ताजा अपडेट »

निष्क्रिय बन्दै बजेट प्रतिस्थापन विधेयक

बुधबार, ३० भदौ २०७८, ०७ : २४
2 Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण संसद् बैठक ६ दिन पर धकेलिएको छ। मंगलबार बसेको बैठक असोज ४ गते बस्नेगरी स्थगित भएको छ।संसद् बैठक धकेलिँदा केपी ओली नेतृत्वको सरकारले ल्याएका सबै अध्यादेश निष्क्रिय बनेका छन्। २५ गते पेस भएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पनि निष्क्रिय बन्ने भएको छ। अब सरकारले बजेटसम्बन्धी नयाँ विधेयक ल्याउनुपर्ने विज्ञहरूले बताएका छन्।  

प्रमुख प्रतिपक्षी दल एमालेले भदौ २३ गते सुरु भएको संसद् अधिवेशनमा पहिलो दिनदेखि नै सभामुखविरुद्ध नाराबाजी गर्दै आएको छ। समस्या समाधान गर्न सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाए पनि एमालेलाई सहभागी गराउन सकेका छैनन्। पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्ने सूचना जारी नगरेको भन्दै एमाले सभामुखसँग असन्तुष्ट छ।  

एमालेले निरन्तर अवरोध गरिरहेको कारण देखाई सरकारले बजेट प्रतिस्थापन विधेयक र अन्य १० अध्यादेश अगाडि नबढाएपछि ती सबै संविधानको व्यवस्थाबमोजिम निष्क्रिय बनेका हुन्। अध्यादेश जारी भएपछि सुरु हुने संसद् अधिवेशनले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। अधिवेशन सुरु भएको ६० दिनसम्म पनि पारित हुन नसक्ने अध्यादेश निष्क्रिय हुन्छन्। संसद् अधिवेशन गत साउन ३ गते सुरु भएको थियो। यो समाचार आजको नागरिक दैनिकमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।