ताजा अपडेट »

साफ च्याम्पियनसिप : आक्रामक खेलले दिलाएको सफलता

मंगलबार, १९ असोज २०७८, १० : २९
2 Shares

काठमाडौं । दोस्रो प्रतिस्पर्धात्मक खेलमा श्रीलंकालाई पराजित गर्दै नेपालले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेकाे छ । नेपालले फिफा बरीयतामा आफूभन्दा निकै तल रहेको श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल थप्दा २ गोल ब्यहोरेको थियो । 

यसअघि नेपालले १३औँ संस्करणको साफ उद्घाटन खेलमा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो । लगातार दुई जितसँगै नेपाल सिंगल राउण्ड रोबिन लिगको शीर्ष स्थानमा । पाँच देश सम्मिलित लिगमा नेपालले दुई खेलबाट शतप्रतिशत जितसहित ६ अंक बनाएको छ ।

दुई खेलबाट चार अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । एक खेलबाट एक अंक बटुलेको भारत तेस्रो स्थानमा छ । एक खेलबाट बिना कुनै अंक माल्दिभ्स र दुई खेलबाट कुनै अंक जोड्न नसकेको श्रीलंका क्रमशः चौथो र पाँचौ स्थानमा छन् । नेपाल दोस्रो जितसँगै फाइनल उन्मुख भएको छ । तालिकाका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । अब नेपाल एक खेल जितले फाइनल पुग्ने निश्चित छ । नेपालले तेस्रो खेलमा सात पटकको साफ बिजेता भारतको सामना गर्नेछ । 

पछिल्लो समय आक्रामक फुटबलमा केन्द्रित नेपाल लगातार दुबै खेलमा सोही रणनीतिमा सफल रह्यो । नेपालका लागि कुबेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले युवा तथा अनुवभी  मिश्रित नेपाली टोलीलाई आक्रमक फुटबलमा अभ्यस्त बनाउने प्रयास गरिरहेका छन् । धेरै समय विपक्षीको दबाब लिँदै अन्तिममा गोल गर्ने अब्दुल्लाहको रणनीति सफल हुँदै पनि गएको छ । 

पहिलो खेलमा माल्दिभ्सविरुद्ध अब्दुल्लाह सोहि रणनीतिमा सफल भए । अनुभवी माल्दिभ्सका खेलाडीसामु युवा खेलाडी उतारेका अब्दुल्लाहले ‘फ्रेस’ मनिष डाँगीलाई मैदान पठाउँदै निर्णायक काउन्टर गोल गराएका थिए । दोस्रो खेलमा भने अब्दुल्लाहले सुरुवातबाटै नेपाली टोलीलाई आक्रमणमा जोड दिए । नियमित डिफेण्डर दिनेश राजवंशीलाई बाहिर राख्दै डिफेन्सिभ मिडफिल्डर रोहित चन्दलाई दोहोरो भूमिका दिए । उनले मिडफिल्डर पुजन उपरकोटीलाई रक्षा तथा मिड दुबैमा खेलाए ।

पहिलो खेलमा लेफ्ट विंगरको भूमिका पाएका सुजल श्रेष्ठलाई बाहिर राख्दै विशाल राईलाई होल्डिङ मिडफिल्डरमा मौका दिए । विशाल सुरुवाती ११ रहे पनि नियमित तेज तामाङले अट्याकमा प्रस्ट देखिए ।

सुजलको स्थानमा सुमन लामा आएका थिए । पछिल्लो समय अभ्यास सत्रमा नेपाली अट्याकमा सफल रहेका सुमनले पुनः एक पटक प्रशिक्षक अब्दुल्लाहको रणनीतिलाई न्याय दिए । सुमनले अगाडि बढ्दै खेलको ३१ मिनेटमा नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । सुमनले एक्ला स्ट्राइकर नवयुग श्रेष्ठको पासलाई सदुपयोग गर्दै सिक्स यार्ड बक्सबाट आकर्षक गोल गरे । देशका लागि यो सुमनको पहिलो गोलसमेत हो । पाँच वर्ष अघि राष्ट्रिय टोलीबाट डेब्यु गरेका सुमनले आफ्नो १६औँ क्यापमा गोल गरेका हुन् । 

