ताजा अपडेट »

विभागले सहकारीको अनुगमन गर्ने

बुधबार, २० असोज २०७८, २० : ५९
2 Shares

काठमाडौं । सहकारी विभागले आफ्ना मातहतका सहकारीको अनुगमन गर्ने भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफस्कुन)ले आज यहाँ आयोजना गरेको ‘साझा सेवाको सवलीकरण तथा सञ्जाल निर्माण अभियान’को उद्घाटन गर्दै विभागका रजिष्ट्रार लीलाप्रसाद शर्माले यसै वर्षभित्र क्षेत्राधिकारभित्र रहेका सबै सहकारीको अनुगमन गर्ने बताए ।

विभागले १२५ संस्था र राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासङ्घका साथै २० केन्द्रीय सङ्घको नियमन गर्छ । रजिष्ट्रार शर्माले जनशक्ति अभावका कारण देशभरका सहकारीको अनुगमन गर्न समस्या भएको बताए । “हामीसँग ३० जनाको जनशक्ति मात्र छ”, उनले भने, “त्यसैले देशभरिका सहकारीको अनुगमन गर्न सक्दैनौं ।” देश सङ्घीयतामा गएसँगै सङ्घ, प्रदेश र स्थानीय तहले सहकारीको अनुगमन गर्छन् ।

प्रदेश तथा स्थानीय तहले सहकारीको अझै अनुगमन गर्न सकेका छैनन् । नेफ्स्कुनका पूर्वअध्यक्ष डिबी बस्नेतले सहकारीको अनुगमन हुन नसक्दा सहकारीमा समस्या विकराल बन्दै गएको बताए । उनले सहकारीको अनुगमनका लागि नियमन निकायलाई बारम्बारभन्दा पनि नियमन निकायले नसुनेको भनाइ राखे ।

नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालले सहकारीमा समस्या आउन नदिन नियमित अनुगमन हुनुपर्ने बताए । उनले नीति, विधि र प्रविधिमार्फत सहकारीको क्षमता बढाउँदै जोखिम घटाउनुपर्ने बताए । संस्थाले प्रयोग गर्ने सेवामा एकरुपता ल्याउनका लागि सबै प्रदेशमा अभियान सञ्चालन गरिएको नेफस्कुनका प्रशासन प्रमुख सञ्जय तिमिल्सेनाले जानकारी दिए । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।