ताजा अपडेट »

आँखाको ज्योति फर्किएपछि संसार चिहाउँदै कलावती

बुधबार, २० असोज २०७८, १३ : ०२
4 Shares

कञ्चनपुर । कृष्णपुर नगरपालिका– १ दोमिल्लाकी ५० वर्षीया कलावती खत्री निकै खुसी छिन् । आँखा नदेख्ने समस्याबाट मुक्ति पाएपछि उनी खुशी भएकी हुन् । धेरै पटक आँखाको उपचारका लागि अस्पताल पुगे पनि आर्थिक अभावले घर फर्किनु परेको तीतो अनुभव उनीसँग छ । छ वर्ष अघिदेखि दुवै आँखामा मोतियाविन्दु भएपछि उनले देख्न छाडेकी थिईन् । नागरिक सुशासन समाज कञ्चनपुरको पहलमा दाताबाट रकम जुटाई कलावतीका दुवै आँखाको शल्यक्रिया गरिएको छ ।

“आँखाको शल्यक्रिया भएपछि पहिलाझै देख्न थालेको छु”, उनले भनीन्, “संसार चिहाउने अवसर पाइएको छ, निकै खुसी छु ।” आर्थिक सहयोग जुटाई आँखाको शल्यक्रिया गरी पुर्नजीवन प्राप्त गर्नमा सहयोग गर्नेको प्रशंसा गर्न उनी चुक्दिनन् । डेढकठ्ठामा झोपडी बनाइ बस्दै आएकी खत्रीका चार छोराछोरी छन् ।

कलावतीका श्रीमान् शारीरिक रुपामा असक्त छन् । श्रीमती दुवै आँखा नदेख्ने भएपछि परिवार पाल्न निकै कठिन भएको अवस्थामा श्रीमानले अँधियामा प्लाष्टिकका बोराहरु ल्याई त्यसबाट डोरी बनाइ बेचेर नून तेल खर्च चलाउँदै आएको थिए । लुगाफाटो र साँझ बिहानको खानाका लागि छिमेकीसँग हात फैलाउनुपर्ने खत्री परिवारको बाध्यता रहेको छ ।

कलावतीले भनीन्, “दुवै आँखा पहिलाझै देख्ने भएको छु । मजदूरी गरेर भए पनि परिवारका लागि साँझ बिहानको छाक टार्न सकिने भएको छ । ।” शल्यक्रिया गर्नका लागि लाग्ने शुःल्क तिर्न नसक्दा वर्षौसम्म अन्धकारमै बस्न बाध्य भएको उनको भनाइ छ ।नागरिक सुशासन समाज कञ्चनपुरका अध्यक्ष वीरबहादुर बोहराले भने, “समाजमा विद्यमान सङ्घ संस्था र जनप्रतिनिधिको पहिलो कर्तव्य भए पनि कुनै पनि निकायले कलावतीको अवस्थालाई नहेर्दा दाताको सहयोगमा आँखाको शल्यक्रिया गर्नमा सघाउ पुर्याएका छौं ।” समाजकै पहलमा कृष्णपुर नगरपालिका– १ दोमिल्लाकै चार विपन्न परिवारको खरको छानोमा जस्तापाता राख्न सहयोग गरिएको छ ।

यसैगरी, शुक्लाफाँटा नगरपालिका– १० झलारीका ६० वर्षीय जनकलाल डगौराको समेत समाजको पहलमा मोतिया विन्दुको आँखाको शल्यक्रिया गरी आँँखाको ज्योति फर्काइएको छ । नागरिक सुशासन समाजले समाजमा विद्यमान भ्रष्ट्राचार, लागुऔषध र सामाज सेवाका क्षेत्रमा स्थानीयस्तरमै सहयोग जुटाई कार्य अगाडि बढाउदै आएको छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।