ताजा अपडेट »

साढे ३३ किलो सुनकाण्ड: गोरेसहित ६ जनालाई जन्मकैदको सजाय

मंगलबार, १९ असोज २०७८, १५ : ४६
8 Shares

काठमाडौँ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती ‘गोरे’ लाई जन्मकैदको सजाय सुनाएको छ। जिल्ला अदालत मोरङले गोरेसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

साढे ३३ किलोग्राम सुन गायब भएपछि तस्कर समूहको यातनाका क्रममा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी–१ मा सनम शाक्यको हत्यासमेत भएको यो घटनाबारे बहस सुरू भएको थियो। जिल्ला अदालत मोरङमा अपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको बहस भएको थियो। मोरङ उर्लाबारीका सनम शाक्य हत्या र साढे ३३ किलो सुन हराएको विषयमा अनुसन्धान गर्ने क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी मुद्दाको सुनुवाइ न्यायाधीश लम्सालको इजलास भएको थियो।

उक्त मुद्दामा बेनु श्रेष्ठसमेत ६३ जना, रेवत भन्ने रेवन्तकुमार आचार्य, सम्बिर प्रेतोलोङसमेत २ जना तथा सञ्जय खेतान भन्ने प्रभात अग्रवाललाई विपक्षी बनाइएको छ। उक्त मुद्दामा सनम शाक्यका दाजु सञ्जिव शाक्यको जाहेरीमा सरकारी वकिल कार्यालय पक्ष रहेको छ। सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४ सय रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रूपमा आयात गरिएको दाबी गरिएको छ। सुन तस्करी मुद्दाका प्रतिवादीमध्ये २२ जना अझै फरार छन्। प्रहरीले पक्राउ गरेका र अदालतमा आफैं हाजिर भएका ५५ जना मध्ये अधिकांश धरौटीमा छुटेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।