ताजा अपडेट »

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएकाे रहेनछ

विहीबार, २८ असोज २०७८, १७ : ४२
8 Shares

सुर्खेत ।  रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया पवित्रा भट्टराई पर्यटकका रुपमा रारा पुगेकी छन् । रारा ताल घुमेर फर्केका आफन्त गरेको वयानका आधारमा उनलाई रारा तालले लोभ्याएको हो । 

भट्टराईले आफन्तले रारा तालको विषयमा गरेको वयानले दुई वर्षअघि घुम्ने रहर जागेको अहिले आएर पूरा भएका बताइन् । ‘रारा ताल त फेवा तालभन्दा राम्रो रहेछ,’ उनले भनिन्, ‘जीवनको उत्तर्रार्द्धमा स्वर्ग पुगेको महसुस भयो ।’

खोटाङबाट रारा आउनका लागि उनका छोरा विशाल भट्टराईले मिलाएका थिए । रारा आउनका लागि उनलाई खोटाङको दिक्तेतबाट ५ दिनको जिप यात्रा गर्नु परेको थियो । जिपबाट खोटाङ–काठमाडौं–नेपालगन्ज–सुर्खेत हुँदै रारा पुगेकी हुन् । 

भट्टराई गत हप्ताको शनिबार रारा पुगेर फर्किएकी हुन् । आफुले रारा पुग्दा कर्णालीको रहनसहन रीतिरिवाज र यहाँको खानपानका विषयमा जानकारी लिएको बताइन् । ‘कहाँ सुदूर पूर्वको चलन कहाँ सुदुर कर्णालीको चलन धेरै फरक रहेछ,’ उनले भनिन्,‘जीवनको अन्तिममा आएर यहाँको चलन सिक्ने मौका पाए ।’

रारा जति सुन्दर भए पनि रारा पुग्ने सडकले आफुलाई दुःख लागेको बताइन् । ‘रारा त सुन्दर ताल हो,’ उनले भनिनु, ‘तर, त्यहाँ पुग्ने सडक हेर्दा देशमा विकास नभएको जस्तो लाग्यो ।’

कर्णाली राजमार्गमा रहेका खाल्डाखुल्डी कच्ची बाटोले आफूलाई हैरान पारेको उनले बताइन् । रारा पुग्नलाई राजमार्गको विस्तार गरिनुपर्ने उनको भनाइ थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।