ताजा अपडेट »

लुम्बिनी फुटसललाई अल्फा बिटा थिटाको साथ

बुधबार, ३० भदौ २०७८, १७ : १७
6 Shares

काठमाडौँ । पोखरामा आयोजना हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग खेल्ने तयारीमा रहेको रुपन्देहीको लुम्बिनी फुटसल प्रालिले अल्फा बिटा थिटा र चाइना ट्रेडलिङक प्रालि (लिनिङ)को साथ पाएको छ ।अमेरिकाको टेक्सास सहरमा केन्द्रीय कार्यालय रहेको आइटी कम्पनी अल्फा बिटा थिटा मुख्य प्रायोजक र विश्वस्तरीय खेल पोशाक उत्पादक कम्पनी लिनिङ प्रायोजकका रुपमा लुम्बिनीसँग जोडिएका हुन् । सम्झौतामा लुम्बिनी फुटसल प्रालिका प्रज्वल श्रेष्ठले अल्फा बिटा थिटाका कार्यकारी निर्देशक मिजेस श्रेष्ठ र लिनिङका बजार व्यवस्थापक कृतराज महर्जनले आज हस्ताक्षर गरे ।

सम्झौतानुसार अल्फा बिटा थिटाले लुम्बिनीलाई रु चार लाख प्रदान गर्नेछ । लुम्बिनीले लिगमा अल्फा बिटाको प्रतीक चिह्नाङ्कित जर्सी लगाउने छ । यस्तै लिनिङले लुम्बिनी फुटसललाई रु दुई लाख बराबरको जर्सीलगायत खेल पोशाक उपलब्ध गराउने छ । पोखराको बहुद्देश्यीय कभर्ड हलमा उक्त लिग आगामी असोज २ गतेदेखि सञ्चालन हुनेछ । लिगमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

महिला फुटबल टोली उज्वेकिस्तानमा

एएफसी वुमन एशियन कप, २०२२ छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तान पुगेको छ । नेपाली टोली टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तानको तास्कन्द पुगेको हो । तास्कन्दमा नेपाली टोलीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । परीक्षण रिपोर्ट नआउँदासम्म नेपाली टोली होटलमै आइसोलेशनमा बस्ने छ । टोलीका मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स रहेका छन् ।

नेपाल समूह ‘एफ’मा छ । सो समूहमा फिलिपिन्स र हङकङ छन् । नेपालले फिलिपिन्ससँग आगामी असोज २ गते तथा असोज ५ गते हङकङसित खेल्नेछ । सो समूहको फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एशियन कप खेल्नेछ । नेपाली टोलीमा अञ्जना राना मगर, अञ्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, विमला विक, विमला चौधरी र दीपा राई छन् । यस्तै टोलीमा गीता राना, हीरा भुजेल, इन्द्रा राई, मञ्जली योञ्जन, निशा थोकर, प्रीति राई, पूजा राना, रजनी थोकर, रश्मि घिसिङ, रेनुका नगरकोटी, सविता राना, सरु लिम्बू र सिर्जना सिंह रहेका छन् । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।