ताजा अपडेट »

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग दैनिक १० मिटर खनिन्छ

आइतबार, ०३ असोज २०७८, ०९ : ०८
4 Shares

काठमाडौँ। मुलुककै ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सुरुङ खन्ने काम दैनिक लक्ष्यभन्दा तीव्र रूपमा अगाडि बढेको छ । दैनिक सात मिटर सुरुङ खन्ने लक्ष्य रहेकोमा अहिले दैनिक १० मिटर सुरुङ खन्ने काम भइरहेको सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख नरेशमान शाक्यले अहिले सुरुङमार्गको पूर्वतिर (काठमाडौँ)बाट र पश्चिमतिर (धादिङ)बाट सुरुङ खन्ने काम निरन्तर रूपमा अगाडि बढिरहेको बताउँदै अहिले आयोजनाको दैनिक काम लक्ष्यभन्दा अगाडि रहेको जानकारी दिए । उनका अनुसार अहिले आयोजना स्थलमा दैनिक तीन चरण (सिफ्ट)मा छ सय जनशक्ति कार्यरत छन् ।

भदौसम्मको कार्यप्रगतिअनुसार एक हजार ५०३ मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको बताउँदै उहाँले चालु आर्थिक वर्षको असार मसान्तसम्म सुरुङ खन्ने काम सम्पन्न भइसक्ने जानकारी दिए । उनले भने, ‘‘आगामी वैशाखसम्म सहायक सुरुङ (इभ्याकुएसन टनेल)को र आगामी असारसम्म मुख्य सुरुङमार्ग (मेन टनेल) खन्ने काम सम्पन्न हुनेछ ।’’ गएको पुसदेखि धादिङतर्फबाट सुरुङ खन्ने काम सुरु भएको थियो ।

त्यसैगरी, काठमाडौँतिर ओभर पास निर्माण सम्पन्न गरी बलम्बुमा फ्लाइओभर निर्माणको तयारी थालिएको छ भने धादिङतिर अन्डर पास निर्माण पूरा भएको आयोजना प्रमुख शाक्यले बताए ।उहाँका अनुसार काठमाडौँतर्फ मुख्य सुरुङ २०४ मिटर र सहायक सुरुङ ५३४ मिटर खन्ने काम सम्पन्न भएको छ भने धादिङतर्फ मुख्य सुरुङ २४० मिटर र सहायक सुरुङ ३५९ मिटर खन्ने काम सम्पन्न भएको हो ।

काठमाडौँ र धादिङ दुवै तर्फबाट जम्मा मुख्य सुरुङ ४४४ मिटर र सहायक सुरुङमार्ग जम्मा ८९३ मिटर खन्ने काम सम्पन्न भएको हो । त्यसैगरी, धादिङतर्फ १२६ मिटर अडिट टनेल पूरा भएको छ भने ३९ मिटर क्रस प्यासेज निर्माण भएको उहाँले जानकारी दिए।सुरुङमार्गभित्र हुन सक्ने आपत्कालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गको समानान्तर हुनेगरी सहायक सुरुङमार्ग निर्माण भइरहेको छ । मुख्य र सहायक सुरुङमार्गलाई प्रत्येक ३७५ मिटरमा सहायक बाटो (क्रस प्यासेज)ले जोड्नेछन् ।

सवारीसाधन आवत–जावत गर्न सक्ने मुलुककै पहिलो आधुनिक यस सडक सुरुङमार्गको कुल लम्बाइ २.७ किलोमिटरको हुनेछ । यस सुरुङमार्गको काठमाडौँतर्फको प्रारम्भ बिन्दु (पोर्टल) चन्द्रागिरि नगरपालिका–१ स्थित टुटिपाखामा रहनेछ भने धादिङतिरको शुभारम्भ बिन्दु (पोर्टल) धुनिबेँसी नगरपालिकाको सिस्नेखोलामा रहने उहाँले बताउनुभयो ।

कुल लम्बाइ २.७ किलोमिटर र चौडाइ (क्यारिज–वे) साढे नौ मिटरको हुने यस सुरुङमार्गको बीचमा डेढ मिटर चौडाइको ‘मेडियन’ र आधा–आधा मिटरको दुईवटा ‘सोल्डर’ निर्माण गरिनेछ । सुरुङमार्गको निर्माणमा अहिलेसम्मकै उच्चतम प्रविधि प्रयोग गरिने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार कामदारसँगै ‘मेसिन बेस’ भएर यो सुरुङमार्ग निर्माण भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।