ताजा अपडेट »

कोभिड पछिको लुम्बिनी : धार्मिक क्रियाकलाप बढाउन जोड

सोमबार, ११ असोज २०७८, १४ : ००
4 Shares

भैरहवा । कोभिड–१९ अहिले कम हुदै गएकोले लुम्बिनीमा पर्यटकलाई आकर्षित गर्न र पर्यटक बसाई लम्ब्याउन बिभिन्न धार्मिक क्रियाकलापहरु आवश्यक रहेको सरोकारवालाले बताएका छन् । लुम्बिनीमा पर्यटक आगमन बढाउन पर्यटन ब्यवसायीले बिशेष प्याकेजहरु घोषणा गर्न र लुम्बिनी बिकाश कोषले पनि बिभिन्न क्रियाकलाप गर्न आवश्यक रहेको छ ।

कोभिडको कारण लुम्बिनीमा पर्यटकको आगमन कम भएको हुदा यसको वृद्धिको लागी सरकार र सम्वद्ध संस्थाहरुले प्याकेजको घोषणा गर्नु पर्ने आवाजहरु उठेको छ । लुम्बिनीमा हुने मोलम पूजा, त्रिपिटक च्यान्टिङ, फुल मून डे, महायान र थेरावाद समुदायका बिभिन्न क्रियकलापहरु बढाउन आवश्यक देखिएको पर्यटन ब्यवसायीहरु बताउछन् । बिभिन्न धार्मिक क्रियाकलाप संगै लुम्बिनीमा आन्तरिक र बाह््रय पर्यटकको आगमनमा वृद्धि भई यसले उनिहरुको बसाई अवधि समेत लम्ब्याउन सकिने उनिहरुको तर्क रहेको छ ।

लुम्बिनीमा क्रियाशिल रहेको लुम्बिनी होटल संघले यसको सुरुवात पनि गरेको छ । आन्तरिक पर्यटकलाई लक्षित गर्दै संघले २ हजार १ सय ९९ रुपैयाको बिशेष प्याकेज घोषणा गरेको छ । असोज १५ गते देखी लागु हुने गरि २ दिन र एक रातको लागी यो प्याकेज घोषणा गरिएको संघका महासचिव लिलामणि शर्माले जानकारी दिए । प्याकेजमा होटलको बास, साझको डिनर, बिहानको ब्रेकफास्ट, मायादेवी मन्दिरमा पूजा, धुपबत्ती, गाईड, बुद्धग्राम रोबोटिक थिएटरको टिकट, लन्च, मायादेवी मन्दिर प्रवेश टिकट समावेश रहेको छ । यसको साथै लुम्बिनी बिकास कोष भित्र रहेका पवित्र बगैचा परिसर भ्रमण, दर्शन, अवलोकनहरु प्रदान गरिने संघका महासचिव शर्माले जानकारी दिए ।

यसका साथै पर्यटन ब्यवसायीले मायादेवी मन्दिर अलि ढिलो समय सम्म खोल्न समेत आग्रह गरेका छन् । मायादेवी मन्दिरलाई रातीको ११ बजे सम्म खोल्न पर्यटन ब्यवसायीले माग राखेका छन् । यसले लुम्बिनीमा पर्यटकको बसाई अवधि लम्ब्याउन सकिने उनिहरुको तर्क रहेको छ ।
यस्तै पर्यटन पत्रकार चेतन पन्तले थला परेको पर्यटन पेशाको पुर्नजागरणको लागी सीमा क्षेत्रलाई सुचारु गर्नु पर्ने बताउछन् । अहिलेको समयमा बढी भन्दा बढी आन्तरिक पर्यटक र भारतीय पर्यटकहरुको आगमनमा बढी जोड दिईएको छ । लुम्बिनीका पर्यटन ब्यवसायी मात्र हैन यहाका होटल ब्यवसायी देखी सामान्य रिक्सा चालक सम्म अहिले पर्यटकको पर्खाईमा रहेका छन् ।

यसको लागी लुम्बिनीको सम्पूर्ण पक्षको ब्यवहार नरम हुनु पर्ने लुम्बिनी बिकास कोषका सूचना अधिकृत हरिध्वज राईको भनाई छ । लुम्बिनी आउने पर्यटकले सौहार्दता खोजेको बताउदै लुम्बिनीको भलो चहाने सबै पक्षले आफ्नो ब्यवहारमा लचकता अपनाउनु पर्ने उनको भनाई छ ।
कोभिड पछि लुम्बिनीमा आध्यत्मिक पर्यटक उतार्न लुम्बिनी बिकास कोषले पनि पहल गरि रहेको छ । आज विश्व पर्यटन दिवसको अवसर पारेर लुम्बिनी बिकास कोषले भारतीय पर्यटक समेत बोलाएर लुम्बिनी भ्रमणको लागी सन्देश दिएको छ ।

लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बिभिन्न क्षेत्रमा लुम्बिनीको प्रवद्र्धन गरि रहेको बताउछन् । यसको साथै पर्यटकको बसाई अवधि लम्ब्याउन गुरुयोजनालाई अन्तिम रुप दिन लागी परेको बताए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा