ताजा अपडेट »

लुम्बिनीको खोला किनारमा प्राचिन शहरको खोजी (फोटोफिचर)

बुधबार, २० असोज २०७८, १५ : ३१
16 Shares

भैरहवा । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा महाभारत कालको हस्तिनापुरको संरचनाका समकालीन देखिएका संरचनाहरु भेटिएका छन् । प्राचिन सभ्यताहरु नदीको छेउ छेउमा हिड्ने भएको बताउँदै अहिले लुम्बिनी बिकास कोषले लुम्बिनी आसपासका क्षेत्रमा पुरातात्विक क्षेत्रको खोजीको क्रममा यो प्राचिन शहर भेटिएको बताईएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १२ निपनियामा दानव नदीको खोला छेउमा बिभिन्न कलात्मक माटाका भाँडा, अनेकौ प्राचीन कुवाँ, मानव अस्थिपञ्जरका साथै अन्य प्राचीन सम्पदाहरु भेटिदै आएका थिए । दानव नदीको छेउछाउ ११ सय बिसिको मानव सभ्यता भेटिएको कोषको दावी छ । यो भनेको गौतम बुद्ध जन्मिनु भन्दा पनि करिब ७ सय बर्ष पहिलेको समय हो । दानव नदीको तटमा तहगत रुपमा रहेका बिभिन्न पत्र हेर्दा पनि यहा ठूलो शहरी सभ्यता रहेको स्पष्ट भएको छ ।

यसको सम्बन्ध लुम्बिनीको पुरातत्वसंग पनि जोडिएको नाताले लुम्बिनी बिकास कोषले लुम्बिनी वरिवरिको क्षेत्रको अध्ययन गरि रहेको कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बताए । पुरातात्विक दृष्टिकोणले यसको अध्ययन गराउने तयारीमो कोष रहेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयमा पुरातत्व अध्ययनमा सहकार्य गरिने मेत्तेयले जनाए । लुम्बिनीबाट ५ किलोमिटरको दुरीमा रहेको निपनियामा “नर्दन ब्ल्याक पोलिस” गरिएका भाँडा भेटिएका छन् । यो कालोे लेप लगाउने तरिकाको अविष्कार हडप्पन सभ्यताको समकालीन रहेको छ ।

भारतीय पुरातत्वविद् शान्ताराम बालाचन्द्र देव (एसबी देव) ले “यहा पाईएको माटोको संरचनाहरु भारतको हस्तिनापुरको समकालीन मानिन्छ ।” भन्ने उल्लेख गरेका छन् । साथै देवले यसको अनुमानित समय ११ औं शताब्दी बिसी देखी लिएर ७ औं शताब्दी बिसी मानेका छन् ।
देवले सन १९६४ मा लुम्बिनी आसपासका क्षेत्रहरु बन्जरिया (निपनिया), पैसियाको उत्खनन् गरेका थिए । उत्खनन्मा सो क्षेत्रमा भारतको मोहनजोदारो–हडप्पा सभ्यता भन्दा पनि प्राचीन सभ्यता रहेको देवले उल्लेख गरेका छन् ।

संरक्षणको अभाव हुदा बर्षेनी कटान
प्राचीन सभ्यता रहेको दानव नदीको तटिय क्षेत्र बर्षेनी नोक्सान हुने गरेको छ । पर्यटकिय र पुरातात्विक महत्व बोकेको यो स्थान संरक्षण हुन नसक्दा बर्षेनी हुने नदी कटानको कारण लोप हुने सम्भावना बढेको छ । नदीले बर्षेनी आफ्नो धार परिवर्तन गरि रहेको छ । यस संगै नदीको तटमा प्राचीन अवशेषहरु देखिने र नदीमै बिलय हुने गरेका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन सिंह चौधरीले नदी कटानबारे लुम्बिनी बिकास कोष र नेपाल सरकारलाई पटक पटक जानकारी गराएको बताए । चौधरीले यसको संरक्षण र अध्ययनको लागी पटक पटक पहल गरिएको बताए । पुरातात्विक क्षेत्र मासिदै गएपछि लुम्बिनी बिकास कोषले यसको संरक्षणमा चासो देखाउदै तटबन्धको पहल गरेको छ । कोषले संघिय संसदका सार्वजनिक लेखा समिति संयोजक भरत कुमार शाहलाई तटबन्धको लागी आग्रह गरेको छ ।

सभापति शाहले पनि कटानलाई रोक्न सहयोगको आश्वासन दिएका छन् । उनले पुरातात्विक क्षेत्रको संरक्षण गर्नु सबैको कर्तब्य रहेको जनाउदै जनताको बस्ती, खोतीपाती र प्राचीन सम्पदाको संरक्षणको लागी पहल गर्ने बताए । भगवान गौतम बुद्धको ३५ बर्षे बैश बितेको समयमा रुपन्देही र नवलपरासीमा गरि प्रारम्भिक अनुसन्धानबाट २ सय ३५ वटा भन्दा बढी पुरातात्विक सम्पदा देखिएका छन् । अहिले लुम्बिनी बिकास कोषले यिनिहरुको थप अध्ययनको लागी प्रयास थालेको छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा