ताजा अपडेट »

ए डिभिजन फुटसलमा लिग चरणको खेल सकियो

मंगलबार, १९ असोज २०७८, २१ : १०
4 Shares

पोखरा । राष्ट्रिय ए डिभिजन फुटसल लिगअन्तर्गत लिग चरणका खेल सकिएका छन् । दुई घरेलु टोलीसहित चार टोली लिगको प्ले अफमा प्रवेश गरेका हुन् ।

घरेलु टोली स्पोर्ट्स क्यासल र सविन मेमोरियलसँगै द राइजिङ क्लब र शंखमूल क्लब अन्तिम चारमा पर्न सफल भएका हुन् ।

मंगलबार भएको अन्तिम खेलमा घरेलु टोली सविन मेमोरियलले शंखमूललाई ३-१ गोल अन्तरले हराउँदै प्ले अफमा प्रवेश गरेको हो । सविन कुल नौ खेलबाट १६ अंकका साथ तालिकाको चौथो स्थानमा छ । हार बेहोरेको शंखमूल पनि तालिकाको तेस्रो स्थानमा रहँदै प्ले अफमा कायम छ ।

शंखमुलले नौ खेलमध्ये पाँचमा जीत, तीनमा बराबरी र एकमा हार बेहोरेर १८ अंक जोडेको छ । नौ खेल खेलेको क्यासलले सातमा जीत, एकमा हार र एक बराबरी खेल्दै २२ अंकका साथ शीर्ष स्थान कब्जा गरेको छ । द राइजिङ क्लबले समान नौ खेलमा छ जीत, दुई हार र एक बराबरीसहित १९ अंक बटुलेर दोस्रो स्थानमा छ ।

फुटसल ५ धरान १४ अंकका साथ पाँचौँ स्थानमा छ भने १३ अंकसहित ढुकु फुटसल हव छैटौँ, समान अंक भएको मछिन्द्र स्काई सातौँ र १० अंकका साथ प्रभातफेरी तालिकाको आठौँ स्थानमा छन् । एउटा मात्र खेल जितेको लुम्बिनी फुटसल ४ अंक बटुलेर नवौँ तथा एउटा पनि खेल नजितेको झरना स्पोर्ट्स सबैभन्दा अन्तिममा छ ।

बुधबारदेखि क्वालिफाई खेल हुने आयोजकले जनाएको छ । १० वटा टिमको सहभागिता रहेको प्रतिस्पर्धा २२ असोजमा सकिनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।