ताजा अपडेट »

आठयुवाद्वारा मर्दी हिमालको आरोहण

शुक्रबार, २२ असोज २०७८, ११ : ३६
2 Shares

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ का आठ युवाले पाँच हजार ५८७ मिटरको मर्दी हिमाल एकैसाथ सफल आरोहण गरेका छन् । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको सो हिमाल पदयात्रासँगै हिमाल आरोहणको प्रवद्र्धनका लागि पर्यटन क्षेत्रमा क्रियाशील उनीहरुले हिमाल चढेका हुन् ।

यही असोज १२ गते अग्रज पर्यटन व्यवसायी रामप्रसाद गुरुङको नेतृत्वमा मर्दी हिमाल आरोहणका लागि प्रस्थान गरेको २६ सदस्यीय टोलीमध्येका आठ जनाले असोज १७ गते बिहान ९:३० बजे सफलतापूर्वक हिमाल आरोहण गरी फर्किएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए । आरोहण टोलीमा सरोजकुमार गुरुङ, सञ्जय थापा, नारायण गुरुङ, सुदीप तामाङ, विनोद पुन, विशाल मगर, ईश्वर परियार र अमृत पुन रहेका छन् ।

उनीहरुलाई आरोहण प्रशिक्षकद्वय मनमान गुरुङ र कुमार खड्काले हिमाल सहयोगमा प्रशिक्षण दिएको बताइएको छ । त्यसैगरी आरोहणका लागि चाहिने सामग्री लगायतको सबै खर्च अग्रज व्यवसायी गुरुङले व्यवस्थापन गरेका थिए । आरोहणको नेतृत्व गरेर ७५ वर्षीय गुरुङ आफैँ हाइक्याम्पसम्म पुग्नुभएको बताइन्छ । ग्रेट माछापुच्छ्रे ट्रेल (जिएमटी)का उपाध्यक्षसमेत रहेका आरोही सरोज गुरुङले पदयात्रा पर्यटकको रोजाइमा परेको माछापुच्छ्रे ट्रेल आउने पर्यटकलाई हिमाल आरोहणसँग जोड्नका लागि आफूहरुले प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत हिमाल आरोहण गरेको जानकारी दिए ।

उनले भने, “मर्दी पदयात्रा लागि हामीले एक वर्षदेखि ग्रेट माछापुच्छ्रे ट्रेलको प्रवद्र्धन गरिरहेका छौँ । यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई हिमाल आरोहणमा आकर्षित गर्ने उद्देश्यले हामी आफैँले हिमाल चढेर सुरुआत गरेका छौँ ।” ग्रेट माछापुच्छ्रे ट्रेल माछापुच्छ्रे को टुसेबाट सुरु हुन्छ । मर्दी आरोहणका लागि सबैभन्दा सजिलो बाटो ग्रेट माछापुच्छ्रे ट्रेल रहेको गुरुङले बताए । केही साहसिक पर्यटकले यसअघि नै मर्दीको सफल आरोहण गर्दै आएका छन् ।

मर्दी पदयात्रा हात्र होइन, साहसिक पर्यटकलाई हिमाल आरोहण गराएर पर्यटकको बसाइँ लम्ब्याउनु आवश्यक रहेकामा जिएमटीले जोड दिएको छ । पर्यटकको सहजताका लागि हिले र खुमइमा तीन/तीनवटा होटल बनेका छन् । क्रोचोङमा भने विवादका कारण बन्न नसकेको बताइन्छ ।

हिमाल आरोहण गरेर आएको टोलीलाई बिहीबार साँझ गाउँमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो । युवा क्लब, आमा समूह, नौमति बाजा समूह, माछापुच्छ्रे अग्र्यानिक होमस्टे तथा स्थानीयवासीले फूलमालाले आरोहीलाई सम्मान गरे । गाउँपालिका अध्यक्ष गुरुङले ग्रेट माछापुच्छ्रे ट्रेलको प्रवद्र्धनका लागि र पर्यटन पूर्वाधारका लागि गाउँपालिकाले सहयोग गर्ने बताए । यस ट्रेलको बढीभन्दा बढी प्रवद्र्धन गर्न सके पर्यटकको रोजाइमा पर्ने उनले बताए । उनले भने, “ग्रेट माछापुच्छ्रे ट्रेलबाटै पर्यटकले पदयात्रा पर्यटनको सबैभन्दा बढी आनन्द लिन सक्छन् । यस क्षेत्रमा आवश्यक पर्यटकीय पूर्वाधारका लागि गाउँपालिकाले सहयोग गर्दछ ।”

मर्दी ट्रेकका लागि धेरै बाटोहरु छन् । पोखराबाट धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको अष्ट्रेलियन क्याम्प, पोथना देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, हाइक्याम्प हुँदै चार हजार ५०० मिटर उचाइमा अवस्थित मर्दी हिमालको आधार शिविरसम्म पुग्ने बाटो बढी प्रचलित छ । यसैगरी पोखराबाट जीपमा माछापुच्छ्रे गाउँपालिकाको सिदिङसम्म पुगेर त्यहाँबाट समेत मर्दी हिमाल पुग्न सकिन्छ । पछिल्लो समय ग्रेट माछापुच्छ्रे ट्रेलका नाममा माछापुच्छ्रेको टुसेबाट यसको प्रवद्र्धन सुरुआत गरिएको छ ।

एउटै यात्राबाट मर्दी हिमालसहित कुमारी माछापुच्छ्रे , अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर मिल्ने भएकाले मर्दी पदयात्रामा बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढ्ने गरेको छ । कोरोनाका कारणले दुई वर्षदेखि बाह्य पर्यटक ठप्प रहे पनि आन्तरिक पर्यटक भने बर्सेनि बढेका छन् । -*रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।