ताजा अपडेट »

स्वरोजगार भएपछि दङ्ग छन् रुपन्देहीका सोनु

बुधबार, १३ असोज २०७८, १७ : २३
2 Shares

भैरहवा । रोहिणी गाउँपालिका वडा नम्बर २ बैरिहवाका हुन, सोनु खरविन्द । उमेरले काँचै भए पनि जिम्मेवारी ठूलै छ उनीमाथी । त्यही जिम्मेवारी पुरा गर्न कहिले दैनिक ज्यालादारी, कहिले अरु काम गरेर भौतारि रहन्थे । काम हुँदासम्म ठिकै थियो काम नभए पछि भने साँझ बिहानको छाँकको चिन्ता हुन्थ्यो । लगानी नभएकोले आफै केही गर्न पनि असमर्थ थिए ।

तर अहिले सोनुको दैनिकी फेरिएको छ । उनी बिहान घरबाट निस्किदा उनलाई कामको चिन्ता हुन्न् । आफ्नै रिक्सा भए पछि ढेर थोर कमाई गरेर नै उनी घर फर्किने गरेका छन् । अरुको काम गरेर जिविकोपार्जन गरि रहेका सोनुको दैनिकी त्यही रिक्साले फेरिदिएको छ । धकधई, बैकुण्ठपुर हुदै उनि भैरहवासम्म नै यात्रु ओसार्ने गरेका छन् । यसले सोनुको आय आर्जन त भएको छ नै स्थानीयले पनि आफ्नै घरदैलो अगाडी रिक्साको सुविधा पाईरहेका छन् ।

एक पटक चार्ज गरेर १ सय २० किलोमिटर सम्म रिक्सा गुडाउने गरेको सोनु बताउँछन् । उनले यात्रु आकर्षित गर्न रिक्साको हेरचाह र यसको सरसफाईमा प्रयाप्त ध्यान दिने गरेको बताउँछन् । गाउँपालिकाले आफ्नै गाउँठाउँमा बसेर काम गर्ने वातावरण मिलाईदिएकोमा उनि गाउँपालिकालाई धन्यवाद दिँदा थाकेनन् ।

सोनु जस्तै रोहिणी गाउँपालिकाका ७ जनाको दैनिकी रिक्साले नै फेरेको छ । मूख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत रोहिणी गाउँपालिकाले सोनु लगायत ७ जना युवाहरुलाई निशुल्क ई–रिक्सा प्रदान गरेको थियो । स्वरोजगार गर्ने उद्देश्य सहित ७ वटै वडाका ७ जना युवालाई रिक्सा प्रदान गरिएको रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । यस संगै गाउँपालिकामा किराना पसल सञ्चालन गर्ने गरि किराना पसलका सामाग्रीहरु पनि प्रदान गरि पसल सञ्चालनमा सहयोग गरिएको उनले जानकारी दिए । “मूख्यमन्त्री कोषबाट प्राप्त भएको रकम युवायुवतीलाई स्वरोजगार बनाउने काममा खर्च गर्ने निर्णय भएको थियो । सोही बमोजिम ईरिक्सा र किराना पसलमा लगानी गरेका छौं ।” न्यौपानेले भने

मूख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत २० लाखको बजेट बाट ७ वटा रिक्सा प्राप्त गरेका ७ जना युवाहरुले अहिले परिवारको भरण पोषण हुने गरि कमाई गरि रहेका छन् । रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले बुधबार उक्त रिक्साहरुको अनुगमन गरेका छन् । “रिक्सा पाएकाले सदुपयोग गरे नगरेको बुझ्दा सबैले यसको सदुपयोग नै गरेको पाए ।” यादवले भने । “ग्रामीण क्षेत्रमा बस्ने युवायुवतीलाई बैदेशिक रोजगारीबाट रोक्न आफ्नै देशमा स्वरोजगार गर्न आवश्यक छ । अहिले हामी त्यसै बिषयमा काम गरिरहेका छौं ।”

उनले गाउँपालिकामा स्वरोजगार हुन चाहनेलाई बिभिन्न योजनाहरु ल्याएको बताए । यस अतिरिक्त गाउँपालिकामै रहेका बिभिन्न उद्योगहरुमा पनि स्थानीय युवाहरुको रोजगारीको लागी अनिवार्यता गरिएको उनले बताए । अहिले रोहिणी गाउँपालिकामै रहेको बिभिन्न उद्योगहरुमा स्थानीय युवायुवतीले प्राथमिकता पाएको उनको भनाई छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा