ताजा अपडेट »

पहिलोपटक साफ फाइनल पुग्ने दाउमा नेपाल, बंगलादेशसँग भिड्दै

बुधबार, २७ असोज २०७८, ०७ : ४७
4 Shares

काठमाण्डौं । पहिलोपटक पुरुष साफ च्याम्पियनसिपको फाइनल नजिक रहेको नेपाल आज (बुधबार) एक अंकका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशाला नेपाली समयअनुसार साँझ पौने ५ बजे सुरु हुने खेलमा नेपाल मात्र एक अंक प्राप्त गर्न सके सन् १९९३ बाट सुरु साफ च्याम्पियनसिपको १३औं संस्करण आइपुग्दा पहिलोपटक फाइनल पुग्नेछ । 

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन । बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ । साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धी हो । यदि बंगलादेशबिरुद्ध हारले भने नेपाल सिंगल राउन्ड रोबिनको यस प्रतियोगिताबाट बाहिरिने छ । नेपाली टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलरक्षक विशाल श्रेष्ठले प्री म्याच पत्रकार सम्मेलनमा बंगलादेशविरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।

प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अब नेपाललाई फाइनल पुग्न मात्र एक अंकको आवश्यकता रहेको छ । बंगलादेश ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । माल्दिभ्स ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा  छ । नेपालसँग पराजित माल्दिभ्स हेड टु हेडमा पछि रहेको हो । भारत ३ खेलमा ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । ४ खेलमा १ अंक जोडेको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो । माल्दिभ्सलाई १-० ले हराएको नेपालले श्रीलंकालाई ३-२ ले हराएको थियो । तर, नेपाल आइतबार भारतसँग १-० ले पराजित भएको थियो । बुधबार अर्को खेलमा भारतले माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छन् । फाइनलका लागि माल्दिभ्सलाई बराबरी काफी छ भने भारतलाई जितको विकल्प छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।