ताजा अपडेट »

छायांकनमा जाने तयारीमा 'कबड्डी ४' टिम

सोमबार, २५ असोज २०७८, २१ : १७

काठमाडौं । गत २१ असोजमा हल खुलेसँगै फिल्मका गतिविधिहरू बढ्न थालेका छन् । फिल्मका इभेन्टसँगै छायांकनमा जाने तयारीमा फिल्मकर्मी जुटेका छन् । यसै क्रममा आउँदो ३ कात्तिकदेखि 'कबड्डी'को चौथो भागको छायांकन प्रारम्भ हुने भएको छ । अन्तिम भनिएको ‘कबड्डी’ शृंखलाको चौथो भागलाई दर्शकले हेर्न पाउनेछन्।

शृंखलाको निर्देशन रामबाबु गुरुङले गर्दै आइरहेका छन् । उनलाई निर्देशकको रूपमा स्थापित गर्ने फिल्म नै यही हो । उनले छायांकनमा अब निस्किने जानकारी दिए । 'हाम्रो प्रोडक्सन टिम त केही अगाडि नै जान्छ तर हामी ३ कात्तिकमा पुग्छौँ', निर्देशक गुरुङले भने।

उनले ३५ दिनको सेड्युल लिएर छायांकन प्रारम्भ गर्ने जनाउँदै सम्पूर्ण छायांकन मुस्ताङमा हुने बताए । 'हाम्रो लोकेसन मुस्ताङ नै हुन्छ र यसलाई तय भएकै सेड्युलमा पूरा गर्नेछौँ', निर्देशक गुरुङले बताए । यसकै सिरिजका कारण आज गुरुङ सफल तथा स्थापित निर्देशकको सूचीमा पर्छन् । यद्यपि, सिरिजको संख्या बढ्दै गर्दा उनलाई आरोप पनि लाग्ने गरेको छ । उनले दोस्रो र तेस्रो सिरिज रिलिज गर्दै गर्दा व्यासायिक बढी भएको आरोप खेप्दै आइरहेका छन् । कबड्डीको तुलनामा यसका निर्मित सिरिजहरू कमजोर रहेका गुनासा दर्शकको बढ्ने गरेको छ ।

यसैले गर्दा पनि निर्देशक गुरुङले यसको अन्तिम सिरिज ‘कबड्डी ४ : द फाइनल म्याच’ भनेका छन् । फिल्ममा दयाहाङ राई र विजय बराल रहने पक्का छ । उनीसँगै रहने अन्य कलाकारका बारेमा जनाइएको छैन।

काजीको प्रेम कथामा आधारित फिल्ममा अघिल्लो पटक पनि प्रदीप खड्कालाई खेलाउने तयारी भएको थियो । यद्यपि, त्यो सहकार्य हुन सकेन । यस पटक निर्देशक गुरुङले काजी र मैयाको प्रेम कथालाई विश्राम दिँदै छन् । तर, उनले यही नाममा फिल्म भने बनाउन सक्नेछन्।

‘कबड्डी’का तीन सिक्वेलमा प्रेमका लागि संघर्ष गर्ने प्रमुख पात्रहरू ‘फाइनल म्याच’ (कबड्डी ४)मा दोहोरिनेछन्।-न्यूज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।