ताजा अपडेट »

कांग्रेसको स्थानीय नेतृत्व : अधिकांश युवा र जनप्रतिनिधि

सोमबार, ११ असोज २०७८, २१ : २५
8 Shares

पाँचथर । पाँचथरका आठमध्ये नेपाली कांग्रेसले तीन स्थानीय तहमा चुनावमार्फत नयाँ नेतृत्व चयन गरेको छ । बाँकी पाँच स्थानीय तहमा सहमतिमा नेतृत्व छनोट भएको छ । नेतृत्वमा अधिकांश युवा र जनप्रतिनिधिले स्थान पाएका छन् ।

जिल्लाको याङवरक र फाल्गुनन्द गाउँपालिका तथा फिदिम नगरपालिकामा कांग्रेसले मतदानमार्फत नेतृत्व चयन गरेको हो । चौध वडा रहेको फिदिम नगरपालिकाको कांग्रेस सभापति पदमा फिदिम–४ का वडाध्यक्ष प्रकाश गुरुङ र फिदिमका नगरप्रमुख ओनाहाङ नेम्वाङका सल्लाहकार केशव नेम्वाङको प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको थियो । दुई ६१ जना क्षेत्रीय प्रतिनिधि रहेकामा २६० जनाले मतदानमा भाग लिएका थिए । नगर कार्यसमितिको सभापतिमा वडाध्यक्ष गुरुङ १४९ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेम्वाङले १०८ मत प्राप्त गरेका छन् ।

फिदिम नगर कार्यसमितिको उपसभापतिमा बालकृष्ण लावती र सुकपाल तुम्बापो विजयी भएका छन् । उनीहरुले समान १३७ मत प्राप्त गरेका छन् । उपसभापतिका अर्का उम्मेदवार श्रीप्रसाद घिमिरेले १३२ मत प्राप्त गरे । यस्तै नगर कार्यसमितिको सचिवमा नरेन्द्र गुरुङ र अविनाश भट्टराई विजयी भएका छन् । उनीहरुले क्रमशः १५८ र १३६ मत प्राप्त गरेका छन् । यस्तै सहसचिवमा नवीनकुमार तुम्बापो र कुशल राई विजयी भएका छन् । नगर कार्यसमितिका सात निर्वाचित पदाधिकारीमध्ये सभापति, दुईजना उपसभापति र सचिव नरेन्द्र गुरुङ गरी चारजना वडाध्यक्षहरू छन् । उपसभापतिमा पराजित घिमिरेसमेत वडाध्यक्ष हुन् ।

यस्तै कांग्रेस फाल्गुनन्द गाउँ कार्यसमितिको सभापति सुकवीर नेम्वाङ विजयी भएका छन् । आइतबार राति सम्पन्न मतगणनाअनुसार नेम्वाङले ६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी एमपी चेम्जोङले ४४ मत प्राप्त गरे । सात वटा वडा रहेको फाल्गुनन्दमा कांग्रेसका १३२ जना क्षेत्रीय प्रतिनिधि रहेकामा १२२ जना मतदान प्रक्रियामा सहभागी थिए । गाउँ कार्यसमितिका अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको सो पार्टीले जनाएको छ ।

यस्तै याङवरक गाउँपालिकामा समेत चुनावमार्फत कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । यहाँ गाउँ कार्यसमितिको सभापतिमा ५४ मत प्राप्त गर्दै शेरबहादुर नुगो सभापति निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी सबिन माबोले ५१ मत प्राप्त गरे । यस्तै सचिवमा समान ५७ मत प्राप्त गर्दै रामचन्द्र ढुङ्गेल र कृष्णप्रसाद प्याकुरेल निर्वाचित भएका छन् । उनीहरुका प्रतिद्वन्द्वी सुभाषचन्द्र काम्बाङ र खगेन्द्र सिग्देलले क्रमशः ४० र ३८ मत प्राप्त गरेका छन् ।

यस्तै सहसचिवमा समेत मतदानमार्फत नै तिलबहादुर राई र कृष्ण कोइराला विजयी भएका छन् । उपसभापतिमा भने प्रेमराज काफ्ले र देउकुमार योङहाङ सर्वसम्मत निर्वाचित भएका छन् । उक्त कार्यसमितिका अधिकांश पदाधिकारी युवा छन् भने उपसभापति योङहाङ याङवरक–२ का वडाध्यक्ष छन् ।

बाँकी पाँचवटा गाउँपालिकामा सहमतिमा कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । जसअनुसार फालेलुङ गाउँपालिकाको सभापति वीरविक्रम थाम्सुहाङ, हिलिहाङ गाउँपालिकाको सभापतिमा सन्तोष लिङदेन, कुम्मायक गाउँपालिकाको सभापतिमा दुर्गाप्रसाद बम्जन, तुम्बेवा गाउँपालिकाको सभापतिमा बाबुराम खड्का र मिक्लाजुङ गाउँपालिकाको सभापतिमा सन्तकुमार शेर्मा (सन्तोष) को नेतृत्वमा सहमतिमा नयाँ कार्यसमिति गठन भएको कांग्रेस पाँचथरमा जनाएको छ । यी कार्यसमितिका अधिकांश पदाधिकारीहरू युवा छन् ।

कांग्रेसले स्थानीय तहका अधिकांश पदाधिकारीमा नयाँ पुस्तालाई जिम्मेवारी दिएको छ । उनीहरूमध्ये कतिपय जनप्रतिनिधिसमेत छन् । आठमध्ये चार स्थानीय तहका सभापति वडाध्यक्ष छन् । फिदिम नगरका सभापति गुरुङसहित फालेलुङका सभापति थाम्सुहाङ, फाल्गुनन्दका सभापति नेम्वाङ र मिक्लाजुङका सभापति शेर्मा वडाध्यक्ष हुन् । कांग्रेसको जिल्ला कार्यसमिति सभापतिमा कांग्रेसका पुराना नेता पूर्वसचिव सुरेन्द्रकुमार दाहाल र वर्तमान सचिव रुपनारायण जबेगूबीच प्रतिस्पर्धा हुनेछ । दुवै समूहले जिल्ला कार्यसमितिका पदाधिकारीमा प्यानल नै खडा गरी प्रतिस्पर्धा गर्न लागेका छन् । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।