ताजा अपडेट »

नेपाल खुला छ

शुक्रबार, ०८ असोज २०७८, ०७ : २०
2 Shares

काठमाडौँ । सरकारले झन्डै १७ महिनापछि विदेशी पर्यटकलाई नेपालको ढोका खुला गरेको छ। कोरोना भाइरस भित्रिएसँगै २०७६ फागुनदेखि पर्यटक भिसा बन्द थियो। महामारीअघि खुला गरिएका सबै मुलुकका नागरिकलाई अनअराइभल भिसा दिने निर्णय भएको पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले बताए। 

यससँगै आगामी सिजनमा पर्यटकको संख्या बढ्ने सरकारको अनुमान छ। जसकारण व्यवसायी उत्साहित बनेका छन्। 

पर्यटकलाई ससर्त आउन दिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयले यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको छ। उक्त आदेशले पूरा डोज खोप लगाएकाहरूले क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गरेको छ। व्यवसायीले खोपको मात्रा पूरा गरेकाहरूका हकमा क्वारेन्टाइनको व्यवस्था हटाउन माग गर्दै आएका थिए। खोपको मात्रा पूरा गरेको १४ दिन कटेको प्रमाण र हवाई उडानको चेकइन हुनुभन्दा ७२ घण्टाभित्रको पीसीआर परीक्षणको रिपोर्ट भने अनिवार्य गरिएको छ। 

यी प्रक्रिया पूरा गरी आउनेलाई आगमन बिन्दुमा नै अनअराइभल भिसा दिइने मन्त्रालयले जनाएको छ। खोप नलगाएकाहरू भने आफ्नै खर्चमा १० दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।