ताजा अपडेट »

भारतद्वारा रुपन्देहीको मर्चवारमा ४२ लाख बढीको राहत

शनिबार, ०२ असोज २०७८, १९ : ४२
4 Shares

भैरहवा । भारतीय दुतावासको सहयोगमा नेपाल-भारत महिला मैत्री समाजले ४२ लाख बढीको राहत सामाग्री प्रदान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि समाजले मर्चवारको विभिन्न स्थानमा बाढीबाट पीडित परिवारको लागि अस्थायी बसोबासका लागि राहत सामाग्री प्रदान गरेको हो ।

नेपाल-भारत महिला मैत्री समाजका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले रुपन्देहीको मर्चवारमा ४२ लाख ७ हजार ४ सय ८ रुपैया बराबरको सामाग्री प्रदान गरेको जानकारी दिइन । चौधरीले सानो परिवार भएको घरको लागि ३० सेट सानो टेन्ट, अलि ठूला परिवारको लागी ३० सेट ठूलो टेन्ट प्रदान गरिएको जानकारी दिईन । यस्तै पारिवारीक रुपमा रहेकालाई ३० सेट र अझ ठूलो परिवारको लागी पार्टीशन गर्न मिल्ने ५५ सेट टेन्ट प्रदान गरिएको बताईन । यसका साथै १ सय ४५ परिवारलाई पुग्ने बिछ्याउने चटाई पनि प्रदान गरिएको उनले जानकारी दिइन । रुपन्देहीमा करिब १ सय ४५ घरधुरीलाई पुग्ने र यस्तै प्रकारले नवलपरासीमा पनि ९० परिवारलाई पुग्ने टेन्ट प्रदान गरिने उनले बताईन ।

पूर्व मन्त्री समेत रहेकी चौधरीले पूर्वतर्फ ८ जिल्लामा र रुपन्देही र नवलपरासी गरि १० जिल्लामा राहतको समान प्रदान गरिने बताईन । यी १० जिल्लामाकुल ४ करोड, ७५ लाख ३९ हजार ८० सय बराबरको राहत सामाग्री समाजले प्रदान गर्दैछ । उसै गरि विद्यार्थी परिषदले पनि विभिन्न ६ जिल्लामा २ करोड ५० लाख ८ हजार भन्दा बढी गरेर भारतको सहयोगमा करिब ८ करोडको राहत सामाग्रीबितरण गरिने उनले जानकारी दिईन ।

भारतले उच्च गुणस्तरको टेन्टहरु सहयोग गरेको छ । पानी, हावा, हुरी, आगालागी जस्ताबाट जोगाउन यो टेन्ट सक्षम रहेको समाजको भनाई छ । नेपालमा भुकम्प, बाढी, पहिरो लगायतका विपद् पर्दा भारतले नेपालभारत महिला मैत्री समाजमार्फत विभिन्न राहत सम्बन्धि सहयोग गर्दै आएको छ ।

राहत वितरण कार्यक्रममा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लले मर्चवारमा आएको बाढीको प्रचार प्रसार नभए पनि यहाँ धेरै नोक्सानभएको बताए । मर्चवारमा आएको बाढीको समयमा यहाँका जनप्रतिनिधिका साथै केन्द्रका प्रतिनिधिहरु कुम्भकर्णी निद्रामा मस्त रहेको उनले आरोप लगाए । यस्तो समयमा भारतले मर्चवारलाई गरेको सहयोगप्रति मर्चवारवासी भारत र समाजप्रति कृतज्ञ रहेको उनले बताए ।

प्राप्त भएको सामग्रीलाइ राजनैतिक पूर्वाग्राह नराखी आवश्यक परेकालाई मात्र वितरण गरिने उनले बताए । यसको लागि मर्चवारमा रहेको नेपाल रेडक्रस सोसाईटी र स्थानिय लायन्स क्लबलाई जिम्मेवारी प्रदान गरिएको शुक्लले जानकारी दिए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा