ताजा अपडेट »

लाखौं चालक ‘स्मार्ट’ लाइसेन्सको पर्खाइमा, ढिला भएपछि ‘अस्थायी’ लाइसेन्स बाँड्दै विभाग

विहीबार, ३१ भदौ २०७८, ०७ : ४१
2 Shares

काठमाडौं। महामारीका कारण देखाउँदै सरकारले ‘स्मार्ट लाइसेन्स’ छपाउन सकेको छैन। जसका कारण ६ लाख चालकहरूले सास्ती खेप्नुपरिरहेको छ।लिखित र प्रयोगात्मक(ट्रायल) पास गरिसकेका चालकहरूले एक वर्षदेखि लाइसेन्स पाउन सकेका छैनन्। त्यस्ता चालकहरू करिब ६ लाख रहेको यातायात व्यवस्था विभागले जनाएको छ।

यही बीचमा विभागले बागमती प्रदेशका लागि नयाँ चालकहरूका लागि लिखित र ट्रायल परीक्षा खुलाएको छ। भदौ २० गतेदेखि परीक्षाहरू सुरू भइसकेका छन्। यी पनि एक वर्षअघि नै निवेदन दिइसकेका हुन्। यो संख्या पनि करिब ६ लाख जति नै छ।पुरानै लाइसेन्स वितरण गर्न बाँकी रहेको र परीक्षा पनि भर्खर खुलेका कारण नयाँ आवेदन भने कहिले खुल्छ त्यसबारे विभागले केही तयारी गरेको छैन।

कोरोना जोखिमको कारण देखाउँदै गत वैशाख १५ गतेदेखि लाइसेन्सका सबै परीक्षाहरू रोकिएका थिए।‘पुरानै लाइसेन्सहरू वितरण गर्न बाँकी छ। लाखौंको संख्यामा कार्ड(लाइसेन्स) छपाइ गर्नै बाँकी छ। एक वर्षअघि निवेदन दिएकाहरूले बल्ल परीक्षा दिन पाउने भएका छन्’ विभागका सूचना अधिकारी लोकनाथ भुसाल भन्छन् ‘अब नयाँ आवेदन कहिले खुल्छ भन्नै सकिन्न। दसैंपछि तयारी सुरू हुनसक्छ।’

परीक्षाको पालो कुरीरहेका ६ लाख आवेदकहरूले कहिले पालो पाउने हुन् त्यसको पनि अत्तोपत्तो छैन। महामारीका कारणा एउटा सिफ्टको परीक्षामा बढीमा ५० जना परीक्षार्थी सहभागी गराइने नियम बनाइएको छ।बैशाख १६ भन्दा पहिले नै आवेदन दिएकाहरुको संख्या उच्च रहेको र नया आवेदन खुल्ला गर्दा अझ समस्या हुने भएकाले नयाँ आवेदन खुल्ला नगरेको विभागको भनाई छ। पहिले नै आवेदन दिएर बसेकाहरुको संख्या धरै रहेको र त्यसको चाप घटेपछि नयाँ आवेदन खुल्ने सुचना अधिकारी भुसाले बताए।

पास भएपनि लाइसेन्स लिन वर्षौं कुर्नुपर्ने

यातायात व्यवस्था विभागमा अहिले लाइसेन्स परीक्षा पास गरेर र नवीकरणको प्रक्रिया पूरा गरेर स्मार्ट लाइसेन्स कुरिरहेकाको संख्या ६ लाख रहेको छ। विभागमा छापिएका स्मार्ट लाइसेन्स मौज्दात छैन। स्मार्ट लाइसेन्स छपाइको लागि कार्ड फ्रान्सबाट कार्ड आउन ढिलाई भएका कारण स्मार्ट लाइसेन्स वितरणमा समस्या भएको विभागको भनाई छ।

स्मार्ट कार्ड छाप्नका लागि सहज र पर्याप्त नभएपछि परीक्षा पास गरे पनि चालकहरूले वर्षौंपछि मात्रै लाइसेन्स पाउँछन्। काम चलाउनका लागि यातायात कार्यालयले राजश्व तिरेको बिल(रसिद) दिने गर्छ। ट्राफिक चेकजाँचमा चालकहरूले त्यही कागज देखाउनपर्ने बाध्यता छ।

कहिले छापिन्छ?

स्मार्ट लाइसेन्स छाप्नका लागि कार्ड फ्रान्सबाट ल्याइन्छ। तर त्यो कार्डमा लाइसेन्स भने नेपालमै छापिन्छ। कार्डका लागि विभागले फ्रान्सको सेल्प कम्पनीसँग खरिद सम्झौता गरेको छ। उक्त कम्पनीसँग १४ लाख कार्ड आपूर्तिका लागि खरिद सम्झौता भइसकेको विभागका सुचना अधिकारी भुसालले बताए। सेल्प कम्पनीले कार्ड उपलब्ध गराएपछि अहिले छपाइ र वितरण हुनेछ। यो लटमा अहिले परीक्षा दिइरहेका र पहिला नै दिन बाँकी रहेकालाई लाइसेन्स वितरण गरिनेछ।

स्मार्ट लाइसेन्स र्काडको लागि सेल्प कम्पनीसँग सम्झौता भइसकेको र अबको २ महिनाभित्र कार्ड आइपुग्ने विभागको भनाई छ। लाइसेन्स कार्ड छापिन ढिला भएपछि विभागले परीक्षणकालीन(अस्थाइ) लाइसेन्स दिन सुरु गरेको छ। नेपालमा एकैपटक धेरै कार्ड छाप्ने मेसिन छैन। सरकारले त्यो समस्या हटाउनका लागि एकैपटक धेरै कार्ड छाप्न सकिने मास प्रिन्टर पनि किनेको थियो। तर अहिले छाप्नका लागि स्मार्ट कार्ड नै छैन।

के हो अस्थायी लाइसेन्स?

यो कम्तीमा एक वर्षको लागि दिइन्छ। कार्ड छपाइमा ढिला भएपछि विभागले अस्थायी लाइसेन्स दिन सुरू गरेको हो। त्यसका लागि लिखित र प्रयोगात्मक परीक्षा पास गरेको र अरू सबै कागजपत्र अनि प्रक्रियाहरू पूरा गरेको हुनुपर्छ। त्यस्तो ‘अस्थायी’ लाइसेन्समा क्यूआर कोड हुन्छ।

लाइसेन्सका लागि नयाँ नियम

विभागले लाइसेन्सका लागि केही नयाँ नियमहरू बनाएको छ। त्यहीअनुसार अबका परीक्षाहरू हुने विभागले जनाएको छ। नयाँ प्रणालीअनुसार सार्वजनिक गरिएका ५०० प्रश्नमध्ये २० वटा सोध्ने र ८० प्रतिशतसम्म मिलाउने आवेदक लिखित परीक्षामा पास हुने बताइएको छ। नयाँ प्रावधान अनुसार परीक्षामा १०० मा ७० अंक ल्याउनेहरू पास हुनेछन्।

यसअघिको निर्देशिकामा लिखित परीक्षाका लागि प्रश्नको कुनै सङ्ख्या तोकिएको थिएन। लाइसेन्स परीक्षा उत्तीर्ण अङ्क ५० राखिएको थियो। त्यस्तै प्रयोगात्मक परीक्षामा सबै सूचकमा उत्तीर्ण भएर १०० अङ्क नै ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था थियो। नयाँ प्रावधान लागु भएपछि १०० अङ्क ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था अन्त्य भएको छ।

नेपालमा २०७१ सालबाट स्मार्ट लाइसेन्स वितरण गर्न थालिएको थियो। अहिलेसम्म लगभग २२ लाख स्मार्ट लाइसेन्स वितरण भइसकेको छ। ‘अब लगभग कागजका लाइसेन्स विस्थापित भइसकेको अवस्था हो’ सूचना अधिकारी भुसालले भने ‘नयाँ परीक्षा दिनेहरूका लागि त स्मार्ट आउने नै भयो। अब पुराना नविकरण गर्नेहरूलाई पनि स्मार्ट कार्ड नै दिइन्छ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।