ताजा अपडेट »

'भोट माग्दा खुट्टा ढोग्छन्, अधिकार खोज्दा पिट्न खोज्छन्'

आइतबार, ०३ असोज २०७८, १९ : २८
4 Shares

गुल्मी । गुल्मीको मरभुङ्ग गाउँका ६७ बर्षीय पुने दमै पहिरोले घर बगाउनै लागेको पीडा सुनाउँदै भन्छन्–‘चुनाव ताका भोट माग्न आउँदा खुट्टा ढोग्छन् जुन सुकै दलका नेता कार्यकर्ताहरुले त्यस पछि हाम्रो अधिकार खोज्दा पिट्न खोज्छन् ।’ उनले आफूहरुको माथि गाउँमा जाने सिमलटारी देखिको मोटरबाटाको हभिगत २०६४ सालमा जस्तो थियो उस्तै रहेको देखाउँदै भन्छन्–‘भैसी दल माथी गराउँन नसकिएको र कोही विरामी परे डोकोमा बोकेर तल सिमलटारी सम्म ल्याउनु बाध्य छौं ।’

त्यस गाउँका खुमबहादुर दर्जि पनि आफुहरुलाई चुनाव ताका मात्रै पुछताछ गर्ने गरेको त्यस पछि आफुहरुलाई वास्ता नगर्ने गरेको बताउँदै भन्छन् यहाँका हामी धेरै जसो दलितहरु हेपिएर बस्नु परेको दुखेसो सुनाउँछन् । ८ वर्ष सम्म बिदेशमा बसेका उनी कोरोना महामारी सुरु भए पछि घर आए तर रोजगारी पाउन सकेका छैनन्। पहिलो पटक मलेशिया गएका मरभुङ्ग कालिमाटी टोलका कमल बिक घरमा आमाको मृत्यु भए पछि १३ महिनामा फर्किए फेरी दुई चार महिना पछि कतार पुगे । त्यहाँ पुगेको केहि महिना पछि विरामी परेर बाटो खर्च समेत अरु संग खोजेर आए । सम्पत्तीका नाममा बास मात्रै छ , बैदेशिक रोजगार पीडितलाई गाउँपालिकाले रोजगार दिने भने पनि अहिले सम्म पाउन सकिएको छैन्’ –उनले भने ‘चुनावमा पाउ मोल्न खोज्नेहरुसँग अहिले कुनै कुरा मिलाई दिनपर्यो भन्दा झम्टिन खोज्छन् ।’

१५ वर्षको उमेरमा सन्तान जन्माएकी त्यस गाउँकी सरस्वती सुनारको सन्तान अपाङ्ग जन्मीईन् । छोरी लुला खुट्टा भएका कारण स्कुल जान सक्दैन , उपचार गर्न सकेकी छैन भन्दै उनले कार्यक्रम स्थलमा डाको छाडेर रोईन् । माओवादी द्धन्द्धकालमा गाजस प्रमुखको जिम्मेवारी पाएका मरभुङ्ग गाउँका भोटबहादुर सुनारलाई बुढेयौली संग भेट्ने सोध्ने कोही छैन् । आर्थिक अबस्था निकै कमजोर भएका कारण तत्कालिन एमाले नेता तथा हालका वडाध्यक्ष टिकाबहादुर जिसीले उनलाई स्थानीय एक विद्यालयमा पियनको जागिर लगाई दिएको बताउँछन् । जागिर त लगाई दिएँ तर उनले बोको पानी र पकाएको चिया खाने कोही भएनन्,वडाध्यक्ष जिसीले भने केहि वर्षसम्म घण्टी बजाएको भरमा जागिर खाए अहिले साठी बर्ष पुगेकोले छाडेका छन् ।

द्वन्द्वकालदेखि कै माओवादीका पुराना कार्यकर्ता हुन शशबहादुर सुनार पनि उनले माओवादी रहेको तर पहिलाको जस्तो पार्टीले खोज्न छाडेको गुनासो गर्छन् । एमालेका जल्दा–बल्दा कार्यकर्ताहरु हुन् सिमलटारीका कृष्ण सुनार तर, गत स्थानीय तहको निर्वाचनमा मनोनित सदस्य बनाउँछौं भनेर पार्टीका मान्छेले झुक्काएको गुनासो गर्छन् । अबको चुनावमा आफूले स्वतन्त्र उठ्नुपर्ने भए पनि वडाध्यक्षको उमेदवार नछाड्ने उनको सोँच छ ।

