ताजा अपडेट »

गृहमन्त्रीको गृहनगरमा २० दिनदेखि आन्दोलन

बुधबार, १३ असोज २०७८, १८ : ५४
4 Shares

बुटवल । मुलुकमै शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी हुन्छ, गृहमन्त्रीको । तर,गृहमन्त्रीकै नगरमा निरन्तर अशान्ति तथा आन्दोलन हुँदापनि प्रशासन भने मौन छ। रुपन्देहीको तिलोत्तमामा करिब एक महिनादेखि आन्दोलन छ । देशकै गृहमन्त्री रहेका बालकृष्ण खाँणको घर भएको नगरपालिका भएतापनि यसतर्फ उनले अहिलेसम्म कुनै औपचारिक तथा सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। भदौं १९ गते २७ वर्षिया सीता भण्डारीको शंकास्पद मृत्यु भएपछि माइती पक्षले घरपक्षले ‘हत्या’ गरेको भन्दै न्यायको माग गरेका छन् । उता श्रीमानसहित भण्डारीका घरपक्षले भने भण्डारीले आत्महत्या गरेको र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टम गर्दा पनि आत्महत्या भन्ने छ ।

गृहमन्त्रीकै गृहजिल्लामा न्यायका लागि भन्दै निरन्तर आन्दोलन हुनु दुःखद भएको स्थानीयले गुनासो गरेका छन्। ‘देशकै गृहमन्त्री रहेका गृहमन्त्रीको नगरमा घटना भएको लामो समयसम्म पनि समयमै छानविन नहुनु सत्य–तथ्य पत्ता नलाग्नु भनेको विडम्बना हो । यसतर्फ उनको सक्रियता हुनुपर्ने सके आँफै उपस्थित भएर छानविन र सोही अनुसार कारवाही वा न्याय हुन्छ भनेर आन्दोलन नगर्न र आश्वासन दिनुपर्ने तर, अहिलेसम्म कुनै प्रतिक्रिया नहुँदा गृहमन्त्री खाँणको ध्यान सत्ताप्रति र समानुपातिकबाट सांसद बनेको हुनाले जनताप्रति उत्तरदायी नभएको देखियो ।’ एक स्थानीयले भने ।

गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव ब्रिजेश न्यौपानेले घटनाका बारेमा सत्य तथ्य अनुसन्धान गर्न निर्देशन दिएको बताए ।‘गृहमन्त्री खाँणले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई घटनाका बारेमा सत्यतथ्य अनुसन्धान गर्न आग्रह गर्नु भएको छ ।आवश्यक परेको खण्डमा विशेष अनुसन्धान टिम खटाउन पनि निर्देशन दिनु भएको छ।’ उनले भने । गृहमन्त्री खाँण सरकार विस्तार भएपछि मात्रै गृहजिल्ला आउने स्वकीय सचिव न्यौपानेले बताए । सरकार विस्तारमा विलम्ब हुँदा कामको भार धेरै भएको बताउँदै गृहमन्त्री गृहजिल्ला आउन नपाएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले घटनाका बारेमा सुक्ष्म रुपमा अनुुसन्धान गरि रहेको बताउँछन् । उनले भने ‘घटनाका बारेमा अनुसन्धान गर्न लागि उनका श्रीमान र दिदीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेका छौँ । अनुुसन्धानका लागि अदालतबाट लिएको म्याद अझै ४/५ दिनको समय छ ।’

पोष्टमार्टममा आत्महत्या भएको भन्दै सुरुमा जाहेरी लिन नमानेको प्रहरी प्रशासनले माइतीपक्षको विरोध र चर्को दवावपछि मृतक सीताका श्रीमान र उनकी दिदीलाई हिरासतमा लिई आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा चलाएको छ । त्यसपछि निरन्तर आन्दोलनमा रहेका माइती पक्षले आन्दोलन स्थगित गरेका थिए । बुधबार उनीहरुले पुनः तिलोत्तमाको सडकमा आन्दोलन गरेका छन् । न्यायको माग गर्दै आन्दोलनरत उनीहरुले सिताको हत्या भएको भन्दै न्याय दिनुपर्ने माग गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।