ताजा अपडेट »

प्रतियोगिता नहुँदा खेलमैदान सुनसान

सोमबार, ११ असोज २०७८, १४ : ११
8 Shares

पाल्पा । पाल्पामा कोरोना सङ्क्रमण घट्दै गएपछि निषेधाज्ञा पनि हटेको छ । कोरोनाको जोखिम कम भए पनि जिल्लामा खेलकुदका गतिविधि भने सञ्चालन हुन सकेको छैनन् । सङ्क्रमणको उच्च जोखिम भएका बेला थला परेको खेलकुद गतिविधि अहिले पनि सुरु नहुँदा खेल क्षेत्र प्रभावित बनेको छ । अभ्यास र प्रतियोगिता नहुँदा नयाँ खेलाडी उत्पादनमा समस्या भएको छ ।

विगत ६ महिनायता खेलकुदका कुनै प्रतियोगिता हुन सकेका छैनन् । प्रतियोगिता सञ्चालन हुन नसक्दा खेलमैदान सुनसान बनेका छन् । “प्रतियोगिता हुँदा नयाँ खेलाडीले अवसर पाउँछन्, अहिले खेलाडी यसबाट वञ्चित छन्”, जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष करुणा काफ्लेले भने । प्रतियोगिता नियमित रुपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । “खेलाडीलाई अनिवार्य कोरोनाविरुद्धको खोपको व्यवस्था गर्नुपर्छ” काफ्लेले भने ।

सदरमुकाम तानसेनस्थित खेल मैदान सुनसान छ । यहाँ ६ महिनादेखि प्रतियोगिता हुन सकेका छैनन् । तानसेन नगरपालिका सदस्य एवं सामाजिक विकास समितिका संयोजक दीपक विश्वकर्मा विद्यालय बन्दका कारण खेल क्षेत्र प्रभावित भएको बताउनुहुन्छ । स्थानीय तहले हालसम्म राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्न सकेका छैनन् । खेल क्षेत्रलाई यसपटक वर्षाले समेत प्रभावित बनाएको छ । प्रतियोगिता नहुँदा घाँसे मैदान बनेका छन् ।

“वर्षाले खेलमैदानमा खाल्डाखुल्डी बनाएको छ”, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले भने । जोखिम कम भएकाले प्रतियोगिता सञ्चालन गरिने उहाँको भनाइ छ । खेल प्रतियोगिताका लागि बजेट विनियोजन गरिएको कार्कीले बताए।

कांग्रेसको अधिवेशनमा दलित प्रतिनिधत्व शून्य

पाल्पाको ८१ वडा र दश स्थानीय तहमा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । कुनै पनि समितिको सभापतिमा दलित समुदायको प्रतिनिधित्व हुन सकेको छैन । जिल्लामा ८१ वडा, दुई नगरपालिका र आठ गाउँपालिकामा दलितको उम्मेदवारी नपरेको कांग्रेसका जिल्ला सचिव झपिन्द्र गैरेले बताउनुभयो । दश स्थानीय तहमध्ये पूर्वखोला गाउँपालिकामा विष्णुमाया आचार्य सभापतिमा निर्वाचित भएका छन् । माथागढी गाउँपालिकामा जनजाति उम्मेदवार दीपक थापा र निस्दी गाउँपालिकामा पूर्णबहादुर खाँड ठकुरी नेतृत्वमा आएका छन् ।

रामपुर नगरपालिकामा सभापतिमा नेत्र भट्टराई र रिब्दीकोट गाउँपालिकामा रामचन्द्र पाण्डे निर्वाचित हुनुभएको हो । रैनादेवी छहरा गाउँपालिकामा विष्णुप्रसाद पोखरेल, तिनाउ गाउँपालिकामा प्रेम पाण्डे, वगनासकाली गाउँपालिकामा थानेश्वर तिमिल्सिना, रम्भा गाउँपालिकामा ऋिषिराम अर्याल र निस्दी गाउँपालिकामा पूर्णबहादुर खाँड सभापति बन्नुभएको सचिव गैरेले जानकारी दिए । सदरमुकामस्थित तानसेनमा नगर अधिवेशन हुन सकेको छैन । जिल्ला उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष मोहन श्रेष्ठ र सुवर्णमूनि शाक्यले नगर सभापतिमा दाबी गरे । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।