ताजा अपडेट »

पूजाको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट हुँदा एकको मृत्यु

आइतबार, ०३ असोज २०७८, १६ : १४
4 Shares

जलेश्वर । महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरमा पूजाको विषयलाई लिएर आज दिउँसो दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका–२ तरहारी गाउँका ५० वर्षीय रामप्रसाद यादव रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

सुन्दरपुरका ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा तथा तरहारीका ५० वर्षीय रामप्रसाद यादवबीच सुन्दरपुरको मैनटोलमा विश्वकर्मा मेलामा पूजाको विषयलाई लिएर विवाद भएको थियो । विवादले उग्ररुप लिएपछि दुबै पक्षबीच भएको कुटाकुटमा रामप्रसाद यादव बेहोस भएर बाटोमै ढलेका थिए । त्यसको केही बेरमै उनको मृत्यु भएको स्थानीयवासीले जानकारी दिए । घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको र शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।