ताजा अपडेट »

झाडापखाला फैलिएपछि कृष्णनगरले प्रदेश सरकारसँग माग्यो गुहार

बुधबार, २० असोज २०७८, ०९ : ४०
4 Shares

कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकाका तीन वटा वडामा झाडापखाला फैलिएपछि नियन्त्रणका लागि स्थानीय सरकारले लुम्बिनी सरकारसँग गुहार मागेको छ ।  झाडापखलाबाट दुई जनाको मृत्यु हनुका साथै करिब २५० जना बिरामी परेपछि नगरपालिकाले लुम्बिनी सरकारसँग औषधि र चिकित्सकसहितको स्वास्थ्यकर्मी पठाउन आग्रह गरेको हो ।  

‘यस विषयमा प्रदेश सरकारसँग कुराकानी भएको छ, उहाँहरूले थप औषधि र चिकित्सक पठाउने भन्नु भएको छ,’  नगरपालिकाका मेयर रजतप्रसाद शाहले भने । उनका अनुसार झाडापखलाबाट करिब २५० जना बिरामी परेका छन् । अहेब विष्णु पौडेलका अनुसार झाडापखला फैलिएपछि जिल्ला स्वास्थ्य कार्यालयले तौलिहवाबाट मंगलबार दुई चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीको टोली उपचारमा खटाएको थियो । तर, उक्त टोली फर्किसकेको छ । 

तौलिहवाको टोली फर्केसँगै प्रदेशबाट आज दुई जना चिकित्सकसहितको टोली आउन लागेको उनले जानकारी दिए ।  बहादुरगन्जस्थित शिवराज अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि निजी क्लिनिकमा पनि उपचार भइरहेको छ । शिवराज अस्पतालमा एकमात्र चिकित्सक छन् ।  झाडापखालाबाट कृष्णनगर-९ का ५ वर्षीय राज कश्यप र कृष्णनगर-८ का ४० वर्षीय रामप्रसाद केबटको मृत्यु भइसकेको छ ।  कश्यपको निजी क्लिनिक र केबटको घरमै मृत्यु भएको हो ।

पौडेलका अनुसार कृष्णनगर नगरापलिका-७, ८, ९ का बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला र डबरा गाउँका झाडापखलाबाट ग्रसित छन् । गम्भीर बिरामीलाई तौलिहवा, बुटवल र भैरहवाका अस्पताल रेफर गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।