ताजा अपडेट »

'राज्यको नीति नियमले उद्योग सञ्चालनमा समस्या'

मंगलबार, १९ असोज २०७८, १७ : १३
6 Shares

भैरहवा । राज्यको नीति नियममा बाझिएका कुराले गर्दा उद्योग सञ्चालन गर्न समस्या उत्पन्न भएको व्यवसायीहरुले बताएका छन् । व्यवसाय सञ्चालन गर्न दर्ता गर्दा हुने झन्झटिलोपन र व्यवसाय सञ्चालन गर्न नसकेपछि बन्द गर्नको लागि धेरै कठिनाइ रहेको उद्योगीहरुले बताएका छन् । सोमबार समता टेलिभिजनले आयोजना गरेको उद्योग व्यवसाय प्रवर्धनको लागि मिडियाको भूमिका विषयमा बोल्ने उद्योगी व्यवसायीले व्यवसाय दर्ता र खारेजी गर्दा सास्ति बेहोर्नु परेको बताएका हुन् ।

अर्बौको लगानी गरेर व्यवसाय सञ्चालन गरेका व्यवसायिलाई दर्ता प्रक्रियामा जान्छौँ भन्दा पनि सरकारको बाझिएको नीति बनाउँदा समस्या भएको नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । भएभरको सम्पत्ति बैंकमा राखेर लोन गर्दा बैंकले सुरुमा सहज रुपमा मिलाइदिने र लोन लिइसकेको एक महिना नबित्दै बैंकको नीति नियम परिवर्तन भएको भनि चर्कौ व्याज असुली गर्ने गर्दा व्यवसाय गर्न समस्या भएको छ । सरकार जति पटक परिवर्तन भयो, त्यतिबेला नयाँ नयाँ नीति र नियम ल्याउँदा व्यसाय गर्न कठिन भएको शर्माले बताए ।

राष्ट्र निर्माण र राष्ट्रिय पुँजी वृद्धि गर्न नीजि क्षेत्रका उद्योगहरुको अग्रणी भूमिका रहेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजेश अग्रवालले बताए । ५० वर्ष पहिले नेपालले दाल, चामल, पिठो, तेल लगायतका खाद्य सामग्री अनुदान तथा बजारीकरणको लागि भारत लगायत तेस्रो मुलुकमा पठाउने गरेकोमा अहिले आयात नगरी नेपालमा खान नपुग्ने भन्दै कृषि, पर्यटन र उद्योगलाई राज्य प्राथमिकतामा राख्नु पर्ने कुरामा अग्रवालले जोड दिए । उनले थपे “नेपाल कृषि, पर्यटन र उद्योगको लागि प्रचुर सम्भावना भएको देश भएपनि नीति निर्माणकर्ताले योजना नबनाउँदा विकासको गतिमा पछाडि परेको भन्दै उद्योगका लागि चाहिने कच्चा पदार्थको विक्रि वितरण सहज बनाउने, पर्यटकीय क्षेत्रमा आधारभूत विकास गर्ने र कृषकको लागि समयमै मल, बिउ उपलब्ध गराउने र सिँचाइको प्रबन्ध मिलाउने हो भने नेपालले छिट्टै नै विकासको गति लिन सक्छ ।”

उद्योगी व्यवसायीले भन्सारमा बेहोर्नु परेको सास्ती उत्पादन भएका सामग्रीको सहज रुपमा ओसार पसार गर्न नपाएको बताउँदै मिडियाले राज्यका नीति नियमको जटिल प्रक्रियालाई उठान गरिदिए केही हद सम्म राज्यले सुनुवाई गर्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेन्द्रकुमार श्रेष्ठले बताए । निजी क्षेत्रले पर्यटन र उद्योग क्षेत्रमा पु¥याएको योगदानलाई राज्यले अनुसरण गर्दै राज्यले गर्नु पर्ने दायित्व पूरा गर्नु पर्ने श्रेष्ठले बताए ।

राज्यले भैरहवा सेजमा बिजुली बत्ति प्रयाप्त मात्रामा नदिएको र उद्योग दर्ता, निर्यात वस्तुकोलागि सिफारिस पत्र दिनको लागि ढिला सुस्ति गरेका कारण सेजमा दर्ता भएका उद्योगहरु पनि विस्तापित भएको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका उपाध्यक्ष ठाकुर श्रेष्ठले बताए । राज्यले आन्तरिक व्यपार प्रवद्र्धन गर्न तर्फ ध्यान नदिएर छिमेकी मुलुकमा गएर उपभोक्ताले लत्ताकपडा तथा खाद्य सामग्री बिना भन्सार ल्याउने गरेकोले निजी क्षेत्रको व्यापार धरासयी हुने व्यवसायी तथा समाजसेवी ओमकार गौचनले बताए ।

उद्योगीले उद्योग खोल्दा खुला ठाउँमा गएर खोल्ने गरेपनि उद्योग स्थापना भएसँगै मानव बस्ति बस्ने र उद्योगले समस्या पा¥यो भन्ने गर्दा उद्योगी समस्यामा परेको बताउँदै राज्यले व्यवसायीबाट कर उठाउने तर उद्योगलाई दिनुपर्ने सेवा तथा सुविधा दिन नसकेको उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले बताए ।

कार्यक्रममा उद्योगी व्यवसायी नेत्रप्रसाद आचार्य, बिदुर ढुङ्गाना, सुरज उप्रेती, रोहित अग्रवाल, टोपबहादुर रायमाझी, खिमबहादुर खत्री, मंगल भण्डारी, ऋषीकेश अग्रवाल, विष्णु शर्मा, रमेश घिमिरे लगायतले राज्यको नीति नियमका कारण व्यवसायीलाई समस्या परेको धारणा व्यक्त गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।