ताजा अपडेट »

घरमा टीका लगाउन नपाएको तीन वर्ष, यसपालि पनि कार्यालयमै मनाउँछु : डीएसपी श्रेष्ठ

मंगलबार, २६ असोज २०७८, २० : ५८
8 Shares

काठमाण्डौं । चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ । फेस्टी मुडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन् । विदा र घरपरिवार भन्ने हुँदैन । प्रहरी कार्यालय नै घर र सहकर्मी नै परिवारजस्तो हुन्छ । कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ । घरमा टीका लाउन नपाएको खल्लोपना हराउँछ ।

फौजको नियमै हो प्रतिकूल र अफ्ठेरो परिस्थितिमा सेवा गर्नु । तर पनि मानवीय स्वभावले चाडपर्वमा घर जान नपाउँदा, विदा नपाउँदा मन खल्लो भइहाल्छ । यसलाई हटाउन प्रहरी कार्यालयमै पनि दसैं मनाउने गरिन्छ ड्युटीलाई असर नपर्नेगरी । यसपालि पनि दसैंमा यसरी नै मनाउने तयारी प्रहरीको छ । अनामनगर प्रहरी वृत्त प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) भरत श्रेष्ठसँग फौजी दसैंबारे गरेको कुराकानीको अंश :

दसैंको बेलामा झन् धेरै ड्युटी हुन्छ । मान्छे धेरै चाहिन्छ । तर त्यो भनेर दसैं नै नमनाउन नदिने, चाडबाड नमनाउने भन्ने हुँदैन । मिलाएर हामी ड्युटीमा असर नहुनेगरी कार्यालय प्रमुखबाट दसैं मनाउने र खानपिन गर्ने, टीका जमरा लगाउनेलगायतका सम्पूर्ण कार्यहरु हुन्छन् । जमरा राखेका छौं । यहाँ कार्यरत जति छौं त्यहीँ नै परिवारको हिसाबले ज्येष्ठ सदस्यबाट टीका जमरा लगाइदिने, भोज खाने, सामान्य नाचगान पनि हुन्छ । सकेसम्म ड्युटीलाई असर नपर्ने गरी विदा पनि छोडिएको छ ।

यहाँ भएकालाई घरको अभाव हुन नदिनेगरी यतै परिवार मान्नेगरी दसैंको तयारी गरेका छौं । त्यो हिसाबले मनाउँछौं । म घरमा टीका लाउन नपाएको तीन वर्ष भयो । सुरु सुरुमा विदा नपाउँदा अफ्ठेरो लाग्थ्यो । अब बानी परिसक्यो । घरमा पनि अब यो आउँदैन भन्ने हुन्छ । तँ आउन पाइँदैन भनेर अभिभावकको मानसिकता बनिसक्छ । -न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।