उनी भन्छन्–‘ मरभुङ्गमा झण्डै चार सय घर धुरी दलित समुदायहरु छौं,हाम्रै भोटले वडाध्यक्ष जित्न सक्छौं, कति दिन अरुको भर्याङ्ग बन्ने । एमालेकै अर्का अगुवा कार्यकर्ता हुन् खड्क नेपाली उनी पनि अन्य समुदायले मरभुङ्गका दलितलाई हेर्ने दृष्टिकोण र ब्यवहारबाट सन्तुष्ट छैनन्। त्यहाँका दलित अगुवा महिलाहरु धना बिक र ज्योति सुनार लगाएतका कार्यक्रममा सहभागित सबै महिलाहरुले सार्वाजाकि धारामा पानी थाप्न जाँदा भोग्नु परेको विभेद बारे यसरी ब्याङ्ग गर्छन् ‘अरुले नदेख्ने गरि हाम्रा घर भित्र पसेर उहाँहरु (ब्राहमण क्षेत्री ) ले खाना,खान हुने , अझ पाडाको मासु पाकेको बेला खुब मिठो हुने तर, धारामा भने छुइयो कि झै झगडा हुने गर्दछ । किन होला त्यस्तो ब्यवहार ?

मालिका गाउँपालिका ८ का वडाध्यक्ष टिकाबहादुर जिसीले अधिकार खोजेसँगै दलितहरुको ब्यबहारमा पनि सुधार आउनु पर्नेमा जोड दिए । दिनभरी मज्दुर गरेर ५ सय कमायो भने साँझ ७ सय खर्च गर्ने , कोठ मन्दिरमा अरुले भन्दा बढी नै ठूला–ठूला पाडा किनेर मञ्चवली पनि दलिहरुले चढाउनु पर्ने उनले भने अन्यथा नहोस् आर्थिक स्थिति सुधार गर्नका लगि कमाउने भन्दा बचाउने तिर लागौं । एमालेबाट विजयी उनले दलितहरुको अधिकारका लागि लड्ने पार्टी एमाले नै भएको जिकिर गरे ।

गाउँपालिका अध्यक्ष रीतबहादुर थापाले पनि एमाले पार्टी नै दलितहरुको पार्टी भएको दावी गर्दै भने–‘ गाउँपालिकाले अधिकांस दलितहरुको खरका झुपडी फालेर टिनको छान लगाई दियौं , घर घरमा धारा , बिद्युत नपुगेकाहरुलाई सोलार बत्ति यावद काम दलितहरुकै पक्षमा बढि गरेका छौं । अब पालिकाले लगानीको अभावमा कुनै ब्यवसाय गर्न नसेककाहरुलाई बैंकबाट ऋणको ब्यवस्था गरिएको छ र ५ वर्षसम्म त्यसको ब्याज गाउँपालिकाले नै तिर्ने छ अब कोही बेरोजगार बस्नु पर्ने छैन ।’

साझामञ्च मरभुङ्गका सचिव थम्मन सुनारकाअनुसार दलित लक्षित कार्यक्रममबाट वृद्ध , बेसहारा र एक दमै विपन्न दवाँघासका शोभे बिक दम्पत्तीको घरमा सोलार जडान गरिएको र खाद्यन्न राहत समेत उपलब्ध गराइएको छ । त्यस्तै पाँच घर विपन्न परिवारलाई पनि राहत उपलब्ध गराइएको दवाँघास गाउँकै १०२ वर्षीय जेष्ठ नागरिक शिवबहादुर सुनारलाई गाउँपालिका अध्यक्ष रीतबहादुर थापा र वडाध्यक्ष टिकाबहादुर जिसीले दोसाल्ला ओढाएर सम्मान गरेका छन् । १०२ वर्ष उमेर पुगेका सुनार त्यस पालिकाकै सबै भन्दा जेष्ठ नागरिक भएको गाउँपालिका अध्यक्ष थापाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।