Jun 8, 2023
भैरहवा । भैरहवामा रहेको ४ तारे होटल नान्समा क्यासिनो प्याराडाईज सञ्चालनमा आएको छ । बिशेष गरि भारतीय पर्यटकलाई लक्षित गरि खोलिएको उक्त क्यासिनोमा नेपाल बाहेक अन्य मुलुकका पर्यटकले पनि खेल्न पाउने बताईएको छ ।
कोभिडपछि नेपाल–भारत नाका सुचारु भए पछि नेपालमा बिस्तारै पर्यटन व्यवसायले गति लिने अपेक्षा गरिएको छ । सोही अनुसार यस क्षेत्रमा अर्थतन्त्र चलायमान बनाउन क्यासिनो सञ्चालनमा ल्याएको सञ्चालक अमित गुप्ताको भनाई छ । उनले करिब ३० करोडको लागतमा मिनि क्यासिनो सञ्चालनमा ल्याएको बताए । उनले क्यासिनोमा अहिले ५२ जनाले प्रत्यक्ष रोजगारी पाएको र यो बढेर ८० जना सम्म पुग्ने उनले जनाए । भैरहवाकै बासिन्दा समेत रहेको गुप्ताले यसै क्षेत्रमा केही गरौ भन्ने उद्देश्यले उक्त क्यासिनो सञ्चालनमा ल्याएको बताए ।
घटस्थापनाको अवसर पारेर आज देखी उक्त क्यासिनोको सुरुवात गरिएको छ । रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ता र होटल नान्सका सञ्चालक चन्द्रप्रकाश श्रेष्ठले संयुक्त रुपमा रिबन काटेर क्यासिनो सञ्चालन सुरु गरेका हुन् । उद्घाटन पछि बोल्दै रामग्राम नगरपालिका प्रमुख नरेन्द्र गुप्ताले कोभिड पछि अर्थतन्त्र चलायमान बनाउन बिभिन्न क्रियाकलाप आवश्यक रहेको बताए ।
उनले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको भैरहवाको पर्यटकिय बिकासको लागी धेरै काम गर्न बाँकी रहेको बताए । उनले भारतीय पर्यटकहरु पहिलेका तुलनामा भ्रमणको लागी र खर्च गर्न सक्ने सार्माथ्य राख्ने पर्यटकको रुपमा चिनिएको कारण उनिहरुको भ्रमण लक्षित कार्यक्रमहरु दिन सक्नुपर्ने बताए ।
सन २०१० मा ३ तारे होटलको रुपमा स्थापना भएको होटल नान्स लकडाउन पछि ४ थप निर्माण गर्दै ४ तारे होटलको रुपमा अद्यावधिक भएको यसको सञ्चालक चन्द्रप्रकाश श्रेष्ठले बताए । अहिले लगानी बढाएर १ अर्बको हाराहारीमा पु¥याएको श्रेष्ठको भनाई छ । तारे होटलको बिभिन्न सुविधा रहेको ६१ वटा डिलक्स रुमहरु रहेको उनले बताए । यस्तै यसमा प्रेसिडेन्सियल रुम, स्विमिङ पुल, क्यासिनो सहितको सुविधा रहेको छ।
आज देखी सञ्चालनमा आएको क्यासिनो प्याराडाईजमा तत्कालको लागी रुलेट, बक्रा, अन्डरबार, किट्टी, क्यासिनो वार जस्ता खेलहरु रहेको यसका ब्यवस्थापक सरोज अर्यालले जानकारी दिए । यस्तै स्लटका बिभिन्न खेलहरु समेत रहेको अर्यालले बताए । भारतीय पर्यटक लक्षित क्यासिनोमा भारतीय पर्यटकलाई सीमाबाट ल्याउने लैजाने सुविधा समेत प्रदान गरिएको उनले बताए ।
प्रतिकृया दिनुहोस्