ताजा अपडेट »

मानव बेचबिखन नियन्त्रण गर्न तथ्याङ्क व्यवस्थापन आवश्यक

मंगलबार, १९ असोज २०७८, २१ : ४१
4 Shares

रुपन्देही । मानव बेचबिखन तथा ओसारपसार रोकथामका लागि प्रभावकारी योजना निर्माण गर्न स्थानीयस्तरमा तथ्याङ्क व्यवस्थापन आवश्यक रहेकामा जोड दिइएको छ । माइती नेपालको आयोजनामा आज बुटवलमा भएको मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित तथ्याङ्क व्यवस्थापन विषयक अभिमुखीकरण कार्यक्रमका सहभागीले मानव बेचबिखन रोक्नका लागि सरकार पक्षबाट योजना निर्माण तथा अनुसन्धान प्रक्रिया प्रभावकारी बनाउन तथ्याङ्क सङ्कलन र व्यवस्थापन जरुरी रहेको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले नगरका काम चुस्तदुरुस्त बनाउन तथ्याङ्क सङ्कलन र व्यवस्थापन अनिवार्य भएको बताएकी छन् । उनले बुटवललाई लैङ्गिक हिंसामुक्त सहर निर्माणका लागि रणनीतिक कार्ययोजना बनाएर काम अघि बढाइएकाले मानव बेचबिखन रोकथामलाई पनि यसमा समेटिएको बताईन् ।

समुदायमा बेचबिखन र हिंसामा पर्न सक्ने व्यक्ति तथा जोखिम समूह पत्ता लगाउन उपमहानगरका टोलटोलमा निगरानी समूह गठन गरिएको जानकारी गराउँदै उनले अब तथ्याङ्कलाई समेत थप व्यवस्थित गरेर कार्यक्रम कार्यान्वयन गर्ने उल्लेख गरिन् ।

सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले तथ्याङ्क व्यवस्थित गर्न नसक्दा अनुमानकै भरमा काम गर्नुपरेको अनुभव सुनाईन् । उनले भनिन्, “तथ्याङ्कका आधारमा काम गर्दा कार्यक्रमको प्रतिफल राम्रो आउँछ तर अनुमानका भरमा कार्यक्रम गर्दा नतिजा राम्रो आउँदैन ।” उनले कम समयमा र कम लगानीमा गरिने कार्यक्रमको प्रतिफल नगण्य हुने भएकाले यसका लागि तथ्याङ्क सङ्कलन र व्यवस्थापनमा ध्यान दिन आवश्यक भएको धारणा राखिन् ।

कार्यक्रममा सहजीकरण गर्दै माइती नेपालका अनुगमन तथा मूल्याङ्कन अधिकृत रवीन्द्र सापकोटाले जोखिममा परेका र जोखिमबाट बचेका समूहको एकीकृत तथ्याङ्क व्यवस्थापन र सूचना प्रणालीको विकास तथा जोखिमयुक्त समुदायको अनुगमनलगायतका विषय राष्ट्रिय कार्ययोजनामा समेटिएको जानकारी गराउँदै छिट्टै तथ्याङ्क सङ्कलन र व्यवस्थापनको विषयलाई वडास्तरसम्मै पुर्याएर सरकारलाई सहयोग गर्ने बताए । उनले तथ्याङ्क व्यवस्थापनका लागि सफ्टवेयर निर्माणको तयारी भइरहेकाले त्यसका लागि सुझाव सङ्कलनको काम भइरहेको बताए ।

कार्यक्रममा सैनामैना नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमराज अर्याल, इन्सेक प्रतिनिधि रिमा बिसी, प्रहरी सहायक निरीक्षक युवराज चन्दलगायतले छिटोछरितो कामका लागि तथ्याङ्क व्यवस्थापन आवश्यक रहेकोमा जोड दिए । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।