ताजा अपडेट »

सफलताको लागि कानूनी शासन अपरिहार्य: यादव

बुधबार, २० असोज २०७८, १६ : ०६
2 Shares

भैरहवा । रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले स्थानीय सरकार सफल हुन कानूनको शासन हुन अपरिहार्य रहेको बताएका छन् । कतिपय स्थानीय तहमा आफुलाई नै सर्वोपरि ठानी मनोमानी गर्ने परिपाटी रहेकोले त्यसलाई त्याग्दै कानून अनुसार हिडे मात्रै स्थानीय तह र त्यहाँका स्थानीयहरुको बिकास हुने यादवले औल्याएका हुन् ।

रोहिणी गाउँपालिकाले आयोजना गरेको २ दिने जनप्रतिनिधि तथा कर्मचारीहरुको लागी क्षमता अभिबृद्धि अभिमुखीकरण कार्यक्रमको समापन गर्दै यादवले कानूनको कार्यान्वयनमा जनप्रतिनिधि र कर्मचारी दुवैको सहकार्य उत्तिकै आवश्यक रहेको बताए । उनले स्थानीय सरकार आएको साढे ४ वर्षमा रोहिणी गाउँपालिकाले कर्मचारीहरुको सहयोग पाएको र आगामी दिनमा पनि यो सहयोग यसै गरि निरन्तर गर्न समेत आग्रह गरे।

बिशेष गरि कोभिड महामारीको समयमा कर्मचारीहरुले देखाएको कामको उनले प्रशंसा गरे । कोभिडको समयमा आफ्नो घरपरिवार छोडेर रोहिणी गाउँपालिकावासीको सेवाको कारणले उनीहरु प्रति गाउँपालिका कृतज्ञ रहेको उनले जनाए । संघिय सरकार, प्रदेश सरकारले समय समयमा आफ्ना निति नियम परिवर्तन र अद्यावधिक गर्ने कारण सो नीति नियमबारे जनप्रतिनिधि तथा कर्मचारीहरु पनि अद्यावधिक हुन आवश्यक रहेकोले यिनिहरुको क्षमता अभिवृद्धिमा पालिकाले लगानी गरेको यादवले जनाए ।

यस्तै कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले संविधानले शासन चलाउने क्षमता, कानून बनाउने क्षमता र कार्यान्वयनकोको अधिकार दिएको बताए । उनले संविधानले स्थानिय सरकारलाई २२ वटा एकल अधिकारहरु प्रदान गरेको बताए । यस्तै प्रदेश, संघ र स्थानीय तह बिचको साझा अधिकार भनेर पनि बिभिन्न साझा अधिकारहरु प्राप्त भएको उनले जनाए । उनले स्थानिय सरकार कानून बनाउने र कानून अनुसार चल्ने दुवै रहेको जिकिर गरे ।

रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजन, बिभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यको साथै गाउँपालिकाका कर्मचारीहरुको सहभागीता रहेको थियो । अभिमुखीकरण कार्यक्रमलाई गाउँपालिकाका कानूनी सल्लाहकार सुनिल त्रिपाठीले सहजीकरण गरेका थिए । कार्यक्रम रोहिणी गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्रले सञ्चालन गरेका थिए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा