ताजा अपडेट »

पर्यटनलाई पुर्नउत्थान गरी समृद्धिको आधार बनाऔं

सोमबार, ११ असोज २०७८, ११ : ०४
2 Shares

आज विश्व पर्यटन दिवस,नेपालमा विभिन्न कार्यक्रम गरी ४२औं विश्व पर्यटन दिवस मनाइँदैछ। यो दिवस प्रत्येक वर्ष सेप्टेम्बर २७ मा मनाउने गरिन्छ । धुमधामका साथ मनाउने गरिएता पनि गत वर्षको भने कोरोनाबाट प्रभावित भयो । यसवर्ष पनि २ वर्ष अगाडि जस्तो सहज वातावरण र अवस्था भने छैन । पहिलो र दोस्रो लहरको कोरोनाबाट निरन्तर थलिएको पर्यटन क्षेत्र विस्तारै उठ्दै छ । तर,दोस्रो लहरको केहि संक्रमणकालिन समयसँगै तेस्रो लहरको त्रासका बीच अघि बढ्दै छ । विश्वव्यापी कोरोना महामारीका कारण २ वर्षदेखि पर्यटन क्षेत्र निकै प्रभावित छ । होटल,रेष्टूरेण्ट,यातायात,पार्क जस्ता पर्यटकीय क्षेत्र निकै ग्रसित भए। पर्यटन क्षेत्र लामो संक्रमण र बन्दाबन्दीपछि विस्तारै उठ्दै गरेको अवस्थामा पर्यटन दिवस मनाइँदै छ ।

दिवसका अवसरमा राष्ट्रिय,प्रदेश र स्थानीय तहमा वा पर्यटन क्षेत्रमा धेरै उत्साह, महत्वपूर्ण योजना र कार्यक्रमहरु भने छैनन्।अझैपनि सामूहिक कार्यक्रमका लागि उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकता छ । औपचारिक रुपमा केहि कार्यक्रमहरु भने हुँदैछन् । लुम्बिनी प्रदेश सरकारले यस वर्ष कुनै वृहत कार्यक्रमको आयोजना गरेको छैन । महामारीले लुम्बिनी सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष–२०२१ पनि प्रभावित बन्यो । लुम्बिनीमा बाह्य तथा आन्तरिक पर्यटन संख्या बढाउने उद्देश्यले ल्याइएको सो आयोजनाका लागि विभिन्न तयारी भएका थिए । तर,सोही समयमा महामारीका रुपमा फैलिएपछि स्थगन गरिएको हो । यस वर्ष भने कुनै विशेष कार्यक्रमहरु छैनन् ।

विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले भने विशेष कार्यक्रमको आयोजना गरेको छ । सरकारको निमन्त्रणामा विभिन्न राष्ट्रका राजदूतसहित कूटनीतिक नियोगका प्रमुख पोखरा आएका छन्। कतार, युएई, फिनल्याण्ड, उत्तर कोरिया, साउदी अरेविया, श्रीलङ्का, बङ्गलादेश, जर्मनीलगायत देशका राजदूत पोखरा आएका छन्। त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिवसहित अन्य कूनीतिक नियोगका प्रमुखसमेत पोखरा आएका छन् । राजदूतसहितका विशिष्ट कूटनीतिज्ञको पोखरा भ्रमणले थलिएको पर्यटन व्यवसाय माथि उठाउन सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ । विदेशी राजदूतसहित विशिष्ट कूटनीतिज्ञको पोखरा भ्रमणको कार्यक्रमले पर्यटन सम्बद्ध क्षेत्रका व्यवसायीमा उत्साह थप्दै भ्रमणसँगै पोखरा पर्यटकका लागि खुला छ भन्ने सन्देश विश्वव्यापी जाने प्रदेशको विश्वास छ।पछिल्लो समय पर्यटन निर्क महत्वपूर्ण क्षेत्र तथा आधार बनेको छ ।

घुम्ने,हेर्ने,खर्च गर्ने लगाएतको संस्कृति नै बनेको छ । कृषि प्रधान मानिने नेपाल विस्तारै पर्यटन प्रधान बन्दै छ । कृषिलाई मुख्य रोजगार र आय स्रोतका रुपमा लिइँदै आएको मुलुकमा पछिल्लो दशकमा अझ भनौं शान्ति सम्झौता पछि पर्यटनमा युगान्तकारी परिवर्तननै आएको छ ।नेपालको पर्यटन क्षेत्र फराकिलो बन्दै अगाडि बढ्ने क्रममा महामारी समस्या मात्रै होइन अवरोध नै बन्यो । पर्यटन क्षेत्रमा आकर्षणसँगै लगानी र सहभागिता बढ्दै आएको थियो । यद्यपी त्यो आकर्षण,सहभागिता र लगानीको क्रम भने अहिले पनि छ । संक्रमणले निम्ताएको समस्या र संकटका बावजूदपनि पर्यटनका क्षेत्रमा नयाँ पूर्वाधार भने थपिएका छन्। तर, पूराना, स्थापित तथा सुरु हुँदै गरेका पर्यटन क्षेत्रका कैंयौं पूर्वाधार र क्षेत्रहरु भने धराशायी भएको अवस्था छ ।

