ताजा अपडेट »

दुई बालकको खातामा करोडौं भारु जम्मा भएपछि...

शुक्रबार, ०१ असोज २०७८, ०९ : ३५
6 Shares

बिहार । बिहारको कटिहार गाउँका दुई अभिभावक आफ्ना सन्तान बोकेर एकाबिहानै आफ्नो खाता जाँच गर्न एटीएम र बैंकमा पुग्छन् । बच्चाले आफ्नो  खातामा बैंकबाट ‘धेरै रकम’ जम्मा भएको बताएपछि अभिभावकले उनीहरूलाई लिएर बैंक पुग्छन्, तर केही समयपछि निराश भएर फर्किन्छन् । 

सार्वजनिक इन्टरनेट केन्द्रमा पुगेर स्टेटमेन्ट जाँच गर्दा उनीहरूको खातामा करोडौं भारु जम्मा भएको देखिएको थियो । कक्षा ६ मा अध्ययनरत आशीषको खातामा ६ करोड दुई लाख जम्मा भएको रहेछ । अर्का विद्यार्थी गुरुचरण विश्वासको खातामा नौ सय करोड जम्मा भएको थियो । गाउँका प्रमुखले त्यसको पुष्टि गरे ।

तर, उनीहरूको खातामा देखाएको पैसा वास्तवमा जम्मा भएको थिएन । बैंकको प्राविधिक समस्याले त्यस्तो देखाएको थियो । यो सुन्दा दुवै बलक र उनीहरूका अभिभावक निराश बने ।

भारत सरकारको योजनाअन्तर्गत विद्यालय पोसाक र कापीकिताब किन्न बैंक खातामा केही रकम डिपोजिट भएको हुन सक्ने अभिभावकले अनुमान गरेका थिए । उत्तर विहारको ग्रामीण बैंकमा दुवै बच्चाको अकाउन्ट खोलिएको थियो ।

‘दुईजना स्कुले विद्यार्थीको खातामा ठूलो परिमाणमा रकम जम्मा भएको खबर थाहा पाएपछि हामीले यसबारेमा अनुसन्धान गरिरहेका छौं,’ कटिहर जिल्लाका म्याजिस्ट्रेट उदय मिश्रले भने । कम्प्युटरमा देखिएको प्राविधिक समस्याले उनीहरूको खातामा पैसा देखाए पनि सो रकम डिपोजिट नभएको सो बैंकका प्रबन्धकले बताएका छन् । यसबारेमा बैंकले थप अनुसन्धान गर्ने भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।