ताजा अपडेट »

भारतीय केरा बिरुद्ध नेपाली कृषक आन्दोलित

मंगलबार, १९ असोज २०७८, १६ : ३८
2 Shares

भैरहवा । कृषि सामाग्रीको अभाव, बजारमा बिचौलियाको प्रभाव र भारतबाट आयात भएको केरासँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली केरा किसान मर्कामा परेका छन् ।

भन्सार, प्लाण्ट क्वारेन्टाईन र बिषादी चेकजाँच गर्ने कर्मचारीहरुो मिलेमतोमा भारतबाट निर्वाध रुपमा केरा भित्रिरहेको नेपाली कृषकहरुको गुनासो रहेको छ । भन्सार वार्डमा आउनु भन्दा पहिला नै भारतीय केराको बिषादी चेकजाँच, क्वारेन्टाईन र जाँचपासका लगायतका प्रक्रिया कर्मचारीहरुले आर्थिक प्रलोभनमा परेर गर्ने गरेको उनिहरुको आरोप रहेको छ ।

नेपाली सरकारी कर्मचारीहरुले सहयोग नगरे सम्म नेपाली केराले बजार नपाउने बताउदै कृषकहरुले कम्तिमा आवश्यक चेकजाँच गरिदन आग्रह गरेका छन् । मंगलबार भैरहवा भन्सार घर्न आएका नवलपरासी सुस्ता पूर्वका कृषकहरुले कर्मचारीहरुले सहयोग नगरे भारतीय केराका गाडी जलाई दिने चेतावनी दिएका छन् । केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु यादवले भारतीय केरा चेकजाँच नगरि भित्रिए भने पाएको खण्डमा महेन्द्रराजमार्गमा भारतीय केरा बोकेका गाडीमा आगजनी गर्ने चेतावनी दिए । भारतमा किसानलाई मल, बीउ, कृषि औजारमा अनुदान दिने गरेकोले भारतीय किसानले सस्तोमा केरा बिक्री गर्ने गरेका किसानको भनाई छ । यता नेपालमा भने भारतबाट नै आउने मल, बिउ बिजन लगायत ल्याउनु पर्ने हुदा तुलनात्मक रुपमा भारत भन्दा महङ्गो पर्ने गरेको छ ।

नवलपरासी (सुस्ता पश्चिम) का प्रतापपुर र सुस्ता गाउँपालिकाका कृषकले उखुको मूल्य नपाएपछि बिकल्पको रुपमा केरा खेतीको सुरुवात गरेका थिए । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत त्यस क्षेत्रलाई केरा सुपरजोनको रुपमा बिकसित गरेको छ । तर बजारीकरणको उपयुक्त ब्यवस्था नहुदा कृषकका केरा बारीमा नै कुहिरहेको छ । केरा उत्पादक संघका उपाध्यक्ष सुदामा कोईरीले सुपरजोन तोकिए पनि बजार ब्यवस्थापनको भने परियोजनाले कुनै ब्यवस्था नगरेको गुनासो गरे । “केरा त फलाईयो, अब त्यसलाई बेच्ने कहा ? बारीमै केरा पाकेर झरिरहेको छ बेच्ने वातावरण मिलाईयो ।” उनले भने

नेपालमा दशै अघि देखि छठ पर्वसम्म केराको खपत बढी हुने गर्दछ । यही बेला यहाँ केरा उत्पादन हुने गर्छ तर पर्वको बेला भारतबाट अत्यन्त कम मूल्यमा केरा आयात हुने र यहाँको उत्पादन विस्थापित हुने गरेको किसानको भनाइ छ । लागत करिब ३० रुपैया प्रति दर्जन परेको केरा लागत मूल्यभन्दा पनि कम २६ रुपैयामा बेच्दा समेत भारतीय केराको प्रतिष्पर्धा गर्न नसकेको कृषकको गुनासो छ । नवलपरासीको प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिकामा गरि करिब ३ हजार बिगहामा केराखेती हुने गरेको छ ।

यस्तै रुपन्देहीको मायादेवी र सियारी गाउँपालिकामा गरि करिब २ सय ५० कृषकले केरा खेती गरिरहेको किसानले बताएका छन् । रुपन्देहीका दुई गाउँपालिकामा मात्रै १ सय ५० बिघा बढी जमिनमा केरा खेती भइरहेको छ । सरकारले केरा खेतीको लागी चाहिने आधारभूत आवश्यकताहरु पुरा गरि दिए मात्र नेपाललाई केरा खेतीमा आत्मनिर्भर बनाई अन्त पनि यसको निर्यात गर्न सक्ने किसानहरुको दावी छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा