ताजा अपडेट »

कुन देशले बालबालिकाहरूलाई खोप दिँदैछन् ?

शुक्रबार, ०१ असोज २०७८, ११ : ०१
6 Shares

काठमाडौँ । यूकेमा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई देशको प्रमुख विज्ञ स्वास्थ्य अधिकारीहरूको परामर्शपछि कोरोनाभाइरस विरुद्धको खोप दिइने भएको छ। ती स्वास्थ्य अधिकारीहरूले बालबालिकाहरूलाई फाइजर खोपको एक मात्रा दिनु उचित हुने भनेर सिफारिस गरेका छन्।

खोप अभियानपछि सो उमेर समूहका बालबालिकाहरूको पढाइमा थप अवरोध नआउने अपेक्षा गरिएको छ। इङ्गल्याण्डका चीफ मेडिकल अफिसर प्रोफेसर क्रिस ह्विटिले भने, "यो निकै अप्ठ्यारो निर्णय हो, " तर विद्यालय नगइकन घरै बस्नु पर्ने अवस्था "बालबालिकाका निम्ति साह्रै नै गाह्रो हो", खासगरी पूर्वाधारहरू नभएका स्थानहरूमा। उनका अनुसार लामो समयसम्म बालबालिकाहरू विद्यालय जान नपाउने अवस्था रहँदा उनीहरूमा मानसिक स्वास्थ्य समस्या समेत उत्पन्न हुन सक्ने र जीवनमा दीर्घकालीन असर पर्ने जोखिम रहन्छ।

बालबालिकालाई कोभिड खोप लगाउँदा त्यसबाट विद्यालयहरूमा कोभिड फैलिनबाट रोक्न सकिन्छ भन्ने त होइन तर यसबाट गम्भीर बिरामीहरूको सङ्ख्या भने नियन्त्रण गर्न सकिन्छ। उपलब्ध प्रमाणहरूका अनुसार कोभिड विरुद्धको खोपको एक मात्राले उक्त रोग लगाउने भाइरसको डेल्टा भेरिअन्ट लाग्ने जोखिम झण्डै ५५% कम हुन्छ। साथै यसबाट रोग चर्को हुने र अरूलाई सार्न सक्ने जोखिम पनि कम हुन जान्छ।

प्रमुख स्वास्थ्य अधिकारीहरूका अनुसार विद्यालयको वसन्त ऋतुको शैक्षिक सत्र सुरु हुन अगावै खोपको दोस्रो मात्रा दिनेबारे विचार गर्न हुँदैन।

ब्रिटेनको सरकारलाई खोपको विषयमा परामर्श दिने वैज्ञानिक निकाय जेसीभीआईले स्वस्थ बालबालिकालाई स्वास्थ्य अवस्थाका आधारमा मात्रै खोप दिनु पर्छ भनेर सिफारिस नगर्ने बताएपछि प्रमुख स्वास्थ्य अधिकारीहरूको निर्णय आएको हो।

१६ र १७ वर्षका किशोर किशोरीहरूलाई खोपको पहिलो मात्रा उपलब्ध गराइएको छ र पछि तिनीहरूलाई दोस्रो मात्रा पनि दिइनेछ। उच्च जोखिममा रहेका १२ देखि १५ वर्षकाहरूलाई दुई मात्रा खोपका लागि यसअघि नै योग्य ठहर गरिसकिएको थियो।

यूके बाहेक अन्य केही देशहरूले पनि कम उमेरका किशोर किशोरीहरूलाई खोप दिँदै आएका छन् तर देश अनुसार खोपको प्रक्रिया भने भिन्न भिन्न रहेको छ।

युरोपमा र अन्यत्र के हुँदैछ?

गत मे महिनामा युरोपेली औषधी निकाय ईएमए ले १२ देखि १५ वर्ष उमेरका बालबालिकाहरूलाई फाइजर खोप दिन अनुमित प्रदान गरेको थियो। त्यसयता युरोपका विभिन्न देशले भिन्न भिन्न प्रक्रिया अनुसार खोप कार्यक्रम अघि बढाएका छन्।

डेनमार्कमा १२ देखि १५ वर्षका र स्पेनमा १२ देखि १९ वर्षका बालबालिकाहरूलाई कम्तीमा एक मात्रा खोप लगाइसकिएको छ। फ्रान्समा १२ देखि १७ वर्ष उमेरका ६६% बालबालिकाहरूले एक मात्रा खोप लगाएका छन् भने ५२% ले खोपको पूर्ण मात्रा लगाइसकेका छन्।

जर्मनीमा पहिले नै जटिल स्वास्थ्य अवस्था भएका १२ देखि १५ वर्षहरूलाई मात्र खोप दिने सिफारिस गरिएको भए पनि डेल्टा भाइरसको प्रकोप फैलिन थालेपछि १२ वर्षभन्दा माथिका सबैजना अब खोपका लागि योग्य भनिएको छ।

स्विडेनमा गम्भीर दम, फोक्सोसम्बन्धी अन्य रोग र उच्च जोखिमपूर्ण स्वास्थ्य समस्या भएका १२ देखि १५ वर्षका बालबालिकालाई मात्र खोपका लागि योग्य मानिएको छ। अमेरिका र क्यानडामा गत मे महिनामा नै १२ वर्षभन्दा माथिको उमेरका बालबालिकाहरू फाइजर खोपका लागि योग्य भनिएको थियो।

चीनले गत जुन महिनामा नै सिनोभ्याकले उत्पादन गरेको खोप तीन वर्षदेखि १७ वर्ष उमेरसम्मका बालबालिकाहरूमा दिन सुरु गरेको थियो। त्यति सानो उमेरका बालबालिकालाई कोभिड खोप दिन सुरु गर्ने चीन पहिलो देश थियो।-बीबीसी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।