ताजा अपडेट »

बुटवल मोतीपुरको 'जग्गा कब्जा गर्न नियमित बैठक'

मंगलबार, २९ भदौ २०७८, १९ : २४
6 Shares

भैरहवा । मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न बुटवलको गोलपार्क र देवीनगर क्षेत्रमा दैनिक रणनीति बन्ने गरेको खुलेको छ । साँझको ५ बजे देखी १० बजे राती सम्म र बिहान ७ बजे देखी १० बजे सम्म यसै विषयमा नियमित बैठक नै बस्ने गरेको जग्गा कब्जा गर्न आएका एक युवा बताउँछन् । बैठकमा जग्गा कब्जा गर्ने, बाटो निकाल्ने, धारा गाड्ने लगायतका विषयमा पनि छलफल हुने गरेको उनी बताउँछन् ।
केही दिन यता शान्त रहेको बुटवल मोतीपुरको जग्गा फेरी कब्जा गर्न थालिएपछि अहिले तरंगित भएको छ । लकडाउनको कारण केही मत्थर बनेको यो विषय फेरी चर्चा पाउन थालेको छ ।

कोरिडोर निर्माण हुने भनिएको क्षेत्रमा अहिले फेरी डोरी, ढुङ्गा, पाल लगायतले जग्गा प्लटिङ्ग गरि कब्जा गर्ने सिलसिला सुरु भएको छ । नयाँ गाउँ, बेलवास, गोलपार्क, बुद्धनगर, मजुवा, दिपनगर लगायतका ठाउँबाट आएकाहरुले मोतिपुर करिडोरको जग्गा कब्जा प्रयास गरेका छन् । निःशुल्क जग्गा पाईने लोभ देखाएर केही ब्यक्तिहरुले सोझा साझा जनताको प्रयोग गरिरहेका छन् । स्थानीहरु भन्दा पनि बुटवल क्षेत्रमा मजदुरी गर्न आएकाहरुलाई प्रयोग गर्दै कब्जाको प्रयास गरिएको बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको भनाई छ ।

जग्गा कब्जा गर्न आएकाहरु दैनिक ३ घण्टाको पालो कुर्ने गरेका छन् । पालो कुर्दा र अटोरिक्सामा आउदा जाँदा नै दैनिक २ सय भन्दा बढी खर्च हुने गरेको उनीहरु बताउछन् । “खाजा र खानाको खर्च अलग छ, यस बाहेक जग्गा कुर्दा काम पनि गर्न पाईदैन, यसले दैनिकी नै प्रभावित बनेको छ ।” जग्गा कब्जा गर्न आएका एक युवाले बताए । १ गते देखी नै जग्गा कुर्दै आए पनि अहिले प्रहरीले सो क्षेत्रबाट उनीहरुलाई लखेटेको छ । यसले जग्गा पाउने आश भएकाहरु निरास भएका छन् । कब्जा गर्ने अगुवाहरु आफु भने देखिदैनन् । जग्गा कब्जा गर्न आएकाहरुले जग्गा पाईन्छ भनेर आएको त भन्छन तर कसले पठाएको भन्ने बिषयमा केही बताउदैनन् ।

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा विभिन्न क्षेत्रबाट मानिसहरु जम्मा भएर जग्गा कब्जा गर्ने तयारी गरे पछि स्थानिय प्रशासनले सो क्षेत्रमा हिजो देखी लागु हुने गरि निषेद्याज्ञा जारी गरेको छ । मोतीपुर औद्योगिक क्षेत्रमा रहेका जग्गामा फेरी पनि कब्जा हुन सक्ने सूचना पाईएपछि सो क्षेत्रमा निषेद्यज्ञा लगाईएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अतिक्रमण बढ्दो रहेको र लकडाउनको क्रममा कम भए पनि अहिले फेरी अतिक्रमण बढ्न थाल्ने संकेत देखिएकोले निषेद्याज्ञा लगाईएको बताए ।

