ताजा अपडेट »

खुले सबै होमस्टे

आइतबार, २४ असोज २०७८, १३ : ००
16 Shares

लमजुङ । कोभिड–१९ को जोखिमका कारण बन्द रहेका लमजुङका होमस्टे गाउँहरू खुलेका छन् । कोरोना सङ्क्रमण दर कम भएपछि सबै पर्यटकीय गाउँ पर्यटकका लागि खुला भएको छ ।

राइनास नगरपालिका–९, राइनासकोट सामुदायिक होमस्टेका अध्यक्ष खड्कबहादुर गुरुङका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होमस्टे खुला गरिएको हो । राइनासकोटमा केही पर्यटक आउन थालेका छन् । होमस्टेका उपाध्यक्ष विष्णुमाया गुरुङका अनुसार गाउँ आउन चाहने पर्यटकलाई स्वास्थ्य सुरक्षा अपनाउन भनिएको छ । क्व्होँलासोंथर गाउँपालिका–३ स्थित घलेगाउँ पनि पर्यटकका लागि खुला गरिएको छ । गाउँमा हाल ३० देखि ४० जनासम्म पर्यटक आउने गरेका छन् । पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार गाउँ खुला गरेपछि दैनिक पर्यटक आउन थालेका छन् ।

पर्यटक र स्थानीय दुवैले स्वास्थ्य मापदण्ड अपनाएका छन् । होमस्टे आउने प्रत्येक पाहुनाले मास्क लगाउनुपर्नेछ । होमस्टे सञ्चालकले पनि लगाउनुपर्ने छ । थर्मल गनमार्फत ज्वरो परीक्षण गरिनेछ । साबुनपानीले हात धोएर, सेनिटाइजर लगाएर मात्र गाउँ प्रवेश गराइनेछ । सबै स्वास्थ्य मापदण्ड पूरा भएपछि मात्र गाउँमा प्रवेश दिइएको होमस्टे सञ्चालकले बताएका छन् ।

बेँसीसहर नगरपालिका तीज काउलेपानी सामुदायिक होमस्टेका अध्यक्ष देवबहादुर गुरुङका अनुसार दशैँ लागेलगत्तै गाउँ खुला गरिएको छ । आन्तरिक पर्यटक आउन पनि थालेका छन् । करिब दुई वर्षपछि होमस्टे खुला गरिएको उहाँले बताउनुभयो । कोरोना सङ्क्रमण दर केही कम भएपछि होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटक प्रवेशमा खुला गरिएको हो । समितिको निर्णयअनुसार दशैँसम्मका लागि पारिवारिक प्याकेज खुला गरिएको छ । दशैँको पूर्णिमापछि सामुदायिक प्याकेज पनि खुला गरिने उनले बताए ।

होमस्टेका सचिव जगत गुरुङका अनुसार पारिवारिक प्याकेजमा सरकारी कार्यालयका कर्मचारी, व्यापारी आउने गर्छन् । परिवारको साथमा बिदा मनाउन र दशैँ मनाउनका लागि नजिकै पर्ने भएकाले धेरैले काउलेपानी जाने गरेका छन् । लमजुङका अन्य पर्यटकीय गाउँ सिउरुङ, तुर्लुङकोट, खासुर, भुष्मे, नरुवल, खानीगाउँ, घनपोखरा, पसगाउँ, मिप्रा, तार्कुलगायत गाउँका होमस्टे पनि खुला गरिएको स्थानीयवासीले बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।