नेपाल पर्यटन तथ्यांक अनुसार सन् २०२० मा नेपालमा ८० प्रतिशत कम पर्यटन भित्रिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२० मा हवाई, स्थलगत मार्गबाट नेपालमा आएका पर्यटकहरुको औषत बसाई, आगमनको उद्देश्य लगाएतका विषयवस्तुहरु समावेश गरी एक रिपोर्ट तयार गरेको थियो । पर्यटन संख्या घटेपनि पर्यटकको बसाई औषतमा भने वृद्धि भएको छ । सन् २०२० मा नेपालमा २ लाख ३० हजार ८५ जना पर्यटक भित्रिए । गत वर्षकै तथ्यांक हेर्दा पर्यटन क्षेत्रको आम्दानी ७१ प्रतिशतले घटेको छ । यससँगै सन् २०२१ को पनि सुरुबाटै पर्यटन क्षेत्र प्रभावित छ । जसले गर्दा थप समस्यासँगै यो क्षेत्र आर्थिक रुपमै ग्रस्त भएको छ ।

बढ्दो पर्यटन सम्भावनालाई मध्यनजर गर्दै गरिएको अरबौं लगानी संकटमा छ । अन्तराष्ट्रिय उडान अवरुद्ध हुँदा र आन्तरिक पर्यटकको पनि चलायमान बन्द हुँदा पर्यटन क्षेत्र ठप्प रह्यो । लामो समयको बन्दले लगानीको व्याज, कर्मचारी, भाडा, आन्तरिक अन्य खर्च लगाएतले पर्यटनका लगानीकर्ता संकटमा छन् । कतिपय साना लगानीका होटल, रेष्टूरेण्टहरु बन्द भएका छन् । ठूला लगानीका होटल रेष्टूरेण्टहरु आर्थिक समस्यामा छन् । पार्क, यातायातका क्षेत्र पनि त्यस्तै छन् । पर्यटन क्षेत्रमा भौतिक र आर्थिक समस्या र संकट मात्रै होइन । हजारौं आश्रित श्रमिकहरु विस्थापित पनि भएका छन्। घुमफिरसँगै नेपालको प्रमुख मानिने पर्वतारोहणमा पनि निकै कमी आयो । भर्खरै फस्टाउँदै गरेका होम स्टे पनि ठप्प छन् । ग्रामिण पर्यटनको आधार मानिने होम स्टे बन्द हुँदा स्थानीय स्तरमा आर्थिक गतिविधिमा असर परेको छ । यसका लागि पर्यटनको २ वर्ष अघिको लयलाई फकाउँदै गतिशिलताका साथ अगाडि बढाउन सरोकारवालाको विशेष पहल र भूमिका जरुरी छ ।

समग्रमा पर्यटन क्षेत्रमा पहिरो नै गएको छ । जसबाट अतुलनीय क्षति भएको छ । जसको लेखा–जोखा र तत्काल परिपूर्ति हुनेवाला पनि छैन । तर,पर्यटन दिवस मनाइरहँदा यसमा परेको प्रभाव, भएको क्षति र त्यसको पूर्ति बारे अधययन र योजना बनाउनु नै पर्दछ र, कार्यान्वयनमा ल्याउन पर्दछ । अर्कोतर्फ पर्यटनबाट पलायन भएको जनशक्ति,बन्द भएका पूर्वाधारहरुको पुर्नउत्थान र व्यवस्थापन पहिलो प्राथमिकता हुनु पर्दछ । पर्यटन निकै ठूलो उद्योग हो । अतिथि देवः भव भन्ने हाम्रो संस्कृति र मान्यता अनुसार परिमार्जित हुँदै गएको यस व्यवसाय रोजगार र आयको मुख्य आधार हो । यसमा राज्य र निजी क्षेत्रको अथाह लगानी छ । यसको उत्थानसँगै यसैलाई समृद्धिको आधार बनाउन आवश्यक छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।