केही समूहहरु सक्रिय भएर ज्यामितिय रुपमा सदस्यता वितरण गरेको र जग्गा कब्जा तथा प्रतिकार सम्मको योजना बनाएको सूचना पाएपछि सो क्षेत्रमा निषेद्याज्ञा लागु गरेको तामाङको भनाई छ । “हामीलाई यति सम्म सूचना प्राप्त भयो कि एक जनाले ६ जना सदस्य बनाउने र ६ जनाले ३६ जना सदस्य बनाउने र यसरी ज्यामितिय हिसाबले सदस्य बनाई १ हजार भन्दा बढी सदस्य भइ सकेपछि प्रतिकारमा उत्रने रणनिति रहेका थियो ।” तामाङले भने, “सो सूचना प्राप्त भए पछि औद्योगिक कोरिडोर भित्रको चारकिल्ला तोकेर निषेद्याज्ञा जारी गरेका छौ ।” २८ गते देखी लागु हुने गरि निषेद्याज्ञा जारी भए पनि केही जग्गा अतिक्रमणको प्रयास भए पछि सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेर अतिक्रमित जग्गामा आगो लगाएर जग्गा खाली गराईएको छ ।


बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कार्यालय प्रमुख निमेश अधिकारीले मोतिपुरमा बसिरहेका र संघर्ष गरिरहेका नभई अन्यत्रबाट आएर कब्जा गर्न खोजेको बताउँछन् । डिपिआर भै सकेको र वातावरणीय प्रभाव मूल्याङ्कनको चरणमा रहेको औद्योगिक क्षेत्रमा अहिले फेरी केही ब्यक्तिहरुको उक्साहटमा कब्जा गर्न खोजिएकोले प्रशासनको सहयोग लिईएको अधिकारीको भनाई छ ।

सरकारले मोतिपुर औद्योगिक क्षेत्रलाई व्यवस्थापन गर्ने क्रममा ८ सय १३ बिगाहा जग्गा अधिग्रहण गरेको थियो । त्यसमा मोतिपुरमा ५५ वर्षदेखि बसोबास गर्दै आएका तीन हजार ६२ परिवारको २ सय ५० विगाहा जग्गा पनि परेपछि स्थानीय २०७३ सालदेखि नै आन्दोलित छन् ।

सरकारी जग्गा कसैले पनि कब्जा गर्न नपाउने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको भनाई छ । उनले निषेद्याज्ञाको उल्लंघन नगर्न र जग्गा कब्जा नगर्न आग्रह गरेका छन् । निषेद्याज्ञा उल्लंघन गरे १ लाख रुपैया सम्म जरिवाना र कैदको ब्यवस्था रहेको उनले बताए । निषेद्याज्ञा उल्लंघन गरेका ४ जनालाई पक्राउ गरिएको र उनीहरुलाई १ महिनाको कैद र १ सय रुपैँया जरिवाना तोकिएको पनि प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

स्थानीयको बिरोधका बीच गत फागुनमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्टले शिलान्यास गरेका थिए । आफ्ना घर जमिन भएको क्षेत्रमा औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले विरोध गरेका थिए । मन्त्री लक्षित ढुंगा प्रहार समेत गरिएको थियो ।

औद्योगिक क्षेत्र निर्माणको लागत १२ अर्ब रुपैया रहेको छ । मोतिपुर औद्योगिक क्षेत्रमा २ सय ६२ वटा प्लट हुनेछन् । विद्युत, पानी, ढल निकास, सडक, स्वास्थ्य क्लिनिक लगायतका पूर्वाधारहरु बन्ने गुरुयोजनामा उल्लेख छ । ५ वर्षसम्म उद्योगीले भाडा समेत तिर्नुपर्ने छैन । यो औद्योगिक क्षेत्रमा वर्षमा २ वर्षभित्रै न्युनतम पूर्वाधार निर्माण गरी उद्योग खोल्न जग्गा दिने योजना छ ।

ठूला उद्योगका लागि १ सय १९ वटा, मझौला उद्योगका लागि ५१ वटा र साना उद्योगका ९२ वटा प्लट निमाण हुनेछन् । औद्योगिक क्षेत्रमा १३३ केभि लाईनको विद्युत सवस्टेशन हुनेछ । खानेपानीका लागि डिप बोरिङ रहनेछ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा