ताजा अपडेट »

मटर नियन्त्रणमा लिएको भन्दै असन्तुष्टि

बुधबार, १३ असोज २०७८, २० : ५६
2 Shares

परासी । मटरको कारोबार गर्न पाउनुपर्ने माग गर्दै व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा मंगलबार ज्ञापन पत्र बुझाएका छन् । मटर कारोबारमा संलग्न व्यवसायीको दबाबमा उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको व्यवसायिको टोलीले आफूहरुको मटर सहितका गाडि नियन्त्रणमा लिएको भन्दै असन्तुष्टि जनाएको हो ।

खाद्यान्न सामाग्री ओसारपसारमा प्रतिबन्ध लगाईएको भन्दै उद्योग वाणिज्य संघले व्यवसायीलाई मर्कामा नपार्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाएको छ । तर उक्त ज्ञापन पत्रको आशय र दुई घण्टासम्म भएको छलफलमा मटरको सहज कारोबारको विषयले प्राथमिकता पाएको थियो । पश्चिम नवलपरासी हुँदै भारत तर्फ मटरको कारोबार हुँदै आएको छ ।

पछिल्लो समय प्रहरीले बिलविजक सहितको मटर लोड गरिएको सवारी साधन पनि नियन्त्रणमा लिएपछि आक्रोशित मटर कारोबार गर्ने व्यवसायीको दबाबमा उद्योग वाणिज्य संघले मंगलबार सुरक्षा निकायको ध्यानआर्कषण गराएको हो । मटर छोहडा र मरिज जस्ता सामाग्री ओसारपसारमा प्रहरीले अवरोध सृजना गर्दै आएको भन्दै व्यवसायीले घुमाउरो तरिकाले भारत तर्फ तस्करी गर्न पाउनुपर्ने माग गरेका थिए ।

प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा भएको छलफलमा प्रहरी उपरिक्षक मनोज कुमार यादवसँग व्यवसायीको चर्काचर्कि भएको थियो । उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायी केशव चापागाँई र प्रहरी उपरिक्षक यादव बिच मटर सहितका सवारी साधन नियन्त्रणमा लिएको विषयमा केहिबेर चर्काचर्की भएको थियो ।

प्रमुख जिल्ला अधिकारी मिश्रले सुरक्षा निकायले तस्करी नियन्त्रणको जिम्मेवारी लिएको बताउँदै विल विजक भएपनि भारत तर्फ तस्करी हुँदै आएका सामानको चेकजाँच गरिने बताए । सिमा क्षेत्रमा आवश्यकता भन्दा बढी सामान पठाएर भारत तर्फ तस्करी गर्ने उदेश्य प्रष्ट रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी मिश्रले त्यस्तो कार्यमा सुरक्षा निकायले साथ दिन नसक्ने स्पष्ट पारे ।

लामो समय सम्म छलफल भएपनि कुनै निस्कर्ष निस्कन नसकेपछि व्यसायीहरु प्रशासन कार्यालयबाट बाहिरिएका थिए । रासस

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल