ताजा अपडेट »

विश्वकप लिग-२: नेपालले आज अमेरिकाको सामना गर्दै

शुक्रबार, ०१ असोज २०७८, ०७ : ४७
4 Shares



काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आज तेस्रो खेल आयोजक अमेरिकाविरुद्ध खेल्दै छ । सो खेल नेपाली समय अनुसार सवा ४ बजे शुरु हुदै छ ।यस अघि नेपालले गत सोमबार अमेरिकालाई पाँच विकेटले हराएर सिरिजको उत्कृष्ट शुरुवात गरेको थियो भने दोस्रो खेलमा घरेलु टिम ओमानसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै सिरिजमा विहिबार भएको खेलमा ओमानले अमेरिकालाई ४ विकेटले पराजित गरेको छ ।

ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शङ्खला खेल्न नेपाली टोली ओमान गएको हो । ज्ञानेन्द्र मल्लले कप्तानी गरेको टोलीमा गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोब रहनुभएको छ । टोलीमा मुख्य प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर राकेश काशिभाइ गोहित रहेका छन् ।

ओमान शृङ्खला आगामी असोज ४ गतेसम्म सञ्चालन हुने छ । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई–दुई खेल खेल्ने छ । विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् । लिग–२ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग गत वर्ष चार खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो । नेपालले दुई खेलमा अमेरिकालाई हराएको थियो भने बाँकी दुई खेलमा ओमानसित पराजित भएको थियो । पाँचौँ खेलमा नेपालले अमेरिकालाई हराउँदै छ अङ्क जोडेको छ । नेपाल आफ्नो समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

यस्तै ओमान १२ खेलमध्ये १० मा जित र दुईमा हार व्यहोर्दै २० अङ्कसहित शीर्षस्थानमा छ । अमेरिका १४ खेलमा छ खेलमा जित र ८ मा हारसहित १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ । स्कटल्याण्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अङ्क जोड्दै तेस्रो स्थानमा छ । स्कटल्याण्डले खेलेको एउटा खेल वर्षाको कारण रद्द भएको थियो । नामिबिया सात खेलमा चारमा जित र तीनमा हार व्यहोर्दै आठ अङ्कसहित चौथो स्थानमा छ ।

यसैगरी युएई सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अङ्क जोड्दै पाँचौँ स्थानमा छ । युएईले खेलेको एउटा खेल रद्द भएको थियो । पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ । पपुवा न्यूगिनी अङ्कविहीन बन्दै लिग–२ को पुछारमा छ ।

लिग–२ अन्तर्गत सन् २०२३ सम्म नेपालसहित उक्त समूहका सातवटै देश प्रत्येकले ३६ एकदिवसीय खेल खेल्ने छन् । लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।