ताजा अपडेट »

किसानलाई खेतमै दशैं !

मंगलबार, २६ असोज २०७८, ११ : ४९
24 Shares

धनगढी । घरघरमा जमारा राखिएका छन् । कतै चर्खे पिङ त कतै दशैं मनाउँन गाउँ फर्किएकाहरू आफन्तसँग भेटघाटमा रमाइरहेका छन् ।कोही दशैं मनाउँन घर पुग्दै छन्, नजिक हुनेहरू काेही घर जाने तरखरमा छन् । यतिवेला हिन्दुहरूलाई महान चाड दशैंकाे उल्लासले छाेइसकेकाे छ । शहरीयाहरू गाउँ केन्द्रित हुँदा गाउँकाे वातावरण दशैंमय बनेकाे छ ।

कैलालीका किसानलाई भने खेतमै दशैं छ । धान भित्र्याने समयमै दशैं सुरु भएपछि यहाँका किसान खेतबारीमै व्यस्त बनेका हुन् । बिहानीको सूर्यको किरण नझुल्किदै खेतमा पुग्ने किसान त्यही भलाकुसारी गर्छन् । दुःख सुख त्यही बाँड्छन् । अझ भन्नु पर्दा किसानका लागि खेतमै दशैं छ । 

‘खाने अन्नलाई चटक्कै छोडेर पिङमा कहाँ रमाइलो लागछर,’ धनगढी-३ का किसान हेमराज विष्टले भने, ‘सुखले धान भित्र्याउन पाए हाम्रा लागि दशैंभन्दा बढी खुशी हुन्छ, दसैं त खेतमै मनाउँलानी !’

किसानलाई सबैभन्दा बढी चिन्ता खेती भित्र्याउन हुने गरेकाे उनले बताए । ‘जसरी परिवारका सदस्यको माया हुन्छ, त्यसरी नै खेतमा लगाएको बालीको पनि माया लाग्ने गर्दछ,’ भट्टले भने, ‘परिवारका सदस्यलाई बिर्सेर को रमाउन सक्दछ र ?’

कैलालीका अधिकांश स्थानमा असोजको दोश्रो सातामै धान पाकिसकेको भएपनि वर्षा नरोकिदा समयमै किसान खेतमा पस्न सकेनन् । जसले गर्दा दशैंमा किसानलाई धान काट्न भ्याईनभ्याई छ । ‘यस वर्ष केही ढिला सम्म मनसुन सक्रिय भएपछि किसान धान काट्न हतारिएनन्,’ कैलालीको गोदावरी नगरपालिका–५ का किसान रामदाश रानाले भने, ‘असोज तेस्राे सातापछि मात्रै किसान खेतमा धान काट्न निस्केका छन्, त्यसैले यस वर्ष किसानको दशैं खेतमै हाेला जस्ताे छ।’ 

एक दिन रमाएर वर्ष भरी भोकै बस्नुभन्दा खेतमै रमाउनु उचित हुने धनगढी–१२ का किसान केशव उपाध्याय बताउँछन् । ‘हुनत दशैं पनि वर्षमा एकपटक मात्रै आउँछ,’ उपाध्याय भन्छन्, 'दशैं पनि मनाउनु पर्दछ, तर बालीलाई बिर्सेर दसैं मनाउन मनले मान्दैन, वर्ष भरी चाहिने अन्न नभित्र्याई कसरी दशैं मनाउनु ?’ 

कैलालीका किसान यतिवेला धान भित्र्याउ व्यवस्त बनेका भन्दै उनले कसैले धान भित्र्याई सकेका र केही भित्र्याउने तयारीमा रहेका बताए । ‘तर धान भित्र्याएका किसान पनि खेतभन्दा टाढा गएर रमाउन सक्दैनन्,’ उनले भने, ‘सहकार्यमा गरिने खेतीमा सबैको काम नसकिए सम्म कोही फुसर्दिला हुँदैनन् ।’

खेतमा धान पाकेर तयार भइसकेकाले काटेर भित्र्याउन थालेको धनगढी–१० घुइयाघाटका रामप्रसाद रानाले बताए । ‘पाकेको धान काटेर भित्र्याउन थालेका छौँ,’ उनले भने, ‘गाउँतिर सबै धान भित्र्याउन ब्यस्त छन् ।’

कैलालीमा धान काट्ने आधुनिक मेसिन भित्रिए पनि सबै किसान त्यसको पहुँचमा अझै छैनन् । धान काटेर मेसिनले धान छान्ने काम मात्रै यहाँका किसानले गर्दै आएका छन् । तर धान काट्ने र धान रोप्ने काममा भने अझै परम्परागत तरिका अपनाइने गरिएको छ । 

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कैलालीमा यस वर्ष ७० हजार हेक्टर जमिनमा बर्खे धान खेती गरिएको छ । वर्षा समयमै भएका कारण यस वर्ष कैलालीमा ७२ हजार हेक्टर क्षेत्रफल जमिनमा धान राेपिएकाे ज्ञान केन्द्रकाे तथ्यांक छ । कैलालीमा करिब ५५ प्रतिशत जमिनमा वर्षभरी नै सिंचाइको सुविधा  छ ।

यो वर्ष आवश्यकता अनुसार पानी परेकाले धान खेती राम्रो भएको किसानले बताएका छन् । खेती राम्रो भएकाले उत्पादन पनि बढ्ने अपेक्षा गरेकाे धनगढी-३ का किसान सोनु रानाले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।