ताजा अपडेट »

धर्म र संस्कृतिको उत्सवमय पर्व बडादशैँ

शनिबार, २३ असोज २०७८, १३ : ०९
53 Shares

प्रत्येक आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्मका पन्ध्र दिनको अवधीलाई बडादशैँ भनिन्छ । दशैँ नेपालीहरुको सबैभन्दा प्रिय चाड हो । नेपालको राष्ट्रिय चाड पनि हो । यस वर्ष असोज २१ गतेदेखि दशैँ सुरू भएको छ । खासगरी दशैँ आश्विन प्रतिपदादेखि सुरु भई पूर्णिमासम्म पन्ध्र दिन मनाइन्छ तापनि दशैँको महत्वपूर्ण दिन दशमी तिथि नै हो । यसलाई विजयादशमी पनि भनिन्छ । फेरि प्रतिपदादेखि नवमीसम्मका नौ दिनलाई नवरात्री (नौरथा) भनिन्छ ।

दशंैको प्रथम दिन प्रतिपदालाई घटस्थापना भनिन्छ। यस दिन घर-घरमा शुभ साइतमा घटस्थापना गरी जमरा राखिन्छ । यसै दिनदेखि दुर्गापूजा सुरु हुन्छ । भगवतीका प्रत्येक दिन भिन्दाभिन्दै रुपको पूजा गरिन्छ । पहिलो दिन शैलपुत्री नाम गरेकी देवीको आराधना गरिन्छ। दोस्रो दिन ब्राह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि नाम गरेकी देवीको पूजा गरिन्छ । सप्तमीको दिनलाई फूलपाती पनि भनिन्छ। सप्तमीको दिन उचित साइतमा नवपत्रीका वा नौ थरीका फूलपाती भित्राइन्छ । यस दिन फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने,कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजेर प्रत्येकको नौ नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्राइन्छ । अष्टमीको दिन महागौरीको पूजा गरिन्छ ।

यसैदिन महालक्ष्मीको पूजा गरी घरघरमा खड्ग स्थापना गरिन्छ । अष्टमी र नवमीका बीचको रात्रीलाई कालरात्री पनि भनिन्छ । रातभर जागरण बस्ने र गुप्त पूजा गर्ने चलन छ । मन्दिर र कोटहरूमा नारिकेल ( नरिवल ) र कुष्माण्ड (कुभिण्डो)को बली दिन्छन् । महानवमीको दिन सिद्धिदात्री भगवतीको पूजा गरिन्छ । दशमीको दिन आआफ्नो घरको पूजाकोठामा वा मन्दिरमा दुर्गा भवानीको पूजापाठ गरिन्छ । राता अक्षता र जमरा देवीलाई चढाइन्छ र त्यही अक्षता, जमरा र प्रसाद मान्यजनबाट ग्रहण गरी आशिर्वाद लिइन्छ । टिकाको साइत सुरु भएपछि दिनभरि मन्यजनबाट टिका, जमरा, प्रसाद ग्रहण गर्ने काम दिन भर चल्दछ ।

दशैँमा आशिर्वाद दिँदा आयुद्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे। ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने । शौर्यं शान्तनवे वलं हलधरे सत्यञ्च कुन्तीसुते । विज्ञानं बिदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।। भद्रमस्तु शिवं चास्तु महालक्ष्मीः प्रसीदतु। रक्षतु त्वां सदा देवी आशिषः सन्तु सर्वदा ।। जयन्ती मंगलाकाली भद्रकाली कपालिनी । दुर्गाक्षमा शिवा धात्री स्वाहा स्वधा नमोकस्तुते।। जयत्वं देवी चामुण्डे जय भूतार्तिहारिणी । जय सर्वगते देवि कालरात्री नमोकस्तुते ।।’ गरिएका श्लोक भन्ने चलन छ । श्लोक उच्चारण गर्न नजान्ने हरूले पनि सुख,शान्ति, समृद्धि र दीर्घायु कामना गर्दै आशिर्वाद दिन्छन् ।

कोजाग्रत पूणिर्माको दिनसम्म नै टिका लगाउने, मिठो मसिनो खाने आफन्त सङ्ग भेटघाट गर्ने चलन छ । पौराणिक कथनअनुसार अयोध्याका राजा रामले लङ्काका राजा रावणले सीतालाई हरण गरी लैजाँदा उनीसँग युद्ध गर्न शक्तिको उपासना गरे । शक्ति स्वरुप भगवतीमाताको उपासना गरी श्रीरामले दुष्ट रावण सङ्गको युद्ध हुदा दशमीको दिन नै विजय प्राप्त गरेका थिए । त्यसै दिन विजया दशमी मानी टीका लगाउने परम्परा चलिआएको हो भन्ने भनाई पनि छ । त्यसैगरी अर्को मान्यता अनुसार परापूर्वकालमा दैत्यहरूको आतंकबाट, आतंकित भएका देवताहरूले दुर्गा भवानीको आरधाना गरे, अनि दुर्गा भवानी पनि प्रकट भइन् ।

त्यसपछि देवगणलाई सताउने शुम्भ, निशुम्भ र रक्तबीज महिषासुर आदि जस्ता असुरहरुको समेत विनाश गरि उनले असत्यलाई पराजित गरिन् र सत्यको संरक्षण गरिन।त्यसै खुसियालीमा देवीको पूजा गरेर नै पर्व मनाउने प्रचलन चलेको हो । यसरी सत्यको असत्यमाथि, अनि न्यायले अन्यायमाथि विजय प्राप्त गरेको हुनाले पनि यस पर्वलाई विजयादशमी भनिन्छ । असत्यमाथि सत्यको विजय, दानवीय स्वभाव माथि मानवीय स्वभावको विजय अन्यायमाथि न्यायको विजय हिंसामाथि अहिंसाको विजय र आसुरी शक्तिमाथि विजय नै विजया दशमी मनाउनुको उद्देश्य हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।