दोस्रो गोलसमेत काउन्टरमा सम्भव भएको थियो । तेज तामाङले दिएको लामो क्रस वैकल्पिक खेलाडी आयुषले कन्ट्राेल गरे । आयुषले बक्सभित्र श्रीलंकन डिफेण्डरलाई बिट गर्दै नवयुगलाई बल उपलब्ध गराए । नवयुगको प्रहार श्रीलंकन गोलरक्षक सुजन परेराले पन्च गरे । रिबाउण्ड बललाई अन्जन विष्टले गोललाइनबाट खोली पोष्टमा जाली चुमाए । 

तेस्रो गोलसमेत काउन्टरमै सम्भव भयो । युवा खेलाडी आयुषले पहिलो आधिकारिक गोल गरे । यसअघि बारम्बार गोल गर्न चुकेका आयुष यसपटक भने सफल रहे । उनले गोलरक्षक परेरालाई सिक्स र्‍याड बक्समा बिट गर्दै सहज गोल गरे । यसअघि अष्टेलियाविरुद्ध फिफा विश्वकप छनोटमा डेब्यु गरेका आयुषले कतारमा ओमानविरुद्ध पहिलो गोल गरेका थिए । तर, सो खेल आधिकारिक थिएन । 

एक प्रकारले प्रतियोगिताको दुबै खेलमा नेपाल काउण्टरमा सफल रह्यो । अब, नेपालको लक्ष्य तेस्रो खेलमा भारततर्फ केन्द्रित छ । खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले प्रतियोगितामा प्रदर्शनभन्दा पनि नतिजा महत्वपूर्ण हुने बताउँदै आगामी खेलमा समेत काउन्टरमै ध्यान हुने योजना सुनाए । ‘प्रदर्शन भन्दापनि नतिजा महत्त्वपूर्ण हुन्छ । विपक्षीले बल राख्न चाहन्छन् । मलाई अंक चाहिएको छ,’अब्दुल्लाहले भने ।

उनले खेल जितेकोमा खुशी व्यक्त गरे ।  ‘म तीन अंक जोड्न सकेकोमा धेरै खुसी छु । खेल निकै कठिन थियो । यो प्रतियोगितामा अंक निकै महत्त्वपूर्ण छ र हामीले सम्भव भएको ६ मा सबै ६ जित्न सकेका छौं, हाम्रो अब फाइनल पुग्ने १ प्रतिशत सम्भावना रहेको मेरो बुझाइ छ । प्रतियोगिता अझै बाँकी छ, म खेलाडी र समर्थकबाट निरन्तर साथको अपेक्षा छ । अब दबाब अन्य टोलीलाई छ ।’

खेल अनुसार रणनीति हुने भन्दै बताउँदै उनले टोलीले जितका लागि खेल्ने स्पष्ट पारे ।खेलमा प्लेयर अफ द म्याच बनेका विंगर अन्जन विष्टले नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान बनाउने चाहना रहेको बताए । खेल पछि पत्रकार सम्मलेनमा उनले भने, ‘‘रेकर्ड तोड्ने चाहना भइहाल्छ । १३ गोलमा अड्किराछ, मुख्य कुरा नेपालमा फरवार्डले मात्र गोल हान्नुपर्छ भन्ने छ तर फरवार्डले मात्र होइन सबैले गोल हान्छ । अहिले मिडफिल्डरले पनि गोल हानेको छ । मेरो पनि चाहना छ १३ गोलको त्यो रेकर्ड तोड्ने । त्यसका लागि म अझै मिहिनेत गर्नेछु ।’

अन्जनको यो छैंटौंँ गोल हो । सन् २०१४ मा फिलिपिन्स विरुद्ध खेल्दै नेपालका लागि डेब्यु गरेका अन्जनले पहिलो राष्ट्रिय गोल गर्न पाँच वर्ष कुर्नुपरेको थियो । विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेईविरुद्ध सन् २०१९ मा उनले एकै खेलमा २ गोल गरेका थिए ।

उनले इराक, चाइनिज ताइपेइ, भारत र श्रीलंकाविरुद्ध पछिल्लो केहि महिनाको अन्तरमा गोल गरेका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान १३ गोल छ । हरि खड्का र निराजन रायमाझीको नाममा रहेको यो कीर्तिमान तोड्न कसैले सकेको छैन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।