ताजा अपडेट »

चूनौती पारगर्दै मुलुक सही बाटोमा : मुख्यमन्त्री केसी

आइतबार, ०३ असोज २०७८, १२ : ४५
2 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाल केसीले संविधान पालनमा केही चूनौती आएतापनि मुलुक सहि बाटोमा फर्किएको बताएका छन्। संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नयाँ संविधान जारी भएको ६ वर्ष पुगिसकेको सन्दर्भमा संविधान पालनमा केहीं चूनौती आएतापनि राष्ट्र सहि बाटोमा फर्किएर अगाडि बढिरहेको बताएका हुन्।

यस्तो छ मुख्यमन्त्रीले जारी गरेको शुभकामना सन्देश

सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफै जारी गरेको ऐतिहासिक दिन संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को गौरवपूर्ण अवसरमा प्रदेशवासी र समस्त देश, विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् प्रदेशको निरन्तर समुन्नती तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

सार्वभौम संविधानसभाबाट संविधान जारी भएको २०७२ असोज ३ गते नेपाली इतिहासकै स्वर्णिम दिन हो । यो स्वर्णिम दिन प्राप्तार्थ भएका विभिन्न जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन र अन्य आन्दोलनमा सहादत प्राप्त गर्ने आदरणीय शहीदहरूप्रति उच्च सम्मानसाथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । संघर्षका क्रममा घाइते अपाङ्ग योद्धाहरूप्रति सम्मानसहित स्वास्थ्य लाभको कामना गर्दै बन्दी, बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।

हाम्रो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था लगायत वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गरेको छ । यो ऐतिहासिक दिनमा सम्पूर्ण नेपाली तथा प्रदेशबासी जनसमुदायमा बधाई ज्ञापन गर्दै आफ्ना अधिकारहरूलाई संस्थागत गरेको संविधानप्रति गौरव गर्न अपील गर्दछु ।

हामीले संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध प्रदेश एवं राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प गरेका छौं । विगतका राज्यव्यवस्थाले सृजना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक लगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने हाम्रो संविधानको संकल्प छ ।

संविधानमार्फत हामीले संकल्प गरेको समृद्ध प्रदेश राष्ट्र र समतामूलक समाज निर्माणका लागि हाम्रो संविधानको पूर्ण पालन, संरक्षण र संवद्र्धन अनिवार्य शर्त हो । नयाँ संविधान जारी भएको ६ वर्ष पुगिसकेको सन्दर्भमा संविधान पालनमा केहीं चुनौती आए तापनि राष्ट्र सहि बाटोमा फर्किएर अगाडि बढिरहेको छ । म यस अवसरमा संविधानको पूर्ण पालन र संवर्धनका लागि सबै प्रदेशबासी एवं नेपालीहरुमा आग्रह गर्दछु । संविधान गतिशील दस्तावेज भएकोले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिन्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले संघ, प्रदेश र स्थानीयतह गरी ३ तहको राज्यको संरचनाबाट जनतालाई प्रत्यक्षरुपमा सेवा प्रवाह गर्ने गरी गरेको व्यवस्था अनुसार प्रदेश सरकारलाई संघ र स्थानीय तहरुलाई संयोजनका लागि महत्पूर्ण भूमिका निर्वाह गर्दै यस प्रदेशबासीको जीवनलाई समृद्ध बनाउन “समृद्ध लुम्बिनी , आत्मनिर्भर लुम्बिनी” बनाउने आकांक्षाको यात्रामा प्रदेश सरकार पूर्ण प्रतिवद्ध रहेको कुरा समेत व्यक्त गर्दछु ।

अन्त्यमा, संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ ले संविधानको पूर्ण पालना गर्दै नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती, राष्ट्रिय एकताको सुदृढीकरण र समतामूलक समाजसहितको समृद्ध प्रदेश एवं राष्ट्र निर्माणका लागि सबै प्रदेशवासी एवं समस्त नेपालीलाई प्रेरणा देओस् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।