ताजा अपडेट »

मुटुलाई माया गरौं

बुधबार, १३ असोज २०७८, १४ : १६
66 Shares

आज विश्व मुटु दिवस,हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभर मुटु दिवस मनाइन्छ। विश्व मुटु संगठनले मुटुको यहि संवेदनशीलता अनि महत्वलाई ध्यानमा राख्दै हरेक वर्ष सेप्टेम्बर २९ लाई मुटु दिवसका रुपमा मनाउन थालेको हो । सन् २०१२ मा विश्वभरिका स्वास्थ्य संगठन अनि सरकार प्रमुखहरु मिलेर सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगहरुलाई २५ प्रतिशतले कमगर्ने साझा सहमति गरेका छन्। मुटु दिवसका अवसरमा विश्वभर विभिन्न कार्यक्रमहरु गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरिँदै छ । दिवसका अवसरमा हृदय रोगीहरु,उपचारसँग सरोकारवाला, संघ,संगठन,सञ्चार माध्यमहरु,सर्वसाधारण लगाएत सबै भेला भई मुटु रोग बारे छलफल गर्ने गर्दछन् ।

स्वास्थ्य मन्त्रालयले मुटुरोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउन नागरिकलाई आग्रह गरेको छ । ‘स्वस्थ जीवनशैली नै हो, स्वस्थ मुटुको आहार’ भन्ने नाराका साथ आज मुटु दिवस मनाउन लागिएको हो । स्वास्थ्य मन्त्रालयले आज सूचना जारी गर्दै मुटुलाई स्वस्थ राख्न विभिन्न सल्लाह दिएको छ । स्वस्थ खानेकुरा खान, शारीरिक व्यायाम गर्न, शरिरको तौललाई नियन्त्रणमा राख्न, धुमपान र मद्यपान छाड्न, कोलस्ट्रोल र रक्तचापलाई नियन्त्रणमा राख्न र मानसिक तनाव व्यवस्थापन गर्न मन्त्रालयको आग्रह छ । पछिल्लो समय निष्क्रिय जीवन र मानसिक तनावको कारण मुटुरोग देशभरका सबै उमेर, वर्ग र क्षेत्रका मानिसलाई लागेको भन्दै मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।

सबैभन्दा प्यारो भन्नुपर्दा हामी ‘मुटु’ भन्छौं । अर्थात् मायाको सवालमा होस् या जीवनको सवालमा मुटुनै पहिलो र अन्तिम उदाहरण तथा साक्षी बन्दछ । मुटु मानवको महत्वपूर्ण अङ्ग मात्रै होइन स्वस्थ जीवनका लागि निकै संवेदनशील आधार पनि हो । तर,पछिल्लो समय मुटु जोखिममा परेको छ । मुटुका रोगीहरुको संख्या बढ्दो छ । र,यो संख्याले गति लिँदैछ । मुटुजस्तो महत्वपूर्ण र संवेदनशिल अङ्ग जोखिममा पर्दै जानुले धेरैको जीवन समस्याग्रस्त मात्रै नभई संकटग्रस्त बनेको छ । प्रत्येक वर्ष विश्वमा १७.९ मिलियन मानिसले मुटुका कारण ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्यांकले बताउँछ । विश्वमा नसर्ने रोगका कारण मृत्यु हुनेमध्ये ३२ प्रतिशत मुटुरोगका कारण मृत्यु हुने गर्दछ ।

मुटुरोग विशेषज्ञका अनुसार खापानका कारण बढी मुटुमा समस्या आउने गरेको छ । व्यस्त र तनावपूर्ण जीवनशैली, प्याकेटका तथा जंक फूडको अत्याधिक प्रयोग,मिसावटयुक्त खाद्यान्न,केमिकलजन्य उपभोग्य सामग्रीहरूको प्रयोग, अस्वस्थ प्रतिष्पर्धा लगाएतका कारण मुटुरोगको जोखिममा छौं । शहरमा मुटुरोगको जोखिम बढी छ । पछिल्लो समय गाउँमा पनि बढ्दै छ । खानपिन र जीवनशैली बाहेक मुटुरोग जन्मजात वा वंशाणुगत हुनसक्छ । कुनै पनि परिवारमा जन्मजात मुटुसम्बन्धी रोग थियो भने त्यो परिवारबाट जन्मने बच्चामा पनि मुटुरोग हुन सक्ने सम्भावना हुन्छ । त्यसपछि गर्भवती महिलाले धूमपान, मध्यपान बढी गर्ने, आहार विहारको कमी भएको विशेषगरी दुर्गम जिल्लाहरुमा यस्तो समस्या देखिन्छ । त्यस्ता आमाबाट जन्मेको बच्चाहरुमा जन्मजात मुटुरोगको समस्या हुन सक्छ ।

३५ वर्षभन्दा माथिको आमाबाट बच्चा जन्मिँदा जन्मजात मुटुरोग लाग्ने अथवा जन्मजात मुटुरोग वा डाउन सिन्ड्रोम हुनसक्ने सम्भावना बढी हुन्छ । वयस्क व्यक्तिहरुमा धूमपान, मध्यपान गर्न शारीरिक व्यायम नगर्ने, मोटोपना भएको व्यक्तिहरु अत्यधिक मात्रामा कार्बाेहाइड्रेड भात, आलु, गुलियो, बासोजन्य, मासुजन्य खाना धेरै खाने व्यक्तिमा मुटुरोगको समस्या देखिन सक्छ । साथै मधुमेहका बिरामीलाई पनि मुटुरोग लाग्न सक्ने सम्भावना बढी हुन्छ । जसको जीवन चिन्तामा बितेको छ, विभिन्न कारणले मान्छेलाई चिन्ता तनाव हुन्छ । त्यस्तो व्यक्तिलाई पनि मुटुरोग लाग्न सक्ने सम्भावना हुन्छ । अंग्रेजीमा एउटा भनाई छ,प्रिभेन्सन इज बेटर देन क्यूर’ अर्थात् रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हुन्छ । यदि यसै भनाईलाई आत्मासात् गरी सतर्कता अपनाउने हो भने मुटुरोग लाग्न र यसबाट हुने हानीबाट बच्न सकिन्छ ।

स्वस्थ मुटुका लागि दैनिक शारीरिक व्यायाम गर्ने ,खेलकूदमा सहभागी हुने,धुमपान र मद्यपानबाट टाढै रहने,सकेसम्म कम औषधी सेवन गर्ने ,ताजा र स्वस्थ खाने कुरामा जोड दिने ,तनावबाट मुक्त हुने,शरीरको तौललाई नियन्त्रण गर्ने, ३५ वर्षभन्दा माथिका नागरिकले सुगर र कोलोस्ट्रोलको मात्रा नियमित चेकजाँच गरेमा मुटुरोगबाट बच्न सकिन्छ । यस्ता कुरामा ध्यान दिएर पालना गरेमा हृदयघातबाट हुने गरेको ८० प्रतिशत असामयिक निधनलाई न्यूनिकरण गर्न सकिन्छ। आधुनिक र व्यवस्त जीवनशैलीमा मुटु र स्वास्थ्य जस्तो शंवेदनशील अंगलाई हेल्च्याइँक्राई नगरी उच्च सावधानी र स्वास्थ्य सतकर्ता अपनाए मात्रै स्वस्थ,सुखी र खुशी जीवन व्यतित गर्न सकिन्छ । तसर्थ मुटु दिवसका अवसरमा प्रण गरौं: मुटुलाई धेरै माया गरौं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।