर त्यसबाट पानी तानेर टंकीमा जम्मा गरि नजिकै खानेपानी वितरण गरेका थिए । उनै शिलाँगेले मणिग्राममा दुईतले घर बनाएर त्यो घरको छतमा कंक्रिटको हवाईजहाज पनि बनाएका थिए । नौकट्टिबासीले देखेको पहिलो जहाज त्यहि थियो र म त्यहि जहाजमा चढ्न पाएर मख्ख परेको थिएँ ।
अहिले शिलाँगेको जहाज छैन, उनले बनाएका दर्जनौं मूर्तिहरु छैनन्, पोखरी , इनार, गाई र भैसी फार्म र पानी टंकी पनि छैनन् । शिलाँगे अचेल रजहरतिर कतै गुमनाम जीवन बिताइरहेका छन् रे ! उनि सम्झनाबाट विस्तारै धमिलिदैछन । तर नौकट्टि ( हालको तिलोत्तमा नगरपालिका) मा हुर्केका म जस्तै धेरै जना र ड्राइभरटोलहुदै भैरहवा बुटवल ओहोर दोहोर गरेका मान्छेहरुको स्मृतिमा मणिग्राममा छतमाथि रहेको हवाइजहाज, ड्राइभर टोलको पानीटंकी अनि अंग्रेजसंग युद्ध गरिरहेका गोर्खाली सिपाहीको शालिक भएको मुर्तिवाला घर रहिरहेको छ ।
दशैँ आउँदा हरिया टपरीमा पाइने नयाँ च्युराको बास्ना अनि शिलाँगेको जहाजसंगै बाल्यकाल झलझली आँखा अगाडि घुमिरहन्छ ।[email protected]
प्रतिक्रिया